चैत्र २१, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई केही दिनयता कमजोरी, थकाइ लाग्ने र शरीरमा पानीको कमी हुने जस्ता समस्या देखिएका छन् ।
प्रधानमन्त्री ओली निकटवर्ती स्रोतका अनुसारको कार्यको बोझ, व्यस्तता, तनाव, आरामको कमी, अनियमित खानासँगै पर्याप्त मात्रामा सुत्न नपाउँदा उनमा ती समस्याहरु उत्पन्न भएको छ ।
केही दिन अघि अन्नपूर्ण होटलमा आयोजित एक कार्यक्रममा ओलीले आफुलाई खुट्टा दुख्ने समस्या भएको भन्दै बसेरै बोल्नुपर्ने बाध्यता भएको सुनाएका थिए ।
चिकित्सकले प्रधानमन्त्री ओलीलाई बजारमा पाइने मिनिरल वाटरको सट्टा घरकै सफा पानी पिउन र निवासमै पकाएको खाना खान समेत सुझाव दिएका छन्।
सोही सुझाव अनुसार प्रधानमन्त्री ओलीले सार्वजनिक समाराहोमा निवासबाटै पठाइएको पानी पिउने र खाना खाने गरे पनि उनी प्राय: दुई बजेपछि मात्र सुत्ने जाने गरेकाले आवश्यक मात्रामा निन्द्राबाट बञ्चित भएकाले त्यसले शारीरिक थकावट र मानसिक तनाव उत्पन्न गराएको छ।
यदाकदा निजी चिकित्सकले सुझाउँदा प्रधानमन्त्री ओलीले ‘मलाई केही हुन्न, म ठिक छु तपाईहरु हुँदै हुनुहुन्छ नि’ भन्ने गरेको स्रोतले बतायो।
प्रधानमन्त्री ओलीलाई ११ बजे नै सुत्न चिकित्सकले सुझाव दिए पनि राति अबेरसम्म चल्ने भेटघाटपछि पनि उनी १/२ बजेसम्म अध्ययन गर्छन्।
यता आएर कमजोरीका कारण प्रधानमन्त्री ओलीले कहिलेकाहिँ ग्लुकोज पानीसमेत खाने गरेका छन्।
मिर्गौला प्रत्यारोपणपछि चार वर्षअघि ‘फंगल म्यानेनजाइटिस’ हुँदा प्रधानमन्त्री ओलीको स्वास्थ्य निकै गम्भीर बनेको थियो।
त्यसपछि प्रधानमन्त्री ओली थाइल्याण्ड पुगेर नियमित उपचार गराउँदै आएका छन्।
-देश सन्चारबाट साभार
Comments are closed.