Nepal's First Video FM

आखिर किन मनाइन्छ अप्रिल फूल र कहाँ बाट सुरु भयो ? यस्तो छ रहस्य

607

चैत्र १८,अप्रिल फूल किन मनाइन्छ भन्ने विषयमा कैयौं रोचक अवधारणा प्रचलनमा छन् । तीमध्ये सबैभन्दा प्रचलित अवधारणाअनुसार प्राचीन रोमन साम्राज्यका मानिसहरू अप्रिलमा आफ्नो नयाँ वर्षको सुरुवात गर्थे । त्यस्तै मध्यकालीन युरोपमा २५ मेमा नयाँ वर्षको उपलक्ष्यमा एउटा उत्सवसमेत हुन्थ्यो ।
सन् १८५२ मा पोप ग्रेगरी अष्टमले ग्रगोरियन क्यालेन्डरको घोषणा गरे, जसका आधारमा जनवरी १ लाई नयाँ वर्षको सुरुवात मानिन थाल्यो । फ्रान्सले उक्त क्यालेन्डरलाई सबैभन्दा पहिले स्वीकार गरेको थियो । जनश्रुतिअनुसार युरोपमा कैयौं मानिसले ग्रगोरियन क्यालेन्डरलाई स्वीकार गरेनन् त कतिपयलाई त्यसका बारेमा जानकारीसमेत थिएन् ।

पछि नयाँ ग्रगोरियन क्यालेन्डरका आधारमा जनवरी १ मा नयाँ वर्ष मनाउने मानिसहरूले पुरानो क्यालेन्डरअनुरूप १ अप्रिललाई नयाँ वर्ष मान्ने मानिसहरूलाई मूर्ख मान्न थाले । उनीहरूले तिनीहरूको मजाक उडाउन त्यही बेलादेखि ‘अप्रिल फूल’को चलन चलाए ।

अप्रिल फूलसँग जोडिएको अर्को प्रचलित अवधारणा बेलायती साहित्यकार चान्सरको क्यान्टबरी टेल्सको एउटा कथामा आधारित छ । उक्त कथाअनुसार १३ औं शताब्दीमा इंग्ल्यान्डका राजा रिचर्ड द्वितीयको बोहेमियाकी रानी एनीसँगको इन्गेजमेन्टको वार्षिकोत्सव ३२ मार्च १३८१ मा आयोजना गर्ने घोषणा गरिन्छ । क्यान्टबरीका जनसाधारणले त्यसलाई सही मान्छन्, यद्यपि मार्च महिना ३१ तारिखसम्मको मात्र हुन्छ । ३२ मार्चलाई मानेर मानिसहरू मूर्ख भए । त्यही मार्चको ३२ औं दिनलाई अप्रिल फूल मान्न थालिएको विश्वाससमेत कतिपयको छ । बीबीसीका अनुसार १९ औं शताब्दीदेखि बेलायतमा अप्रिल फूल मनाइँदै आएको छ । युनिभर्सिटी अफ ब्रिस्टलकी इतिहासकार एन्ड्रिया लिवेसीले अप्रिल फूलको इतिहास बालबालिकाहरूलाई बेबकुफ बनाइने कुरासँग बढी सम्बन्धित भएको बताएकी छिन् ।

अप्रिल फूललाई कतिपयले अल फूल डे भन्छन् । अप्रिल फूलमा व्यवहारिक जोक तथा झूटहरूमार्फत रमाइलो खेल खेल्ने चलन छ । यसमा साथी–साथी, परिवारका सदस्य आदिले एक–अर्कालाई झुक्याएर मुर्ख बनाउने परम्परा छ । अप्रिल फूलका दिन सामान्य व्यवहारिक मजाक वा मुर्खतापूर्ण कार्यमार्फत एक–अर्कालाई उल्लू बनाइन्छ ।

अप्रिल फूल युरोपियन तथा पश्चिमा देशहरूमा बढी मनाइन्छ । बेलायत, आयरल्यान्ड, पोल्यान्ड, नर्वे, स्वीडेन आदि देशमा पनि अप्रिल फूल मनाइन्छ ।स्पेनिस भाषा बोलिने देशहरूमा २८ डिसेम्बरमा अप्रिल फूल मनाइन्छ, जसलाई डे अफ होली इनोसन्टस भनिन्छ । बेलायतका कतिपय अखबारले अप्रिल फूललाई नै आफ्नो मुख्य पृष्ठको विषयका रूपमा प्रस्तुत गर्छन् । फ्रान्स, रूस, आयरल्यान्ड, दक्षिण कोरिया, नेदरल्यान्ड, क्यानडा, अमेरिका, ब्राजिल आदि देशमा जोकको सिलसिला दिनभर चल्छ । विश्वमा ग्लोबलाइजेसनको प्रक्रिया सुरु भएपछि अप्रिल फूल भारत, नेपालजस्ता एसियाली देशहरूमा समेत चर्चामा आएको हो ।

नेपालका केही अनलाइन तथा पत्रपत्रिकाले अप्रिल फूलमा केही रमाइला खालका सामग्री प्रस्तुत गर्न थालेका छन् । नेपालमा खासगरी साथीहरू तथा घरपरिवारका सदस्यहरूलाई झूटो सूचना दिएर मुर्ख बनाउने चलन छ । रमाइलोका लागि मनाइने भए पनि अप्रिल फूलका दिन हुन सक्ने सम्भावित दुर्घटनाप्रति भने सचेत हुनु जरुरी देखिन्छ ।
ekantipur

You might also like

Comments are closed.