चैत्र २२, बलिउड अभिनेता सलमान खानले गत फागुन २६ गते नेपालमा कन्सर्ट गर्ने कार्यक्रम थियो, जुन विप्लव माओवादीको धम्कीले गर्दा स्थगित भयो । त्यसपछि आयोजक ओडीसी इन्टरनेसनले गुपचुपरुपमा कार्यक्रमको नयाँ डेट आउँदो २ जेठका लागि तय गरेको छ ।
तर, सलमान खान कालो हरिण शिकारको मुद्दामा ५ वर्षका लागि जेल गएका छन् । यदि उनलाई सुप्रिम कोर्टले धरौटीमा रिहा गरेन र पुरा अवधि जेल बस्नुपर्यो भने नेपालको शो रद्द हुनेछ ।
अहिलेसम्म ओडीसीले कार्यक्रमका लागि करिब आठ करोड खर्च गरिसकेको छ । आठ करोडमध्ये पाँच करोड सलमानसहित १ सय १० भारतीय कलाकार र प्राविधिकहरुको खातामा जम्मा गरिएको पारिश्रमिक हो भने बाँकी नेपालमा गरिएको विज्ञापन, लजिस्टिक र अन्य व्यवस्थापकीय खर्च । सलमान जेल जाँदा ओडीसीको आठ करोड जोखिममा परेको छ ।
यदि सलमान लामो समय जेल बस्नुपर्यो भने के उनले आफूले लिएको पारिश्रमिक फिर्ता गर्लान् त ? ओडीसी इन्टरनेसनलका प्रमुख सिमान्त गुरुङ भन्छन्, ‘हाम्रो कारणले सो रद्द गर्नु परेको अवस्थामा पैसा फिर्ता माग्न मिल्दैनथ्यो । तर, उनीहरुको कारणले रद्द गर्नुपर्यो भने हामी सबै पैसा फिर्ता माग्छौं । बढिमा एक वर्ष पो पर्खिन सकिन्छ, पाँच वर्ष कसरी पर्खिने ?’
यदि भारतीय कलाकारहरुबाट पैसा फिर्ता आयो भने पनि ओडीसीलाई ४ करोड अझै घाटा हुनेछ । किनकी नेपालमा भएको सो खर्च फिर्ता हुन सक्दैन । पहिले घोषित मितिमा शो नहुँदा नै ओडीसीलाई करोडौं घाटा लागिसकेको छ ।
यद्यपि, सलमानलाई सुपि्रम कोर्टले धरौटीमा रिहा गर्नेमा आफू आशावादी रहेको गुरुङ बताउँछन् । ‘मैले बुझेसम्म सलमान धरौटीमा छुट्छन् र हाम्रो कार्यक्रम २ जेठमा हुन्छ,’ उनले भने ।
सलमानको द ब्याङ टुर अन्तरगत हुने भनिएको भ्रमणमा सोनाक्षी सिन्हा, प्रभू देवा, मनिष पल आदि कलाकारहरु समावेश छन् । यसअघि करिब पाँच हजार टिकट विक्री भइसकेको अवस्थामा शो स्थगित गरिएको थियो ।
Comments are closed, but trackbacks and pingbacks are open.