Nepal's First Video FM

फरार अपराधी भन्दै थुनिएका २ जना बन्दी निर्दोष ठहरिए

560

चैत १९, फरार अपराधी भन्दै नुवाकोट अदालतको आदेशमा जिल्ला कारागार नुवाकोट चलान भएका दुई जना बन्दी सर्वोच्च अदालतको आदेशबाट निर्दोष ठहरिएका छन् ।

पञ्चकन्या गाउँपालिका वडा नंं ४ थप्रेकका भीमबहादुर तामाङ र वडा नंं ५ भदु्रटारका सानुवीरे तामाङलाई सर्वोच्च अदालतका न्यायाधीश केदारप्रसाद चालिसे र मीरा खड्काको संयुक्त इजलासले बन्दी प्रत्यक्षीकरण रिटमा आइतबार निर्दोष रहेको ठहर गर्दै थुनामुक्त गर्न आदेश दिएको हो ।

सर्वोच्चको आदेशमा उनीहरु दुवै जना सोमबार थुनामुक्त भएको छ । चेलबेटी बेचबिखन मुद्दामा नुवाकोट जिल्ला अदालतले २०४२ सालमा १० वर्ष कैद सजाय सुनाएकाले सोही मुद्दामा दोषीको नाम मिलेको भन्दै भीमबहादुरलाई नुवाकोट प्रहरीले गत माघ १० गते पक्राउ गरेको थियो ।

उनको ठेगाना साविक थप्रेक–२ भए पनि दोषी ठहर भएका व्यक्ति थप्रेक–१का रहेको प्रहरीको मिसिलमा उल्लेख थियो । भीमबहादुरका छोरा कमलबहादुरले बुबालाई पक्राउ गरेपछि आफूहरुको अध्ययनसमेत प्रभावित भएको र पारिवारिक पीडा, मानसिक तनाव र बन्दी प्रत्यक्षीकरण मुद्दा दर्ता गर्दा आर्थिक नोक्सान भए पनि न्याय पाउँदा खुशी लागेको बताए ।

यस्तै, २०१५ सालमा चोरी मुद्दामा दोषी ठहर भएको भन्दै २०१८ सालमा जन्मनुभएका सानुवीरे तामाङलाई प्रहरीले गत फागुन ९ गते पक्राउ गरी अदालतमा बुझाएको थियो ।

प्रहरीले बुझाएलगत्तै दुवैजनालाई ‘दोषी ठहर भएका व्यक्ति’ भएको जिकिर गर्दै अदालतका स्रेस्तेदार महिमानसिंह विष्टले कैदीपूर्जी थमाएर कारागार चलान गर्नुभएको थियो ।

सर्वोच्चबाट निर्दोष ठहर भएका नौले भनिने सानुवीरे तामाङका छोरा प्रेमबहादुरले आफ्नो बुबाले अपराध नगरेको प्रमाण पेश गर्दागर्दै जिल्ला प्रहरी र अदालतबाट पीडित बनाए पनि अहिलेको सर्र्वाेच्चको आदेशमा न्याय मिलेको बताए ।

नुुवाकोट प्रहरीले न्यायालयको फैसला कार्यान्वयनलाई पुस अन्तिम सातादेखि अभियानका रुपमा सञ्चालन गर्दै आएको छ । प्रहरीे कारवाहीमा निर्दोष व्यक्ति पक्राउ गरी कैदी पूर्जी दिएको भन्दै केही पीडितहरु बन्दी प्रत्यक्षीकरणमार्फत न्यायको पहलमा जुटेका छन् । रासस

You might also like

Comments are closed.