माघ ८, नेपाली कांग्रेसका जिल्ला सभापतिले पार्टीलाई शुद्धीकरण र सुदृढीकरण गरिनुपर्ने निष्कर्ष निकालेका छन् ।
हिन्दू, बौद्ध र किराँत धर्मालवम्बीको संगमस्थल हलेसीमा काँग्रेस खोटाङद्वारा आज आयोजना गरेको जिल्ला सभापतिको भेलाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीले पराजय व्यहोर्नुको मूल कारण नेतृत्वको कमजोरी रहेको ठहर गर्दै पार्टीलाई तत्काल शुद्धीकरण र सुदृढीकरण गर्नुपर्ने निष्कर्ष निकालेको हो ।
निर्वाचनको समीक्षा, भावी रणनीति निर्माण, निर्वाचनमा पार्टी पराजय हुनुका कारणलगायत विषयमा छलफल गर्न हलेसीस्थित जाम्बाला रिसोर्टमा बसेको भेलाले पार्टीको विधान पनि परिमार्जन गर्नुपर्ने निष्कर्ष निकालेको छ ।
देश सङ्घीय संरचनामा गइसकेकाले सोहीअनुरुपको विधान निर्माण गर्नुपर्ने भएकाले विधान परिमार्जनका लागि समिति गठन गरिएको नुवाकोटका जिल्ला सभापति जगदीशनरसिंह केसीले बताए ।
विधान परिमार्जनका लागि काभ्रे जिल्ला सभापति मधु आचार्यको संयोजकत्वमा पाँच सदस्यीय समिति निर्माण गरिएको छ । समितिको सदस्यमा कालीकोटका जिल्ला सभापति हर्कबहादुर बम, पाँचथरका नरेन्द्र केरुङ, सिन्धुलीका उज्ज्वल बराल र धादिङका रमेश धमला रहेका छन् ।
३२ जिल्लाका पार्टी सभापतिको सहभागिता रहेको सो भेलाले जिल्ला सभापतिको चौथो राष्ट्रिय भेला तत्काल बोलाउन नेतृत्वलाई दबाब दिने पनि निर्णय गरेको छ । सभापतिहरुको राष्ट्रिय भेला नुवाकोटमा गर्ने निर्णयसमेत भएको जनाएको छ ।
भेलाले ‘काँग्रेस जिल्ला सभापतिहरुको प्रतिबद्धता : हलेसी धार्मिक पर्यटन विकासमा हाम्रो प्रतिबद्धता’ भन्ने साझा नारासमेत तय गरिएको छ । धार्मिक तथा पर्यटकीयस्थल हलेसीको विकास तथा प्रवद्र्धन गर्न सकेमा देशकै आर्थिक समृद्धिमा सघाउ पुग्ने ठहरसहित साझा नारा तय गरिएको काँग्रेस खोटाङले जनाएको छ ।
भेलाले सीमा अतिक्रमण रोक्न सरकारले कूटनीतिक पहल गर्नुपर्ने, भूकम्पपीडितका लागि आवास निर्माण गर्ने समयावधि थप गर्नुपर्ने, पञ्चायत तथा माओवादी द्वन्द्वका क्रममा मारिएका सबैलाई शहीद घोषणा गरिनुपर्नेलगायत निर्णय गरेको सभापति केसीले बताए
Comments are closed.