चैत्र २१,नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको क्रममा विगतमा भएका द्धिपक्षीय सहमति कार्यान्वयनमा जोड दिन सुझाव दिएको छ ।
माओवादी केन्द्र पार्टी संसदीय दलको बुधबार सिंहदरबारमा बसेको बैठकले भारत भ्रमणका क्रममा विगतमा भएका द्धिपक्षीय सहमति कार्यान्वयनमा जोड दिन प्रधानमन्त्री ओलीलाई सुझाव दिएको हो । प्रधानमन्त्री ओली शुक्रबार ३ दिने भारतको राजकीय भ्रमणमा जाँदै छन् ।
प्रधानमन्त्री ओलीलाई भारत भ्रमणका क्रममा विगतमा भएका सहमति कार्यान्वयनमा जोड दिन सुझाव दिइएको पार्टीका नेता दिनानाथ शर्माले जानकारी दिए । बैठकमा पार्टी अध्यक्ष एवम् संसदीय दलका नेता पुष्पकमल दाहालले प्रधानमन्त्री ओलीको भारत भ्रमणबारे सांसदहरुलाई जानकारी गराउँदै यसलाई सदभाव भ्रमणको रुपमा लिनुपर्ने धारणा पनि राखेका छन् ।
बैठकमा एमालेसँग पार्टी एकतापछि टुंग्याउने गरी पार्टी संसदीय दलको विधानका विषयमा पनि छलफल सुरु गरिएको छ । दुई पार्टीबीचको एकता भएपछि टुंगो लगाउने गरी पार्टी संसदीय दलको विधानका विषयमा पनि छलफल सुरु गरिएको नेता शर्माले बताए । बैठकमा अध्यक्ष दाहालले बैशाख ९ गते नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर एमालेसँग पार्टी एकता गर्ने गरी निर्णय गरिएको जानकारी पनि गराए ।
बैठकमा अध्यक्ष दाहालले पार्टी एकताका विषयमा देखिएका असहमति छिट्टै टुंगो लगाउने बताएका छन् । एमाले र माओवादी केन्द्रबीच चुनाव चिन्ह, जनयुद्धलाई मान्यता दिने कि नदिने तथा पार्टी संगठनबीचको एकता कुन अनुपातमा गर्ने विषयमा कार्य दल तहमा सहमति जुटन सकेको छैन ।
Comments are closed.