चैत्र १८,अघोरी बाबाको आश्रयमा सधैं आउने पत्रकार त्रिलोचन आज आएन । उसको सट्टा पत्रकार दिव्य दर्शन आयो ।
पत्रकारलाई देख्नासाथ बाबाले भने प्रसन्नता छोडेर आएछौ किन ?
ऊ अकमकायो, बाबाको प्रश्न उसले बुझेन क्यार ! तैपनि उसले अभिवादन,नमन गर्न बिर्सेन । बाबाले अलिक पर दृष्टि पुर्याएर भने, ‘दुनियाँ खुसी छ, तिमी चाहिं विरक्त भएको देख्तै छु । के कारणले हो प्रिय पत्रकार ।’
‘यो स्वतन्त्र मुलुक, बाबा अब पराधीन हुन खोज्दै छ । यसैको चिन्ता छ ।’
‘तिम्रो चिन्तन रोगी छ । नेता त देशको छाता हो, भगवान हो । अमंगल पन्साएर शान्ति र समृद्धि ल्याउन यत्नशील छ । चिन्ताको कुनै कारण छैन । देशको बारेमा नेताको चिन्ता नै पर्याप्त छ । हामीले भोट हालेर त्यहाँसम्मको शाक्तिमा पुर्यायौं । त्यसमा सन्तोष लिनैपर्छ । अहिले अर्को बाटो छैन ।’
एकछिन रोकिएर बाबाले थपे, अहिले तिम्रो प्रधानमन्त्री प्रचुर अश्व शक्तिमा छ । उसलाई गलाउन सजिलो छैन । जो सुकैले उसलाई आँक्न सक्तैन । अँ बहु संभावित दुर्घटनाबाट जोगिन र भोजनको जाँच परीक्षण गर्न चुक्नु हुँदैन ।’
‘बाबा यसको अर्थ मदन भण्डारी देखि दरबार दुर्घटनासम्मका घटनामा अझ श्रृंखला थपिन्छ त ?’
‘विल्कुल, सन्तुलन विग्रनासाथ अथवा तल पर्नासाथ श्रृंखला जोडिन्छ । तर तिमीले आफ्नो नेतामा विश्वास गर्नै पर्छ उ दिन हैन लिन गएको छ ।’
‘के गर्लान् त बाबा यस पटक प्रधानमन्त्रीले ?’
‘उसले जनता र देशलाई बिर्सेन भने उसँग त्यो प्रचुर अश्व शक्तिले मुर्त स्वरुप लिन्छ ।’
बाबा यसको अर्थ हो – चुरे पर्वत बेच्तैनन्, र चुरे बोक्न ओछ्याएको रेल रोड निष्क्रिय गर्छन् । मधेसलाई हावा दिने, आगो सल्काउने काम रोक्न लगाउँछन् भन्न खोज्नु भएको हो त ? बाबा अनि के…
बाबाले हत्केला उठाएर बोल्दै गरेको पत्रकारलाई मौन रहने संकेत
गरे । अनि विस्तारै भने ‘यस पटक उसले इंडियासँग भन्छ – पहिले कालापानी, लिपुलेक, खाली गराऊ । उसले चाह्यो भने अवश्य खाली गराउँछ ।’
अनि ? को प्रश्नभावले पत्रकारले जिज्ञासा राख्यो ।
बाबाले थपे, ‘सुगौली सन्धिमा वृटिश इंडियालाई दिएको जमीन पनि फिर्ता गराउँछ र दार्जिलिङ तर्फको सुन्दर पर्वतीय क्षेत्र पनि । कसैले गर्न नसकेको काम यस पटक तिम्रो प्रधानमन्त्रीले गरेरै छोड्छ ।’
‘त्यसको अर्थ यसपटक ईडियासँग सन्धि गरेर आफ्नो कुनै अधिकारबाट निस्क्रिय हुँदैनन त प्रधानमन्त्री ?’ वाह! यो त गजब हो । अनि बाबातिर हेरेर प्रश्न गर्यो – दार्जिलिङ तर्फको कुरा वास्तवमा के हो ? मलाई त राम्रो थाहा नै छैन ।’
‘त्यो भूमि नेपालको हो । ब्रिटिशलाई शीतल क्षेत्र चाहिएको हुँदा उनीहरुको अनुरोधमा त्यो भूमि बृटिशलाई दिएको हो – सुविधाका लागि – सहयोग पुर्याएको हो । विस्तारै इंडियाको संविधान भित्र पस्तै छ – पस्नु हुने थिएन । केही वर्ष अगि मात्र नेपाली भाषालाई, आठौं अनुसूचिमा प्रवेश गराइएको हो । नेपालले त्यो मेरो भूमि भन्नासाथ इंडियामा कम्पन र छटपटी शुरु हुन्छ । त्यहाँका नेपाली पनि उतै टाँसिन खोज्दैछन् त्यसैले उनीहरुलाई इंडियाले थिच्न खोजेको हो । तर त्यो भूमि नेपाल र चीनसँग जोडिएको हुनाले ईंडिया काम्छ । मौका हेरेर हेप्छ ।’
‘बाबा मधेसका कुरा गर्दै हुनुहुन्थ्यो नि ?’
