Nepal's First Video FM

पूर्वप्रधानमन्त्री देउवाद्धारा दिवंगत नेता खड्काप्रति श्रद्धाञ्जलि

587

सभापति देउवाद्वारा नेता खड्काप्रति श्रद्धाञ्जलि
चैत १८, नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका दिवंगत नेता खुमबहादुर खड्काप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

सभापति देउवाले आइतबार ललितपुर, सानेपास्थित नेता खड्काको निवास पुगेर उनको पार्थिव शरीरमाथि श्रद्धाञ्जलि अर्पण गरे । काँग्रेस केन्द्रीय सदस्य, पार्टीका पूर्वमहामन्त्री तथा पूर्वमन्त्री नेता खड्काको उपचारका क्रममा शुक्रबार साँझ भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा ६७ वर्षका उमेरमा निधन भएको हो ।

उनी मिर्गौला र छातीको संक्रमणबाट पीडित थिए । उनको पार्थिव शरीर शनिबार राति नेपाल ल्याई सानेपास्थित उहाँकै निवासमा राखिएको छ । आइतबार बिहान काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तथा नेता कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, डा. प्रकाशशरण महत, डा. शेखर कोइरालालगायतले सानेपा पुगी नेता खड्काप्रति श्रद्धाञ्जलि व्यक्त गरेका थिए ।

नेता खड्काप्रति श्रद्धाञ्जलि व्यक्त गर्न बिहानैदेखि उनको निवासमा काँग्रेसका सयौंँ नेता कार्यकर्ताको ठूलो भीड लागेको छ । उनको पार्थिव शरीर आइतबार अपराह्न १ बजे श्रद्धाञ्जलिका लागि पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिने र त्यसपछि आजै पशुपति आर्यघाटमा दासंस्कार गरिने काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । रासस

You might also like

Comments are closed.