माघ १७, आज साँझ खग्रास चन्द्र ग्रहण लाग्ने भएको छ।
साँझ ५ बजेर ५५ मिनेटमा चन्द्रमा उदाउने र बेलुकी ६ बजेर ३६ मिनेटमा इशान कोणबाट ग्रहणले छुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। ग्रहणको मध्यकाल ७ बजेर १७ मिनेटमा हुनेछ। ८ बजेर ५७ मिनेटमा पश्चिमबाट ग्रहणको मोक्षकाल हुने अर्थात् ग्रहण सकिने समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले जानकारी दिए।
‘शास्त्रीय रुपमा बालक, वृद्ध र रोगी बाहेकलाई बुधबार बिहान ८ बजेर ५५ मिनेटदेखि नै खान निषेध गरिएको छ। ग्रहण लागेपछि सुत्न, हास्यविनोद लगायत काम गर्नुहुँदैन। ग्रहण शुद्धीका लागि देवपूजा, तर्पण आदि भने गर्नहुन्छ’, उनले भने।
धर्मशास्त्रीय मान्यतानुसार बुधबारको चन्द्रग्रहण वृष, तुला र कुम्भ राशि भएकाहरुले मात्र हेर्नहुन्छ। यी राशि भएकाहरुले पनि खुला आँखाले भने ग्रहण हेर्नुहुँदैन।
समितिले स्वीकृत गरेका यस वर्षका पञ्चाङ्गमा ग्रहणले मेष राशिलाई व्यथा, वृषलाई श्रीप्राप्ति, मिथुनलाई क्षति, कर्कटलाई घात, सिंहलाई खर्च, कन्यालाई लाभ मिल्ने योग रहेको छ। त्यस्तै तुलालाई सुख, वृश्चिकलाई मान नाश, धनुलाई कष्ट, मकरलाई स्त्रीपीडा, कुम्भलाई सुखप्राप्त र मीन राशिकालाई चिन्ताको योग रहेको समितिले जनाएको छ।
यस वर्षको चन्द्रग्रहणमा खग्रास, चन्द्रमा पृथ्वीको नजिक आउने(सुपर मुन) र ग्रेगोरियन पात्रोअनुसार एकै महिनामा दुई पटक पूर्णचन्द्र(ब्लु मुन) देखिने योग परेको नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ। यो दुर्लभ खगोलीय घटना १ सय ५२ वर्षपछि भएको हो। यसअघि यस्तो घटना सन् १८६६ मार्च ३१ तारिखका दिन देखिएको सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बताए। ‘बेलुकी ६ बजेर ३६ मिनेटदेखि एक घण्टा १६ मिनेट अर्थात् बेलुकी ७ बजेर ५२ मिनेटसम्म खग्रास चन्द्रग्रहण लाग्छ। त्यसपछि खण्डग्रास हुँदै चन्द्रग्रहण सकिन्छ’,उनले भने।
चन्द्रग्रहण अफ्रिकाका केही देशबाहेक विश्वभरबाट देख्न सकिने सोसाइटीले जनाएको छ। आधुनिक विज्ञानअनुसार चन्द्रग्रहण हेर्न टेलिस्कोप अथवा अन्य कुनै यन्त्रको सहयोग लिनुपर्दैन। खुला आँखाले पनि हेर्न सकिन्छ। जुनसुकै राशि भएकाहरुले पनि चन्द्रग्रहण हेर्दा वैज्ञानिक आधारमा केही असर नपर्ने सोसाइटीका अध्यक्ष भट्टराईको मत छ।
Comments are closed.