पोखरा, माघ १७ : पोखरा लेखनाथ महानगरपालिका–११ काँहुडाँडामा निर्माणाधीन धर्मकाया बुद्धमण्डला निर्माणस्थलको मंगलबार सहारा क्लब, युके र हङकङको टोलीले स्थलगत अवलोकन गरेको छ ।
मण्डला निर्माण समितिद्वारा काँहुडाँडामा आयोजित स्वागत कार्यक्रममा टोलीका सहभागीले बुद्ध मण्डलाको निर्माणले पोखराको पर्यटकीय आकर्षणलाई वृद्धि गर्ने बताउनुभयो । पोखरामा ठूलो संख्यामा धार्मिक पर्यटक भित्र्याउने लक्ष्यका साथ उक्त क्षेत्रको १७८ रोपनी क्षेत्रफलमा करिब रु सात अर्बको लागतमा बुद्ध जीवनीका हरेक पक्ष समेट्ने संरचनासहित विशाल बुद्धको मूर्ति स्थापना गर्ने लक्ष्य राखिएको समितिका सचिव राजबहादुर गुरुङले जानकारी दिनुभयो ।
उहाँका अनुसार बुद्ध मण्डला निर्माणका लागि स्थानीय धारापानी सामुदायिक वन उपभोक्ता समितिले १७० रोपनी जग्गा प्रदान गरेको छ भने छ रोपनी क्षेत्रफलको जग्गा समितिले खरिद गर्नाका साथै दुई रोपनी भूमि दान सहयोग प्राप्त भएको छ ।
कार्यक्रममा सहारा क्लब, युकेका अध्यक्ष मीन गुरुङ (साँइला) ले पोखरा जस्तो सुन्दर नगरीमा बुद्ध मण्डलाको निर्माण हुनु सबैका लागि गौरवको कुरा भएको बताउँदै यसले यहाँको धार्मिक पर्यटनलाई थप टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
सहारा क्लब, हङकङका अध्यक्ष दीपक गुरुङले बुद्ध मण्डला निर्माण कार्य महत्वपूर्ण भएको बताउँदै व्यक्तिगत र संस्थागत दुवै रुपमा निर्माणार्थ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा डायमण्ड बुद्धिष्ट सेन्टर युकेका अध्यक्ष योगेश गुरुङले बुद्ध मण्डलाको निर्माणले पोखराको सुन्दरता बढाउने मात्र नभई संसारभरि शान्ति छाउने विश्वास व्यक्त गर्नुभयो ।
बीसीसी युके, आमा समितिकी अध्यक्ष पुष्पा गुरुङले मण्डला निर्माण कार्यमा आपूmहरू जस्तोसुकै सहयोग गर्न तयार रहेको बताउनुभयो ।
समाजसेवी अशोक पालिखेले मण्डला निर्माणमा सहयोग गर्नुहुने सबैलाई आभार व्यक्त गर्नुभयो ।
यसैबीच, आजै धर्मकाया बुद्ध मण्डला निर्माण समितिलाई विभिन्न व्यक्तिबाट आर्थिक सहयोग प्राप्त भएको छ । बुद्ध मण्डला निर्माणार्थ डायमण्ड बुद्धिष्ट सेन्टर युकेबाट रु तीन लाख १४ हजार ११४, सेन्टरका अध्यक्ष योगेस गुरुङबाट रु एक लाख ११ हजार १११, युके निवासी बुद्धिबहादुर गुरुङबाट रु एक लाख ११ हजार १११, युके निवासी आइबहादुर गुरुङ र श्रीमती दुर्गा गुरुङबाट रु एक लाख ५०० सहयोग प्राप्त भएको छ ।
त्यस्तै, सहारा युकेका अध्यक्ष मीन गुरुङ (साँइला) र श्रीमती शारदा गुरुङबाट रु एक लाख, सहारा क्लब युकेका सल्लाहकार चन्द्रबहादुर गुरुङबाट रु एक लाख १ हजार, ले. जसबहादुर गुरुङ, धम्पुस, कास्की हाल सिम्पानी, पोखराबाट रु एक लाख १ हजार १०१ तथा हरि श्रेष्ठबाट रु ५० हजार सहयोग प्राप्त भएको थियो ।
पोखरा लेखनाथ महानगरपालिका–११ का वडाध्यक्ष मोहन बास्तोलाले मण्डला निर्माणका लागि वडावासी, महानगरपालिका तथा आफ्नो व्यक्तिगत रुपमा जुनसुकै सहयोग गर्न तयार रहेको बताउनुभयो ।
कार्यक्रममा निर्माण समितिकी अध्यक्ष रुद्रकुमारी गुरुङ (मैना)ले बुद्ध मण्डला निर्माण अभियानमा सबैको सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।
Comments are closed.