Nepal's First Video FM

विश्वकै चासोपूर्ण बन्दै बेलायती राजकुमारको विवाह, कोसँग लगनगाँठो कस्दैछन् त ? पढ्नुहोस

890

चैत २२, बेलायती राजकुमार ह्यारी र अमेरिकी नायिका मेगान मर्केलबीच आउँदो मे १९ तारिखमा क्यासलस्थित सेन्ट जोर्जेज च्यापलमा भव्य विवाह हुने तयारी छ । विवाह समारोह नजिकिँदै गर्दा विश्वले यसलाई चासोपूर्वक हेरिरहेको छ ।

ह्यारी र मेगानले गत नोभेम्बरमा आफ्नो विवाह योजना सार्वजनिक गरेका थिए । बेलायती महारानी एलिजावेथ द्वितीयको निवास विन्सोर क्यासल विश्वमै पुरानो मानिन्छ जहाँ रानी प्राय: सप्तहान्न यही बिताउँछिन् । यही क्यासलबाट राजकुमार ह्यारीले लगनगाँठो कस्दैछन् ।

करिब ८ सय जना अट्ने सेन्ट जोर्जेज च्यापल सजाउने जिम्मा फुल व्यापारी फिलिपा क्रयाडोकलाई दिइएको छ । वैवाहिक समारोहमा २६ सयभन्दा बढीलाई निमन्त्रणा गरिनेछ । बिहे समारोह र लन्च रिसेप्सनको औपचारिक निम्तो पठाइसकेपनि अतिथिहरुको नाम भने गोप्य राखिएको छ ।

विन्सोर क्यासलमा अतिथिबाहेक एक लाख भन्दा बढी सर्वसाधारण सहभागी हुने अपेक्षा गरिएको छ । थेम्स भ्याली प्रहरीले समारोहको सुरक्षा जिम्मा लिएको छ । प्रहरीले यो सुरक्षा प्रबन्ध आफ्नो इतिहासमै बृहत् बनेको छ ।

स्नाइपरसहित तारबार घेरा, प्रत्येक सवारी साधन र झोला जाँच र विमानस्थलकै सरह स्क्यानरले आगन्तुकहरुको खानतलासी गरिने छ । बिहे समारोहमा सुरक्षा प्रदान गर्न मात्र ३० मिलियन पाउन्ड (४ अर्ब रुपैयाँ भन्दा बढी) खर्च हुने बेलायती अखबारहरुले उल्लेख गरेका छन् ।

राजपरिवारले चर्च सर्भिससहित बिहे समारोह, संगीत, फुल र रिसेप्सनको खर्च बेहोर्ने पक्का भएको छ तर सुरक्षा खर्च भने करदाताकै पैसामा हुनेछ । सन् २०११ अप्रिलमा ह्यारीका दाई प्रिन्स विलियम र केट मिडलटनको बिहेमा २० मिलियन पाउण्ड तथा सन् १९८१ मा ह्यारीका बाबु प्रिन्स चाल्र्स र डायना स्पेन्सरको वैवाहिक समारोहमा सुरक्षाका लागि १२ मिलियन पाउण्ड खर्च भएको थियो ।

सुरक्षा प्रबन्धका लागि स्कटल्याण्ड यार्डसँग आबद्ध चारहजार दुई सय प्रहरीको बिदा समेत रद्द गरिएको छ । थेम्स नदी वरपर तालिमप्राप्त कुकुर र घोडाबाट गस्ती हुनेछ भने आधुनिक हतियारले सुसज्जित विशेष युनिट समेत खानतलासीमा खटिनेछ ।

नेशनल पुलिस एयर सर्भिसले पनि सुरक्षामा साथ दिनेछ। फस्र्ट बटालियन आइरिस गार्डस, रोयल नेभी, रोयल मरिन, थ्री रेजिमेन्ट आर्मी एयर कप्स, रोयल गोर्खा राइफल्स र आरएएफ होनिङटन कर्मचारी पनि समारोहमा खटिने जनाइएको छ ।

प्रहरीले आफ्ना साझेदार, स्थानीय व्यापारिक प्रतिष्ठान र समुदायसँग मिलेर समारोह सुरक्षित र हर्षोल्लासमय बनाउने बताएको छ । प्रहरीले विगतमा अपराधमा संलग्न भएका वा चोरीका गाडी छुट्टयाउन अटोमेटिक नम्बर प्लेट रिकग्निसन (एएनपिआर) प्रविधि, एचभिएम ब्यारियर र सीसीटिभी समेत प्रयोग गरिने जनाएको छ ।

मे १९ कै दिन अंग्रेजी खेल इभेन्टको सबैभन्दा वृहत एफए कप फाइनल हुँदैछ । प्रिन्स विलियम फुटबल एसोसिएसन (एफए) को अध्यक्ष भएकाले उक्त समारोहमा विलियम ट्रफी प्रदान गर्न जाने नजाने अहिलेसम्म निश्चित भइसकेको छैन् ।

साभार कान्तिपुर दैनिक

You might also like

Comments are closed.