चैत्र २०,काठमाडौं / प्रहरी प्रधान कार्यालयले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लाई जहाँ भेट्यो त्यहीँ समात्न निर्देशन दिएको छ ।भोजपुर जिल्ला अदालतले ज्यान मार्ने उद्योग र विष्फोटक पदार्थको कसुरमा विप्लवलाई पक्राउ गरी कारवाही गर्न आदेश दिएको थियो । त्यसपछि प्रहरी प्रधान कार्यालयले मातहतका निकायलाई विप्लवलाई जहाँ भेट्यो त्यहीँ समात्न निर्देशन दिएको हो ।
प्रहरी स्रोतका अनुसार विप्लव अहिले भूमिगत अवस्थामा छन् । उनी नेतृत्वको पार्टीमा रहेका धेरै नेता तथा कार्यकर्ता अहिले भूमिगत अवस्थामा छन् ।तर सरकारले विप्लवले केवल चन्दा उठाउनका लागि मात्रै तर्साउने काम गरेको बताउँदै आएको छ ।
नेपाल प्रहरीका प्रवक्तासमेत रहेका डीआईजी मनोज नेउपानेले भने–“अदालतबाट आदेश भएका जोकोहीलाई पनि प्रहरीले जहाँ भेट्यो त्यही समात्छ, विप्लवको हकमा पनि त्यही लागु हुन्छ ।”प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा विप्लव नेतृत्वको नेकपाले विभिन्न स्थानमा बम विष्फोट लगायतका गतिविधि गरेको भन्दै जिल्ला अदालत भोजपुरले मंसिर १० गते चन्दलाई अदालतमा उपस्थित गराउन भनेको थियो ।
अदालतकै आदेशपछि प्रहरीले विप्लवका दाई चन्द्रबहादुर चन्दको कपिलवस्तुस्थित शिवराज नगरपालिका ९ स्थित घरमा पक्राउ पूर्जी टाँसेको थियो । त्यसयता विप्लव कुनैपनि सार्वजनिक कार्यक्रममा देखिएका छैनन् । प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापाका पछिल्ला अभिव्यक्तिहरु विप्लवप्रति आक्रामक रुपमा प्रस्तुत हुनेगरी सार्वजनिक भएका छन् ।
विप्लवको नेकपाले प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको घरमा जनअदालतको निर्देशन भन्दै पक्राउ पूर्जी टाँसेपछि प्रधानमन्त्री आक्रोशित भएका हुन् ।उनले विप्लवलाई राजनीतिमा मजान नगर्न चेतावनी दिएका थिए ।गृहमन्त्री थापाले पनि विप्लवको समस्या राजनीतिक रुपमा समाधान नभए कानुनी बाटोबाट ठिक गर्ने चेतावनी दिँदै आएका छन् ।
Comments are closed.