Nepal's First Video FM

पुल नहुँदा चेपाङ विद्यार्थी शिक्षाबाट वञ्चित

461

२१ चैत (रासस) ः माथिल्लो कक्षा पढ्ने ठाउँ नै नभएपछि चेपाङ बालबालिकाले पढेनन् भनेर कसरी भन्ने ? घैराङ आधारभूत विद्यालयका शिक्षक मानबहादुर चेपाङको यो प्रश्नले गाउँमा शिक्षाको कुरा गर्न आउने सबैलाई एक पटक झस्काउँछ ।

डाँडामा बस्ती भएकाले गाउँवासीका लागि माध्यमिक तहको अध्ययन गर्न पाँच घण्टाको दूरी तय गर्नुपर्ने भएकाले सो गाउँका कसैलाई पनि माध्यमिक तहको शिक्षा पाउनु भनेको ‘टाढाको फल आँखातरी मर’ भएको जस्तो छ ।

दक्षिणी धादिङको बेनीघाट रोराङ गाउँपालिका–२ तल्तीबाहेकको चेपाङगाउँबाट माध्यमिक शिक्षा अध्ययनका लागि विद्यालय आउन पाँच घण्टाको दूरी तय गर्दा पनि पुल अभावमा विद्यालय आउनै नसक्ने अवस्था आएको छ ।

मलेखुखोलाको ताल्ती क्षेत्रमा हिउँदमा खोला सुख्खा हुने र पानी पर्न थालेपछि वारपार गर्न नै नसकिनेगरी ठूलो हुन्छ । खोला बढेपछि विद्यार्थीमात्र होइन, गाउँवासीसमेत बजारतर्फ आउजाउ गर्न सक्दैनन् ।

यस वडाका पाँच विद्यालय र एक बालविकास केन्द्रबाट आधारभूत तहको शिक्षा हासिल गरेपछि माध्यमिक शिक्षा हासिल गर्न सिमथली र ताल्ती जोड्ने मलेखुखोलामा पुल नहुँदा गाउँका विद्यार्थी हिउँदमा पढ्ने गर्छन् भने वर्षा लागेपछि पढाइ छाड्ने गरेको शिक्षक मानबहादुर चेपाङको भनाइ छ ।

प्रजा आधारभूत विद्यालयमा ९४ जना, देउराली आधारभूत विद्यालयमा १०१ जना, बागेश्वरी आधारभूत विद्यालयमा ५५ जना, पञ्चकन्या आधारभूत विद्यालयमा ६५ जना र अति विकट ब्रुसबाङको बालविकास केन्द्रका २८ जना विद्यार्थी छन् । मलेखुखोलामा पुल नहुँदा उनीहरु शिक्षाबाट वञ्चित हुनु परेकाले तत्काल पुल आवश्यक भएको वडाध्यक्ष टंकबहादुर थापाको भनाइ छ ।

गाउँका विद्यार्थी जेठ लागेपछि पानी परेको दिन विद्यालय जाँदैनन् । वर्षा शुरु भएपछि असार साउन र भदौ तीन महिना त खोला पार गर्न नै नसकिने भएकाले उनीहरु विद्यालय जाँदैनन् ।

यस क्षेत्रका विद्यार्थीको समस्या भनेको मलेखु खोलामा पुल र गाउँमै माध्यमिक तहको विद्यालय हुनुपर्ने ज्ञानबहादुर चेपाङको भनाइ छ ।

सिमथली, मासखर्क, ब्रुसबाङ, माङ, झिरुबास, थुन्द्राङ, चोतेस, पार्लाकलगायतका गाउँबाट बल्लतल्ल आधारभूत तहको शिक्षा लिएका विद्यार्थी पुलको अभावमा कक्षा छाड्ने गर्नाले शिक्षाबाट वञ्चित हुने गरेका छन् तर सरकारले यसतर्फ ध्यान नदिएको रवीन्द्र चेपाङको आरोप छ ।

आफ्नो खारियाबारीको उत्पादनले तीन महिनामात्र खान पुग्ने १८० घर चेपाङ बस्ती रहेको गाउँमा खानेपानीको सुविधा छैन । उत्पादनको वैकल्पिक उपाय नहुँदा ज्याला मजदुरी गरेर परिवार पल्नु पर्ने अवस्था रहेकाले काम गर्न सक्नेहरु दशैँ तिहारबाहेक गाउँमा भेटिँदैनन् ।

खोला तर्नुपर्ने भएपछि ७० प्रतिशत चेपाङ बालबालिकाले बीचैमा पढाइ छाड्ने गरेको शिक्षक तिलक चेपाङले बताउनुभयो ।
–––

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.