चैत्र १८,एक वर्षअघि भोजपुरको आमचोक–१०, पाङ्चा, धारापानीमा १३ वर्षीया बालिकाको रहस्यमय ढंगले मृत्यु भयो । अनुसन्धान माग गर्दै मृतक परिवार पटक–पटक प्रहरी कार्यालय पुग्यो । सुरुमा अनुसन्धान भइरहेको आश्वासन दिए पनि पछिल्लो समय प्रमाण नष्ट भइसकेको बताएर प्रहरीले बेवास्ता गर्न थालेको पीडित परिवारको गुनासो छ ।
जनता आधारभूत विद्यालयमा अध्ययनरत ती बालिका गत वर्ष ८ चैतमा कक्षा ८ को जिल्लास्तरीय परीक्षा दिन बालंखा जाने तयारीमा थिइन् । भोलिपल्टका लागि लुगाकपडा र पुस्तक मिलाउँदै थिइन् । उनकी मामली हजुरआमा (हजुरबुबाकी आमा) पानी भर्न धारा गएकी थिइन् । नातिनी सिकुवामा उध्रेका कपडा सिउँदै बसेकी थिइन् । प्रत्यक्षदर्शीका अनुसार हजुरआमा बाहिर गएको मौका छोपेर छिमेकी अन्दाजी १७ वर्षीय युवक सुमन मगर घरमा आएका थिए । केही समयपछि दुवै जना हराए । बालिकाकी हजुरआमा पानी लिएर घर आइपुग्दा नातिनी नदेखेपछि वरपर खोजिन् । ओल्लो–पल्लो घर–छिमेकमा सोधिन् । कतै फेला परिनन् ।
नातिनीको अत्तोपत्तो नभएपछि हजुरआमा आत्तिइन् । अचानक उनी घरको माथिल्लो तला चढेकी मात्र के थिइन्, नातिनी नाम्लो–डोरीको पासो लागेर झुन्डिएकी रहिछन् । अत्तालिएकी हजुरआमाले हतार–हतार नातिनी छेउ पुगेर नाम्लो–डोरी काटिदिइन् ।
इलाका प्रहरी कार्यालय बयाङका सई गणेशनारायण श्रेष्ठको नेतृत्वमा खटिएको प्रहरी टोली घटनास्थल पुग्यो । स्थानीयका अनुसार बालिकाको घाँटी कोपरिएको, नंग्राका डोबहरू गाडिएको थियो । मृतकको शरीरमा रगतका छिटा थिए । टाउकोपट्टि रगत बगेको थियो । मगरको आङका कपडा पनि च्यातिएका र केही रगतको छिटा लागेका थिए ।
प्रहरीले भने यो कुरालाई स्वीकार्न चाहेको छैन । प्रहरीले आत्महत्या गरी मृत्यु भएको सर्जिमिन मुचुल्का उठाएर शवलाई पोस्टमार्टम गर्न उदयपुरको गाईघाट लग्यो । घटनास्थलमा पुगेका प्रहरी हबलदारका अनुसार कोहीप्रति आशंका नभएको र बालिकाले आत्महत्या नै गरेको परिवारले स्वीकारेकाले’ मुचुल्कामा आत्महत्या उल्लेख गरिएको हो । पोस्टमार्टमको रिपोर्टमा पनि आत्महत्याको रिपोर्ट देखिएको प्रहरी बताउँछ । यसबारे पीडित परिवारलाई अझै जानकारी गराइएको छैन । मगरले बालिकालाई बलात्कार प्रयास गरेकामा प्रतिकार गर्न खोज्दा हत्या गरेको पीडित परिवार र स्थानीयको आशंका छ भने मगरकी आमाले घाँस काट्न जाँदा लडेर चोटपटक लागेको बताउँछिन् । घटनापछि सई श्रेष्ठ इप्रका बयाङ बसेका छैनन् । उनी हाल जिल्ला प्रहरी कार्यालयमा कार्यरत छन् ।
