चैत २१, कोटेश्वर पूर्वमा चल्ने विभिन्न यातायात सेवा समितिले मयुर यातायातको विरोधमा बस सेवा बन्दा गरेका कारण बुधबार काभ्रेपलाञ्चोक जिल्लाका सर्वसाधारणलाई प्रभाव पारेको छ ।
काभ्रे बस सेवा समिति र काभ्रे मिनिबस सेवा समिति लगायत १३ वटा यातायात समिति मिलेर कोटेश्वर पूर्वमा कुनै पनि यातायात नचलाउने निर्णय गरेको जनाएको छ ।
काभ्रे मिनी बस सेवा समितिका अध्यक्ष राजेशसुन्दर सैंजुले यातायात व्यवस्था विभागबाट मयुर यातायातलाई सुविधा सम्पन्न ठाउँमा चल्नको लागि मात्रै इजाजतपत्र दिएको भन्दै त्यस विरुद्धमा पूर्व घोषित कार्यक्रम अनुसार बस सेवा बन्द गरेको बताए ।
“मयुरको २४ वटा गाडीलाई मात्रै राम्रो ठाउँमा इजाजतपत्र दिएर भएन, ग्रामीण भेगमा पनि चलाउनुप¥यो” सैजुले भने । उनले प्रतिस्पर्धामा बस सेवा सञ्चालन गर्न आफूहरु तयार रहेको बताए ।
यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले कोटेश्वर पूर्वको समितिले बन्द गरेको उल्लेख गर्दै त्यसमा आफूहरुको नैतिक समर्थन मात्रै रहेको बताए ।
‘बन्द हामीले गर्ने र भन्ने कुरा होइन, उनीहरुले गरेको कुरा हो ।’ कर्माचार्यले भने, “अहिले उनीलेहरुले आन्दोलनको कार्यक्रम घोषणा गरेर बन्द गरेका छन्, पछि हामीसँग छलफलमा आउने छन्, त्यसबेला हामीले अवस्थाको बारेमा बुझेर काम गर्नेछौं ।”
काभ्रेपलाञ्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद सिम्खडाले मयुर यातायातका विषयलाई लिएर केही दिन अगाडि ज्ञापनपत्र बुझाइएको थियो बताउए । सिम्खडाले भने, “सिन्डिकेट भनेको राज्यको विरुद्ध हो, तोडफोड र बन्द गर्न पाइँदैन, प्रतिस्पर्धामा जानुपर्छ ।”
उहाँले जिल्लाभित्र कुनै पनि तोडफोडको घटना नभएको र केही दिनअघि भएको तोडफोटको घटना भक्तपुर जिल्लामा भएको बताए । यातायात व्यवस्था विभागले भने व्यवसायी समितिले सवारी साधन नचलाए इजाजतपत्र खारेज गर्ने बताएको छ ।
मयुर यातायात प्रालिले चैत १ गतेबाट काठमाडौँ–बनेपाका लागि सडक इजाजतपत्र लिएर बस सञ्चालन गर्दै आएपछि कोटेश्वरपूर्वका १३ वटा समितिले ग्रामीण र शहरी दुबै भेगका सेवा ठप्प बनाएका हुन् । रासस
Comments are closed, but trackbacks and pingbacks are open.