Nepal's First Video FM

गीतकार दयाराम पाण्डेयले मानव सेवा आश्रममा मनाए जन्मदिन !

79

लोकप्रिय गीतकार दयाराम पाण्डेयले आज आफ्नो जन्मदिन अलि फरक तरिकाले मनाएका छन्। गीतकार पाण्डेयले बालाजु वनस्थली स्थित मानव सेवा आश्रममा दुई सय जना भन्दा धेरै जेष्ठ नागरिक र भिन्न क्षमता भएका व्यक्तिहरूलाई भोजन गराएर आफ्नो जन्मदिन मनाएका हुन् । उक्त अवसरमा आफ्नो सक्षिप्त मन्तव्य राख्दै उनले आफूले गीत लेखेर आर्जन गरेको रुपैयाँबाट केही रुपैयाँ समाजसेवामा खर्चन पाउनु निकै खुशीको कुरा भएको बताए । “यो पैसा मैले साथीभाईसङ्ग रमाइलो गरेर एकैछिनमा उडाउन पनि सकिन्थ्यो।” उनले भने,”तर भोको हुनेको पेट भर्नु नै वास्तविक धर्म हो भन्ने लागेर मैले यसो गरे।” साथै उनले आगामी दिनमा आफुले आफ्नो एकल गीति सङ्ग्रह र आफ्ना सिर्जनाहरुको कृतिको स्वरूप दिने समेत जानकारी गराए ।

गीतकार पाण्डेयले चलचित्र र आधुनिक गरि करीब एक हजार गीत लेखिसकेका छन् । नेपाल चलचित्र प्राविधिक सङ्घले आयोजना गर्ने नेफ्टा अवार्ड ह्याटृक गरेका पाण्डेयले इनास अवार्ड, बक्स अफिस अवार्ड, म्यूजिक खबर, राप्ती म्यूजिक अवार्ड लगायत राष्ट्रकै प्रतिष्ठित नातीकाजी प्रतिभा पुरस्कार राष्ट्रपतिकै हातबाट ग्रहण गरिसकेका छन। संगीतकार शम्भुजीत बासकोटादेखि सौर्य बासकोटा सम्म, गायक उदितनारायण झा देखि आदित्यनारायण झा सम्म, नायक भुवन के सी देखि अनमोल के सी सम्म निर्माता उद्धव पौडेल देखि निरक पौडेल सम्म दुई पुस्ता सङ्ग काम गरिसकेका उनी नेपाली चलचित्रमा सर्वाधिक गीत लेख्ने गीतकारको कुरा गर्दा अग्रपंक्तिमा पर्दछन।

रोयल्टी संकलन समाज केन्द्रका पूर्व उपाध्यक्ष रहेका पाण्डेय नेपाली गीत-संगीत, कला संस्कृति र चलचित्रको सम्बर्द्धन गर्ने उद्देश्यले स्थापित अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजका नेपाल च्याप्टरका अध्यक्ष हुन् । गीतकार पाण्डेयका चलचित्र ख्यालख्यालैमा को हमसे पुछोना, अग्निपथको हजुरबाले भनेथे, इन्द्रेणीको झर्यो झर्यो कृष्णभीर, हङ्गामाको सिन्का सिन्का जोडेर, मौसमको कुन लोककी परी हौ तिमी, डरको एउटा फूल के मागु, हिम्मतको आखामा गाजल लाको खोइ, किस्मतको यो फूल्को त कुरै छौडौ, तकदिरको मुसुक्कै हास्यौ, खलनायकको मागेर पाउने भए म, नैनारेशमको ढ्ल्क्यो ढल्क्यो, मेरो जीवनसाथीको सररर बेग मारी, पलासको तिमी साथमा हुदा नि मजा लाग्छ मलाई लगायतका सयौं गीत सुपरहिट छन् ।

तीतो सत्य, दृष्टि, कुल खानदान लगायत थुप्रै टेलिसिरियलका समेत गीत लेखिसकेका पाण्डेय हाल शम्भुजीत बासकोटा, ऋषि लामिछाने, सुदर्शन थापा, दीवाकर भट्टराई, राज कटुवाल लगायतले निर्माण गर्न लागेका करीब १ दर्जन चलचित्रको गीत लेखनमा व्यस्त छन् ।

You might also like

Comments are closed.