माघ १६, नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पूर्वसूचना तथा सन्चारमन्त्री शेरधन राईले प्रदेश नम्बर–१ को मुख्यमन्त्रीका लागि आफू सक्षम रहेको बताएका छन् ।
भोजपुरको पौवादुंगा गाउँपालिकाका वार्षिक बजेट र कार्यक्रम घोषणासभामा उनले आफू प्रदेश नम्बर–१ को सरकारको नेतृत्वका लागि सक्षम रहेको बताएका हुन् ।
भोजपुर निर्वाचन क्षेत्र नम्बर–२ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका नेता राईले भने–‘प्रदेश सरकारको नेतृत्वको दौडमा म बलियोरुपमा प्रस्तुत् भएको छु । सम्भवत: मुख्यमन्त्रीको जिम्मेवारी मेरो काँधमा आउनेछ ।’
सो प्रदेशको मुख्यमन्त्रीका लागि एमालेका सचिव एवं पूर्वसंस्कृतिमन्त्री भीमप्रसाद आचार्यले पनि आफ्नो दाबी प्रस्तुत् गर्दै आएका छन् ।
नेता राईले आउँदो फागुन पहिलो साताभित्र केन्द्र र प्रदेश सरकार बनिसक्ने र नयाँ सरकार बनेपछि मुलुकमा समृद्धिको महाअभियान सुरु हुने बताउँदै अब नेपाल कुनै अलमल र अराजकतामा नफस्ने दाबी गरे ।
मुलुकका सातमध्ये ६ ओटा प्रदेशमा वाम गठबन्धनले सरकारको नेतृत्व गर्ने र अबको पाँच वर्ष जनताले दिएको जनादेशबमोजिम केन्द्र, प्रदेश र स्थानीय सरकारबीच समन्वय गरेर देश विकासको योजनावद्ध अभियान सन्चालन गरिने पनि उनले बताए ।
विकास–निर्माणका काममा स्थानीय सरकारलाई जवाफदेही बनाउन स्थानीय सरकारलाई थप बजेट र कार्यक्रम दिन आगामी प्रदेश सरकार तयार हुने पनि सांसद राईले बताए ।
नेकपा माओवादी केन्द्रबाट नवनिर्वाचत प्रतिनिधिसभा सदस्य सुदन किराँतीले प्रदेश नम्बर–१ ले राईलाई मुख्यमन्त्रीकारुपमा पाउने आशा व्यक्त गर्दै विकास–निर्माणका काममा नयाँ सरकारपछि तीव्रता आउने जिकिर गरे ।
स्थिरता र विकासका लागि निर्वाचनमा गरिएको प्रतिबद्धताअनुसार एमालेसँगको एकता हुने पनि उनले बताए ।
सो गाउँपालिकाको सोमबारको प्रथम गाउँसभाले खानेपानी, सडक, विद्युत्, कृषि, पर्यटन, सन्चार, खेलकुद, स्वास्थ्य, शान्ति–सुरक्षा र शिक्षालगायतका कार्यक्रम र चालू पुँजीका लागि कुल रु २२ करोड २९ लाख ८१ हजारको बजेट पारित गरेको थियो ।
गाउँपालिकाका अध्यक्ष किरण राईले जनताको चाहनाअनुसार आफूहरुले ल्याएका कार्यक्रम कार्यान्वयनका लागि केन्द्र र प्रदेश सरकारको सहयोग आवश्यक भएको बताए ।
गाउँपालिकाका उपाध्यक्ष सम्झना राईले वार्षिक बजेट र कार्यक्रम सार्वजनिक गरेकी थिइन् । रासस
Comments are closed.