‘मधेसमा ईंडियाले अलग्याउने चेष्टा गर्यो भने हाम्रो प्रधानमन्त्री भन्न चुक्तैनन् –खालिस्तान र कश्मीर छुट्याउ,सेभेन सिस्टर छुट्याउ, दार्जिलिङ छुट्याउ, सिक्किमलाई उपनिवेशबाट मुक्त गर ।’ एकछिन रोकिएर बाबाले थपे – ‘इंडियालाई थाहा छ – नेपाल र दार्जिलिङको भूमि चीनसँग जोडिएको छ । दार्जिलिङका जनतालाई दाना पानी रोकेको परिणाम मधेसका जनताले पनि बुझेको हुनुपर्छ ।’
बाबा के त नेपालीलाई इंडियन पासपोर्ट लिएर विदेश जाने सुविधा नदिलाउलान त ? वेश्यालयमा सेवा नपुर्याउलान् त ? कोशी उच्चबाँध स्वीकृत गरेर नेपालको भूमि डुब्नबाट जोगाउलान त ? त्यसो भने यस पटक नेपाललाई घात गर्न कुनै पनि सन्धि समझदारी सहयोगमा हस्ताक्षर गर्ने छैनन प्रधानमन्त्रीले ?
अनि बाबालाई सोध्यो – कतै राजसंस्था पुनः स्थापना गर्ने योजना त पेश गर्दैन इंडियाले बाबा ?
त्यो त नेताहरु कै चरित्रमा निर्भर छ । यदि गलत ढंगले राज्य शासन संचालित हुन्छ भने त्यहाँ तख्ता पल्टिन्छ भन्ने कुरा इतिहासमा भेटिएकै हुन् । डर यो मात्र हो – जसको बलले सरकार चलेको छ – उसैले गुमराह गराउने योग पनि उत्तिकै वलवान् छ ।’
‘त्यो कसरी बाबा ?’
‘हेर, एमालेले माओवादीलाई दुधले नुहाइदिएको छ । गंगाजल छर्किएर चोख्याइदिने चेष्टा गरेको छ । सत्ता साझेदारी गरेर रक्षा गरेको छ । तर उसले यति ठूला अमानुसिक अपराध गरेको छ, जुनसुकै वेला पनि अन्तर्राष्ट्रिय कोर्टमा उसले उभिनु पर्नेहुन्छ । त्यसैले ऊ एमालेको पाखुरा समाएर वैतरणी तर्न चाहन्छ । सायद प्रधानमन्त्रीले बुझेको हुनुपर्छ । स्थिति जटिल छ । यस्तो अवस्थामा विदेश भ्रमण गर्न हुने थिएन ।’
‘यो प्रस्ताव पनि आउन सक्छ फेरि प्राकृतिक स्रोतको परिचालन र विकास निर्माण इंडियाको हातमा पुगोस् । यदि यस्तो प्रस्ताव आयो भने प्रधानमन्त्रीले भन्न सक्छन् – चीनसँग सल्लाह गरौं । १९४७ देखि २०१८ सम्म तिम्रो कुरा सुन्यौं, १०१८ देखि ३००० सम्म अब चीनको कुरा सुन्छौं । इंडियालाई यो कुरा पनि थाहा हुनुपर्ने हो । धेरै नेपाली र इंडियन चिनिया सैनिक ट्रेनिङमा छन र त्यसको उद्देश्य पनि थाहा हुनुपर्ने हो ।’
‘बाबा के सल्लाह उचित छ त ? पत्रकारले प्रश्न गर्यो ।’
‘युरोपियन युनियनले नेपालमाथि दबाब दियो र सफल भयो भने त्यसको दुष्परिणाम ईंडियाले पनि भोग्नु पर्छ । इंडिया धेरै टुक्रामा टुक्रिन्छ । त्यसैले नेपाल माथिको युरोपीयन प्रभावलाई इंडिायाले वेलैमा रोक्नुपर्छ ।’
तिम्रो प्रधानमन्त्रीले एन जी ओ मार्फत यूरोपबाटै प्रचुर उर्जा लिएका छन्, प्रभावबाट जोगिन उम्कन उनलाई सरल छैन । बरु उतैको कुरा सुनेर देशलाई तहस नहस बनाएर भए पनि सत्ता थामि राख्ने विचारमा छन् । भित्री उर्जा यस कार्यका लागि पूर्व आतंक प्रमुखबाट नै मिल्दैछ । जब गोवध र झण्डा फेर्ने कुरा आउँछ । यी दुवै आफूलाई सुरक्षित अनुभव गर्दछन् किनभने यसको चाहना यिनैको हो । साँस्कृतिक विस्फोटनका दिशामा प्रमुख ध्येय हो ।
‘बाबा, दक्षिणको यात्रा बारे यहाँको विचार ?’