दलित ती बालिका सानै हँुदा बुबाले सौतेनी आमा ल्याएपछि आमाछोरी माइती–मावलीमा बस्दै आएका थिए । आमा पनि केही समयपछि अर्कैसँग पोइल हिँडे पछि मावलीको पालनपोषणमा थिइन् उनी । बाह्रैमासजसो सुक्खा–खडेरी हुने त्यस गाउँमा चार रोपनी पाखो बारीको कमाइले वर्ष दिन पनि खान पुग्दैन । हजुरबुबा र हजुरआमा उदयपुरको रानीटारमा भाडामा कोठा लिएर सिलाइको काम गर्छन् । नातिनी र हजुरआमा (बुबाकी हजुरआमा) घरमा बस्दै आएका थिए ।
बालिकाकी ५४ वर्षीय हजुरबुबा र ५१ वर्षीया हजुरआमा आशंका गरिएको मगरविरुद्ध जाहेरी दिन जिल्ला प्रहरी कार्यालय पुगे । तर, प्रहरीले उजुरी लिन मानेन । प्रहरीले घटना पहिल्यै सकिएको भन्दै गाली गरेर पठाएको मृतकका हजुरबुबाले बताए । उनी उजुरीको कागज बोकेर चारपटकसम्म सदरमुकाम पुगेका थिए ।
घटनाको १२ दिनपछि उजुरी दर्ता गराएको बुझिन्छ । दर्ता नम्बर ९५ रहेको डीएसपी दीपेन्द्र पन्जियार थारुले बताए । आमचोक गाउँपालिका कार्यालयमा पीडितले उजुरी दिएपछि गाउँपालिकाले सिफारिसपत्र जिल्ला प्रहरीलाई लेखेको अभिलेख छ । जबर्जस्ती करणी गर्न खोजेको र प्रतिकार गर्न खोज्दा हत्या भएको उजुरी परेको हुँदा घटना दर्ता गरेर अनुसन्धान गरी कारबाही गर्न निर्देशन दिएको गाउँपालिका प्रमुख अशोक राईले हस्ताक्षर गरेको सिफारिसपत्रमा उल्लेख छ ।
मुद्दा दर्ता गर्न जिल्ला प्रहरी कार्यालय पुग्दा थाहै नभएका कागजातमा सही गर्न लगाएर गाउँ फर्काएपछि पीडित परिवार गाउँपालिकामा सिफारिस लेखाउन पुगेका थिए । प्रहरीले २० चैत ०७३ मा मुद्दा दर्ता गरेको बताए पनि पीडित परिवार विश्वस्त हुन सकेको छैन । “गाउँपालिकाको सिफारिस लिएर जाँदासम्म हुँदैन, सोधीखोजी नै नगर्नू भनेका थिए । हप्काइदप्काइ गरे, अहिले दर्ता गरेका छौँ भन्छन्, मलाई पत्यार लाग्दैन,” बालिकाका हजुरबुबाले भने । त्यसपटक प्रहरीलाई जबरजस्ती टेबलमा कागजात छाडेर हिँडेका थिए उनी । गाउँबाट सदरमुकाम १८ कोस दक्षिणी भेगमा पर्छ । पैदलै सदरमुकाम पुग्न दुई दिन र फर्कन दुई दिन लाग्ने बाटो छ । गाउँपालिकाले ०७४ असोजमा जिल्ला प्रहरीलाई दर्ताका लागि सिफारिस गरेको र प्रहरीले २० चैत ०७३ मा दर्ता गरेको कुरा आपसमा बाझिएका छन् ।
गाउँपालिका प्रमुख अशोक राईले प्रहरीले लेखिसकेको कागज पल्ट्याउँदा नैतिक संकट पर्छ भनी सकेसम्म ढाकछोप गर्न खोजेको प्रतिक्रिया दिए । “अशिक्षित, गरिब, दलित परिवारलाई कमजोर ठानेर घटना भएको बेला आपैँm मरेको हो भनेर स्वीकार्न, सहीछाप लगाउन लगाएका रहेछन्,” उनले भने । उनले गत वर्षको असारमा भएको स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएर आउँदा घटना थाहा पाएको बताए । घटना भएका बेला पीडित परिवारलाई कानुनी प्रक्रियामा जाँदा खर्च र दु:खभार हुने भनी प्रहरीबाट तर्साइएको हुन सक्ने आकलन गरिएको छ । काजीकुमार आचार्य डीएसपी हुँदा उक्त घटना भएको थियो । उनी पूर्वी अरुण गाउँपालिकाको प्याउलीमा तीन बालबालिकाको हत्या प्रकरणमा विवादित बनेर अन्यत्रै सरुवा भइसके ।
