चैत २३, प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले मुलुकमा अब आर्थिक क्रान्ति र समृद्धिको समय आएको बताएका छन् । उद्योग संघ चितवनले आयोजना गरेको पाँचौं राष्ट्रिय औद्योगिक प्रदर्शनीको शुक्रबार यहाँ उद्घाटन गर्दै उनले अधिकारको लडाइँ सकिएकाले अब आर्थिक क्रान्ति गर्नुपर्ने बताए ।
चितवन र मकवानपुरलाई आर्थिक क्षेत्रको रुपमा विकास गर्ने योजना रहेको बताउँदै मुख्यमन्त्री पौडेलले प्रदेश नं ३ मा शक्तिखोरको औद्योगिक क्षेत्र बाहेक अन्यत्र पनि औद्योगिक क्षेत्रको आवश्यकता रहेको बताए । भूगोल र आवश्यकता अनुसार औद्योगिक क्षेत्र निर्माण गर्नु आवश्यक रहेको उनको भनाइ थियो ।
मुलुकलाई कसरी औद्योगीकरणतर्फ लैजाने भन्ने विषयमा सोच्न जरुरी रहेको उनले बताए । यसका लागि औद्योगिक वातावरण बनाउन आफू लागिपरेको उनको भनाई छ । सोही अवसरमा प्रदेश नं ३ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले उद्योगीको समस्या समाधान गर्नका लागि प्रदेश सरकार तयार रहेको बताए ।
उद्योग परिसंघ प्रदेश नं ३ का संयोजक ऋषिराम घिमिरे, नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र विष्ट, नेकपा (एमाले)की जिल्ला सहसचिव सूर्य बदना हमाल, नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, नेकपा (माओवादी केन्द्र)का द्रोणबाबु सिवाकोटी, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधान लगायतले बोलेका थिए । रासस
Comments are closed.