Nepal's First Video FM

मोदी संग भेट्ने बितिकै प्रधानमन्त्री ओलीले गरे लिखित यस्तो सम्झौता,वाम एकता नहुदै ओली-मोदी ‘गठबन्धन’ सम्पन्न

479

काठमाडौं । संसदीय चुनावअघिसम्म केपी ओलीलाई ‘भारतविरोधी’ नेताका रुपमा नेपाल र भारत दुबैतिरबाट प्रचार गरिएको थियो ।

ओलीको नेतृत्वमा नयाँ सरकार गठन भएपछि नेपाल-भारत सम्बन्ध असहज हुने हो कि भन्ने चिन्ता पनि दुबै देशलाई थियो । तर, ओलीको भारत भ्रमणपछि अब नेपाल-भारत सम्बन्धमा नयाँ आयाम देखा परेको छ । विकास र समृद्धिको मिसनमा ओली र मोदीवीच ‘अघोषित गठबन्धन’ सुरु भएको छ, जुन प्रधानमन्त्रीको भारत भ्रमणको ऐतिहासिक उपलब्धि हो ।

द्वीपक्षीय वार्तापछि शनिबार हैदरावाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मलेनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भने- ‘हिजो र आजको हाम्रो कुराकानीमा प्रधानमन्त्री ओलीजीले नेपालको तीव्र आर्थिक विकास एवं समावेशी समाजको निर्माणका लागि आफ्नो बोल्ड भिजनका बारेमा मलाई विस्तारमा जानकारी दिनुभयो ।… म सम्झन्छु कि भारतको विकासका लागि मेरो ‘सबका साथ सबका विकास’ मूल मन्त्र हो र नेपालका लागि प्रधानमन्त्री ओलीजीको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को अभियान एक- दोस्रोका पूरक हुन् ।’

भारतीय प्रधानमन्त्री मोदीको यो भनाइले ओली-मोदी विकासका मोडेलहरु अब दुई देशका साझा वा एक अर्काका परिपूरक अभियानहरु हुन्, जसलाई साकार पार्न दुबै प्रधानमन्त्रीवीच सहकार्य (गठबन्धन) जरुरी छ भन्ने संकेत गरेको छ ।

प्रधानमन्त्री केपी ओलीले पनि नेपाल र भारतवीच कुनै असमझदारी नरहेको बताएका छन् । र, समृद्ध नेपाल निर्माणका लागि छिमेकीसँग मिलेर काम गर्ने बताएका छन् ।

तीनवटा बेग्लाबेग्लै सम्झौता

प्रधानमन्त्री ओलीको भारत भ्रमणका क्रममा मुख्यतः तीनवटा बेग्लाबेग्लै सम्झौताहरु भएका छन् । ती सम्झौताहरुमा एउटा हो- जलमार्गबाट सामान ओसार-पसार गर्ने सम्झौता । यही सम्झौतालाई लक्षित गर्दै भारतीय प्रधानमन्त्री मोदीले सगरमाथाको देश सागरसँग जोडिएको बताएका छन् ।

समुद्रमा नेपाली ध्वजाबाहक पानीजहाज चलाउने बताउँदै आएका प्रधानमन्त्री ओलीको सपनालाई साकार पार्नका लागि भारत सैद्धान्तिकरुपमा सहमत देखिएको छ । तर, यससम्बन्धी दुई बुँदे छोटो सम्झौतामा नेपाली ध्वाजाबाहक पानीजहाजबारे विस्तृतमा चर्चा गरिएको छैन ।

यो पनि पढ्नुहोस्- जलमार्गबाट सामान ओसार पसार गर्न भारतसँग समझदारी

प्रधानमन्त्री ओलीको भारत भ्रमणका क्रममा गरिएको अर्को लिखित सम्झौता हो- रक्सौल काठमाडौं जोड्ने रेल्वे लिंकसम्बन्धी सम्झौता ।

रेल्वे लिंक सम्बन्धी अलग्गै सम्झौता अन्तरगत जलपाईगुडी- काँकडभिट्टा, जोगवनी- बिराटनगर, नौतनवा-भैरहवा र रुपैडिया नेपालगञ्ज रेलमार्गलाई प्राथमिकतामा राखिएका छन् भने रक्सौलबाट काठमाडौं जोड्नेबारे दुबै देशका प्रधानमन्त्री सहमत छन् भन्ने मोटो सहमति भएको छ ।

यो पनि पढ्नुहोस्- रक्सौल-काठमाडौं रेलमार्गः एक वर्षभित्रै सर्वे सक्ने समझदारी

प्रधानमन्त्रीको भारत भ्रमणका बेला भएको तेस्रो लिखित समझदारी कृषि क्षेत्रसँग सम्बन्धित छ । ‘कृषिमा नयाँ साझेदारी’ नाम दिइएको यो समझदारीमा कृषि उत्पादन बढाउन प्रविधिको सहयोग आदान प्रदानका साथै अनुसन्धान, तालिम, पशुपालन, फार्मिङ, माटो परीक्षण आदि विषयहरुलाई समेटिएका छन् ।

नेपालका कृषि उपज अदुवा, अलैंची एवं तरकारीले भारतीय बजारमा हैरानी व्यहोर्नुपरिरहेको विषयलाई भने सम्झौताले सम्वोधन गरेको देखिँदैन ।