स्थानीयका अनुसार घटना भएको दुई दिनसम्म शंका गरिएका मगर गाउँमै थिए । त्यसपछि गाउँमा देखिएका छैनन् । परिवारले भारत भगाएको हुन सक्ने सबैको अनुमान छ । उनको परिवार सुनसरीको बराहक्षेत्र नगरपालिका, प्रकाशपुरमा बसाइँ सर्ने तरखरमा छ । आधाजसो बसाइ सरिसकेका छन् । पीडित परिवार भने गाउँ बस्न नसक्ने अवस्थामा छन् । गाउँमा सुरक्षा स्थिति नाजुक भएको भन्दै उदयपुरको रानीटारमै बस्न थालेका छन् । “घर छाड्ने रहर कसलाई हुन्छ र ! पहिले सिलाइको काम गर्न आएका हौँ । नातिनी त्यस्तो भई, न्याय पाइएन, के–कसो हो टुंगो नहुने रहेछ,” बालिकाकी हजुरआमाले बिलौना पोखिन् ।
बालिका झुन्डिएको डोरी काटिएको हुँदा अनुसन्धान गर्ने प्रमाण नभएको प्रहरीको अडान छ । डीएसपी थारुले डोरी काटिएको, कतै चोटपटक नदेखिएको र आत्महत्या नै भएको बताउँदै आएका छन् । “जे देखियो, मुचुल्का र पोस्टमार्टम रिपोर्टमा पनि त्यही छ,” भन्छन्, “परिवारका सदस्यले किटान गरेको मान्छे अभियुक्त नहुन पनि सक्छ । हामीले पक्राउ गर्ने कसरी ? हामी पनि अप्ठ्यारोमा छौँ । तैपनि, खोजी भइरहेको छ ।” यसअघि धनकुटामा लुकेको भन्ने रिपोर्ट पाएपछि खोजी गरिए पनि फेला नपरेको डीएसपी थारु बताउँछन् ।
डीएसपी थारुलाई एक महिनाअघि बुझ्दा तत्कालै शंकास्पद परिवारसँग सोधपुछ गर्ने भनेका थिए । तर, हालसम्म सोधपुछ नगरेको पीडित परिवारको गुनासो छ ।
डीएसपीलाई यसबारे पुन: जिज्ञासा राख्दा शंकास्पद परिवारलाई सोधपुछ गरेको जवाफ फर्काए । केटा (मगर)का बुबाआमालाई सोधपुछ गर्दा ‘काम गर्न जान्छु भनी गएको र त्यसपछि सम्पर्कमा नरहेको’ बताएको डीएसपी थारुको भनाइ छ । डीएसपीले आश्वासन दिनका लागि मात्रै अनुसन्धान भइरहेको बताएको आमचोक गाउँपालिकाका सदस्यको दाबी छ ।
डोरी काटिनु र पीडित पक्षले मुचुल्कामा आत्महत्या भएको स्वीकार्नु घटनालाई अन्तै लग्ने माध्यम बनाएको जनप्रतिनिधि बताउँछन् । गाउँपालिकाकी उपप्रमुख सीता राई भन्छिन्, “आत्महत्या भनेर सर्जिमिनमै सही गरेका छन्, अनुसन्धान प्रक्रिया अघि बढाउनै नसकिने कुरा भयो । यसबारे अनुसन्धान गरिदिनूस् न भन्दा पनि प्रहरीले हुँदैन भन्छ ।” डोरी नै काटेर अनुसन्धानको बाटो नराखिदिएको तर्क गर्नु सान्दर्भिक नभएको उनको बुझाइ छ । सांसद सुदन राई, गाउँपालिका प्रमुख अशोक राई र उपप्रमुख सीता राईको टोलीले यो विषयलाई लिएर प्रहरी कार्यालयमा चासो राखिसकेका छन् । तर, प्रहरी अधिकारी भने यसबारे तत्कालै खुल्न चाहँदैनन् ।
ekantipur
Comments are closed.