‘इंडियासँग व्यापारिक, राजनीतिक तथा सामाजिक संबन्धबाट मित्रता कायम गर्नुपर्छ । धार्मिक साँस्कृतिक दृष्टिले बिल्कुल हुँदैन । त्यसैले अहिले होइन । दक्षिणको यात्रा रोक, फलदायी छैन । त्यसलाई पर सार्ने । निषेध नगर्ने । यहीं आफ्नो काम धेरै छ । चुक्नु हुँदैन । चुकाउन खोज्दैछन् । बढ्ता बाठो भयो भने गल्ती हुन्छ । बिरालोले मुसा खेलाएर झैं खेलाउने दाउमा छ इंडिया । नेपालले जोगिनुपर्छ । १९४० देखि आजसम्मका पाठ र धोखा जोडेर हेर्नुपर्छ ।
र इंडियालाई विकास निर्माणका लागि दिएका संझौता र योजना सबै तुरुन्त रद्द गर्नुपर्छ । यस्तो पाठ देउबाले सिकाएको छ । नजीर त्यही
हो । अरुण तेस्रो र कोशी उच्च बाँध इंडियाका हातमा पर्नु हुँदैहुँदैन ।’
बाबाले फेरि प्रश्न गरे – इंडियाले नेपालमा रेल मार्ग विस्तार गर्न किन हतारिंदैछ ? थाहा छ ?
‘थाहा छ बाबा म जस्तो कुशल पत्रकारलाई किन थाहा नहुनु ?’
बाबा सुन्दै रहे ।
ऊ भन्दै गयो, ‘तरुणी ओसार्न, तन्नेरी ओसार्न । गृह दास र नगरबधुको परिपूर्ति यतैबाट त हुन्छ नि ।’
‘अनि ?’
जंगल, वनस्पति, जडीबुटी, भूगर्भ ओसार्न । अर्गानिक कृषि उत्पादन र वन्य पशु, जन्तु ओसार्न र माटो ढुँगा ओसार्न रेल मार्ग फैलाउँदै छ ।’
‘त्यसो भए इंडिया नगएर यी कुराको रक्षा गर भनेर भन्न सक्तैनौं त ? इंडिया गयो कि फस्छ कि मर्छ – मन्द विषले । जोगाउ ।’
बाबा यसरी राष्ट्रको हितमा बोल्दा आफ्नै अहित भयो भने नि ?
‘त्यो त कातरको लक्षण हो । जाउ, युवराजसँग जाऊ, कैदीसँग जाऊ, अरुणसँग जाऊ, पहाडीसँग जाऊ, गौतमसँग जाऊ । अलिकति दीक्षा माग र चेतना भर ।’
भूमि, प्राकृतिक स्रोत, परराष्ट्र नीति र सुरक्षा इंडियाको हातमा नदिने राजसंस्थाको अडान थियो । त्यसैले राजसंस्था मासियो उखेलियो । अब यी बुद्धिहीन नेतालाई इंडियाले चाहे जस्तै गरी नचाउँछ र शक्ति हात पार्ने चालले फसाउँछ । हाम्रो नेता जोगिन सक्ला के ? त्यसैले अब १० वर्ष नेताको इंडिया यात्रा हुनुहुँदैन । हुन्छ भने धार्मिक,साँस्कृतिक यात्रा मात्र होस् ।
‘बाबा, त्यसो भए इंडिायाले प्राकृतिक स्रोत हात पार्ने र आफूखुशी परिचालन गर्ने, निर्माण कार्य हात पारेर पेंडिग राखेर झुलाउने, गृह–कलह जन्माएर अस्थिरता स्थिर गर्ने र सकेसम्म सुरक्षा र परराष्ट्रनीति हात पारेर चीनसँग कुम जोर्ने रोगी सोच राखेको छ । त्यो नेपालले बुझ्नु पर्छ । इंडियाले आफ्नो स्वार्थ बाहेक तिमीसँग कुनै सम्बन्ध राख्तैन । सम्बन्ध राख्छ मात्र स्वार्थका लागि । यही भन्न खोज्नु भएको हो ?
‘तिमीले बुझ्ने छौ । उदाहरण हेर – सिमाना निकट बाँध बाँधेर हाम्रो बस्ती र कृषि जमीन डुबाएर आनन्द मानेनर इंडियाले ? इंडियाको नीति हो अर्काको घर भत्काएर आफ्नो घर उठाउने । अर्काको धर्मलाई होचो बनाएर आफ्नो धर्म उचाल्ने । जबकि एक अर्काको घरलाई बाधा नपुर्याई आफ्नो घर अग्लो पार्ने र अर्काको धर्मलाई आलोचना नगरी आफ्नो धर्मको प्रचार गर्ने पर्ने थियो ।
शताब्दी शताब्दी दासानुदास परम्पराबाट थिचिँदै आएको इंडिया, अहिले पखेटा उम्रिएको कमिला जस्तै भएको छ । तित्राको मुखै बैरी भन्छन् त्यस्तै होला जस्तो छ । दार्जिलिङको निशेध भित्र चीनलाई प्रवेश मिलेको उसलाई थाहै छैन । चीन पसेपछि शेष के रहन्छ र ?’ onlinekhabar
Comments are closed.