Nepal's First Video FM

प्रधानमन्त्रीको भारत भ्रमण टोलीमा राजेश हमाल र दिनेश डिसी

552

चैत २३, प्रधानमन्त्रीको शुक्रबारदेखि हुन लागेको भारतको राजकीय भ्रमणमा पहिलो पटक चलचित्र क्षेत्रसमेत सहभागी गराइएको छ । नेपाली चलचित्र उद्योग र भारतीय चलचित्र उद्योगबीच मैत्री सम्बन्ध स्थापना गरी एक अर्काको अनुभव आदानप्रदान गर्न प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा कलाकर्मीलाई समावेश गरिएको हो ।

प्रधानमन्त्री ओली ५४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार भारतको राजकीय भ्रमणमा जान लाग्नुभएको छ । भ्रमण दलमा लोकप्रिय नायक राजेश हमाल र निर्देशक दिनेश डिसी सहभागी हुनुहुन्छ । नेपाली चलचित्र उद्योगलाई लामो समयदेखि आफ्नो छाप दिन सफल नायक हमालले रासससँगको कुराकानीमा भन्नुभयो, “प्रधानमन्त्रीको सरकारी भ्रमण टोलीमा सहभागी हुनु नै मेरा लागि खुसीको विषय हो ।”

नायक हमालले भन्नुभयो, “नेपाल र भारतबीच सामाजिक, भाषिक, सांस्कृतिक एवं कलाको समेत विशेष सम्बन्ध र पाटा छन् । यो निनान्त अलग पाटो हो । त्यससँगै धार्मिक पक्ष पनि छ । यी सबैलाई मध्यनजर गरी सम्बन्धको सेतूलाई अझ बढी प्रगाढ बनाउन हामी आफैँले प्रयास गर्नुपर्छ ।” कला संस्कृतिले नै दुई देशको सम्बन्धलाई बढी प्रगाढ बनाएको स्मरण गर्दै नायक हमालले धार्मिक, गीत संगीतका पक्ष नै महत्वपूर्ण एवं सम्बन्ध विस्तारको खास पक्ष रहेको उल्लेख गर्नुभयो ।

भ्रमण दलका सदस्य निर्देशक डिसी कलाक्षेत्र र कलाकार राष्ट्रको प्राथमिकतामा छ भन्ने प्रधानमन्त्रीको भ्रमण टोलीमा समावेश गरिएकाले पनि स्पष्ट भएको बताउनुभयो । “कलाकार पनि राष्ट्रका लागि काम गर्छन् भन्ने देखिएको छ, त्यो हामीले अनुभव गर्न पाएका छौँ”–खुसी व्यक्त गर्दै निर्देशक डिसीले भन्नुभयो, “कला क्षेत्र पनि राज्यको प्राथमिकताको क्षेत्र हो, महत्वपूर्ण क्षेत्र हो भन्ने कुरा सरकारले पहिचान गरेको छ ।”

नेपालको आर्थिक उन्नयनका लागि समेत चलचित्र पर्यटन एउटा विशिष्ट र महत्वपूर्ण पाटो हुन सक्ने निर्देशक डिसीको भनाइ छ । उहाँले भन्नुभयो, “हामीले यूरोप अमेरिकाको पर्यटक ल्याउनै पर्दैन, भारत र चीनको मात्रै पर्यटक ल्याउन सकियो भने मात्रै नेपालको ठूलो आर्थिक विकास हुन सक्छ ।” नेपालका पोखरा, डोल्पा, जुम्ला, सोलुखुम्बुजस्ता स्थान विश्वकै लागि समेत सौन्दर्यको अनुपम स्थान भएकाले विदेशी चलचित्रकर्मीलाई नेपाल भित्र्याउनै पर्ने उहाँको भनाइ छ ।

रासस

You might also like

Comments are closed.