Nepal's First Video FM

चिया बगानमा मजदूरको अभाव, व्यवसाय नै संकटमा

706

१६ माघ, बढ्दो विदेश पलायन र अन्य क्षेत्रमा आकर्षक रोजगारीका कारण पछिल्लो समय इलामका चिया बगानमा काम गर्ने मजदूरको अभाव हुन थालेको छ ।

चिया मजदूर अभावका कारण हरियो पत्ती टिप्ने, गोडमेल गर्ने तथा चिया छाँटकाँट गर्ने मजदूरको अभाव भएपछि चिया व्यवसाय नै संकटमा परेको छ ।

इलामका चार र झापाका तीनवटा चिया बगानमा कार्यरत मजदूरले पारिश्रमिक कम भएको बताएका छन् । उनीहरुले धमाधम काम गर्न छाडेका छन् । दैनिक आठ घण्टा काम गरेबापत रु २५४ चिया मजदूरको पारिश्रमिक तोकिएको छ ।

यहाँका चिया बगानमा कार्यरत मजदूरले त्यति पनि पारिश्रमिक नपाएको गुनासो गर्दै आएका छन् । मजदूर अभावका कारण सात दिनमा अनिवार्य हरियोपत्ती टिप्नुपर्नेमा चिया बगान पक्षले १५ दिनमा मात्र पत्ती टिप्ने गरेको छ ।

पत्ती छिप्पिने गरेको छ । युवाहरु उच्च शिक्षा अध्ययन, अवसर र रोजगारीका निम्ति गाउँबाट शहर जाने र शहरबाट विदेशतिर पलायन हुने क्रम बढेपछि चिया बगानमा मजदूर अभाव भएको चिया उद्योगी तथा व्यवसायी बताउँछन् ।

मजदूर अभावले समयमै हरियोपत्ती नटिप्दा समस्या बढ्दै गएको सूर्योदय नगरपालिका–४ हर्कटेका नरेश पौडेलले बताउनुभयो । चिया मजदूरले पारिश्रमिक बढाइदिन चिया बगान सञ्चालक, उद्योगी र व्यापारीसित पटक पटक माग गरे पनि सुनुवाइ नभएको मजदूर आशिष राई बताउनुहुन्छ ।

इलाम, कन्याम, सोक्तिम र चिलिमकोट चिया बगानका मजदूरले राजपत्रमा प्रकाशित न्यूनतम पारिश्रमिकसमेत नपाएको गुनासो गरेका छन् । इलामका चारवटा चिया बगानमा कार्यरत मजदूरका लागि स्वास्थ्य, शिक्षा र आवासका लागि सामान्य प्रबन्धसमेत नभएको उनीहरूको गुनासो छ ।

धेरै काम र कम ज्याला पाउने भएकाले पुरुष मजदूर विदेश पलायन भएपछि अहिले बढीजसो बगानमा महिला मजदूरमात्र भेटिन्छन् ।  पाँच वर्षअघि इलाम चिया बगानमा १३५ चिया मजदूर कार्यरत रहेकामा हाल २६ जना मात्र कार्यरत छन् ।

सरकारी स्वामित्वको कन्याम, इलाम, सोक्तिम र चिलिमकोट चिया बगानबाट ४४६ चिया मजदूर विस्थापित भइसकेका छन् । सरकारले २०५७ सालमा इलामका चार र झापाका तीनवटा चिया बगान तथा कारखाना त्रिवेणी साङ्घाई ग्रुपलाई ५० वर्षका लागि भाडामा दिएको थियो ।

सो समयमा ८५८ मजदूर कार्यरत रहेकामा हाल अधिकांशले पारिश्रमिक र अन्य सेवा सुविधाको माग गरे पनि नपाएपछि पलायन भएका छन् । चिया व्यवस्थापन पक्षले दैनिक ज्याला, बिदा र सेवा सुविधामा समेत कटौती गरेपछि मजदूरले चियामा काम गरेको पैसाले परिवार पाल्नै धौ धौ परेको जनाउँदै धमाधम काम छाडेका हुन् ।

अर्थोडक्स चिया उत्पादन गर्दै आएको कन्याम चिया बगानमा ४ सय ७३ स्थायी मजदूर रहेकामा हाल १ सय ५ जना मात्र मजदूर कार्यरत छन् । कन्याम चिया बगानमा ८० जना करारका श्रमिक छन् । सोक्तिम र चिलिमकोट चिया बगानले भने करारमा मात्रै मजदूर राखेका छन् ।

जिल्लामा ७ हजार ९ सय ६५ हेक्टर क्षेत्रफलमा चिया खेती गरिएको छ । चिया प्रशोधनका लागि यहाँ साना ठूला गरी सय भन्दा बढी उद्योग सञ्चालनमा छन् ।

You might also like

Comments are closed.