नयाँदिल्ली भारतको पूर्वी राज्य ओडिसामा आमाको साथबाटै बच्चा लुटेर लाने एउटा बाँदरको प्रहरीले व्यापक खोजी गरिरहेको छ। बच्चाको लाश केही समयपछि एउटा इनारभित्र फेला परेको थियो। आमा सामुन्ने नै भएको घटनामा उनले बच्चालाई बचाउन नसकेको प्रहरीले जनाएको छ।
एकजना नातेदारले बच्चा तानेर लगेको भोलिपल्ट घरपछाडिको इनारमा उनको लाश फेला पारेका थिए । उक्त बाँदरले घरभित्रै आएर बच्चा लगेको थियो। सो क्षेत्रमा बाँदरहरुले पहिलेदेखि नै भौतिक सम्पत्तिमा क्षति पुर्याई उत्पात मच्चाउने गरे तापनि यस्तो घटना भने पहिलो पटक भएको बताइएको छ।
स्थानीय सरकारी अधिकारी पिसी प्रधानले बीबीसीलाई भनेका छन्– ‘हामीले एक साताभित्रै बाँदरलाई पक्रने आशा गरेका छौं। बाँदरले घरघरमा छिरेर मान्छेलाई आक्रमण गर्नु र खाना खोज्नु सामान्य कुरा भए पनि यसरी कुनै बाँदर बच्चा बोकेर भाग्नु पहिलो घटना हो।’
प्रहरीले बाँदर समात्नमा माहिर मानिने स्थानीय आदिवासीहरूको सहयोगमा अहिले बाँदर खोजिरहेको छ। बच्चाको शव परीक्षण गर्ने डाक्टरले बच्चाको शरीरमा कुनै गम्भीर चोट नभएको र सम्भवत पानीमा डुबेर उसको ज्यान गएको हुनु पर्ने बताएका छन् । बाँदरले बोकेर जाँदै गर्दा बच्चा इनारमा खसाएको अनुमान गरिएको छ।
एजेन्सी
Comments are closed, but trackbacks and pingbacks are open.