Nepal's First Video FM

भागबन्डामा रोकियो एकता प्रक्रिया

376

चैत्र १९,एमाले र माओवादी केन्द्रबीचको एकता प्रक्रिया सांगठनिक भागबन्डाका विषयमा कुरा नमिल्दा अड्किएको छ।

नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवस अर्थात् लेनिन जयन्ती (वैशाख ९ गते) का दिन एकता घोषणा तयारी गरिरहेका दुई दलबीच संगठनमा भागबन्डा अनुपात नमिल्दा प्रक्रिया थप लम्बिने संकेत देखिएको छ।

माओवादी केन्द्रले बराबरी हैसियतमा पार्टी एकता र सांगठनिक भागबन्डा हुनुपर्ने विषय उठाएको छ भने एमाले त्यसमा सकारात्मक देखिएको छैन । एमालेले प्रदेशसभा तथा प्रतिनिधिसभा चुनाव परिणाम हैसियतमा पार्टीमा सांगठनिक भागबन्डा हुनेगरी एकता चाहेको छ।

चुनावमा एमाले र माओवादीले ७० र ३० को अनुपातमा स्थान जितेका छन् । गत साता बालुवाटारमा भएको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग चुनाव परिणामलाई प्रमुख आधार बनाएर सांगठनिक भागबन्डा गर्नुपर्ने प्रस्ताव गरेका थिए ।

ओलीको प्रस्तावमा प्रतिक्रिया नदिई बाहिरिएका दाहालले विद्यार्थी संगठन अखिल क्रान्तिकारीको प्रशिक्षणमा बराबरी हैसियतमा मात्रै एकता हुनुपर्ने धारणा राखेका थिए ।माओवादीले सांगठनिक भागबन्डाका लागि पछिल्लो तीनवटा चुनावी परिणामलाई आधार बनाउनुपर्ने तर्क गरेको छ । पहिलो संविधानसभा चुनावबाट माओवादी केन्द्र पहिलो पार्टी भएको थियो भने एमाले तेस्रो बनेको थियो । दोस्रो संविधानसभा निर्वाचनबाट दोस्रो ठूलो पार्टी बनेको एमाले गत मंसिरमा भएको प्रतिनिधिसभा चुनावबाट पहिलो बनेको छ । माओवादी केन्द्र्र प्रतिनिधिसभामा तेस्रो ठूलो दल छ।

एमाले र माओवादी केन्द्रले प्रदेशसभा र प्रतिनिधिसभा चुनावमा उम्मेदवारी दिँदा ६०–४० को अनुपातमा सिट बाँडफाँट गरेका थिए । त्यसपछिका प्रदेश र संघीय सरकारमा भने ७०–३० को अनुपातमा भागबन्डा भएको छ। यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।radionrn

You might also like

Comments are closed.