पाइपलाइन र एकीकृत भन्सार

लिखित तीन सम्झौताबाहेक ओलीको भारत भ्रमणमा भएको अर्को काम भनेको मोतीहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको संयुक्त उदघाटन हो । ओली र मोदी दुबैले गरेको यो पाइपलाइनको शिलान्यासको विषयलाई १२ बुँदे संयुक्त वक्तव्यमा उल्लेख गरिएको छ ।

त्यसैगरी वीरगञ्जमा भारतले बनाएको एकीकृत भन्सार जाँच चौकी मोदीले औपचारिकरुपमा नेपाललाई हस्तान्तरण गरेका छन्, जुन ओलीको भारत भ्रमणको अर्को उपलब्धि हो ।

महाकाली र अरुण तेस्रोदेखि उच्च कोशीबाँधसम्म

प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणका बेला महाकालीको पञ्चेश्वर परियोजना, अरुण -३ र उच्च कोशी बाँधका विषयमा कुनै बेग्लै सम्झौता भएन । ओली र मोदीको भेटमा जलपरियोजनाबारे कुनै पनि लिखित सम्झौता भएन । यसबारे संयुक्त वक्तव्यमा पनि केही उल्लेख गरिएन ।

तर, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो मौखिक मन्तव्यमा यसो भने- ‘प्रधानमन्त्री ओलीजीको साथमा मिलेर मैले जल संशाधन र उर्जा सम्बन्धी प्रोजेक्टहरुको पनि रिभ्यु गरें । हामी दुबै अरुण-३, पञ्चेश्वर र सप्तकोशी सुनकोशी जस्ता परियोजनाहरुको काममा गति बढाउनेबारे सहमत छौं ।’

भारतीय प्रधानमन्त्रीको यो भनाइले अरुण तेस्रोको शिलान्यास नगरिए पनि यसबारे ओलीसँग छलफल भएको देखिन्छ । त्यसैगरी पञ्चेश्वरबारे पनि कुरा भएको भनिएता पनि यसलाई कार्यान्वयउन गर्नेबारे भारतीय प्रतिवद्धता संयुक्त वक्तव्यमा आएको देखिँदैन । त्यस्तै मोदीले सप्तकोशी सुनकोशी परियोजनाबारे कुरा भएको भनेका छन्, कोशी उच्चबाँध नै हो कि हैन भन्ने यसबारे खुलाइएको छ ।

अलिखित कुराहरु केके भए ?

भारतीय प्रधानमन्त्री मोदीले दिएको वक्तव्यलाई आधार मान्ने हो भने सीमानामा भारतीय सुरक्षाको चासोबारे ओली र मोदीवीच कुराकानी भएको छ । नेपालमा थाती रहेका भारतीय परियोजना अन्तरगतका हुलाकी मार्ग, एकीकृत चेकपोष्ट आदिका विषयमा पनि समीक्षा भएको मोदीले बताएका छन् ।

दुई देशका प्रधानमन्त्रीहरुवीच भएको वन टु वान वार्ताको कुरा बाहिर आएका छैनन् । ओलीले नेपालको समृद्धिबारे आफ्नो ‘बोल्ड भिजन’ जानकारी गराएको मोदीले हर्षित हुँदै बताएका छन् ।

विगतमा भारतले नेपालको राजनीति र संविधान संशोधनको विषयमा आफ्नो रिजर्भेसन जनाउने गरेको थियो । यसपालि मोदीले त्यो गल्ती सच्याएको र नेपालको आन्तरिक राजनीतिमा कुनै ‘अब्जेक्सन’ जनाएको पाइएन ।

भारतले विगतमा जसरी संसिवधान सशोधन, मधेसको मुद्दा इत्यादि विषयमा चासो दिने गथ्र्यो, यसपटक त्यो सुनिएन । तथापिव एसडी मुनी लगायतका केही बुद्धिजीवीहरुले नेपालको तराईमा चीनले प्रजेक्ट लिएर आएको भारतलाई मन पर्दैन भन्दै परम्परागत दादागिरी देखाएका छन्। (हेर्नुहोस् एसडी मुनीको विश्लेषण)

दुई देशका प्रधानमन्त्रीले जारी गरेको संयुक्त वक्तव्यलाई हेर्दाखेरि नेपालले उठाउनुपर्ने आफ्नो सरोकारका मुद्दाहरु दह्रोसँग राखेको देखिँदैन । जस्तो कि भारतसँगको व्यापार घाटा कम गर्ने उपायहरु, नेपालले भारतीय बजारमा पाएका सास्ती, नोटबन्दीले नेपाललाई पारेको असर आदि विषयहरुमा कुराकानी भए/नभएको बाहिर खासै आएको छैन ।

भारतसँग भएका तीनवटा लिखित सहमतिहरु ठोसभन्दा अमूर्त प्रकारका छन् ।

तथापि यो भ्रमणको सबैभन्दा ठूलो उपलब्धि भनेकै ओली र मोदीवीचको सम्बन्ध सुधार नै हो ।

अब आगामी वर्ष भारतीय प्रधानमन्त्री मोदीले त्यहाँको लोकसभा चुनाव जितेर फेरि प्रधानमन्त्री बने भने विकास लक्षमा ओली-मोदी गठबन्धन राम्रैसँग जम्ने अनुमान गर्न सकिन्छ ।

यो भ्रमणमा भारतले ओलीलाई फकाउन र आफ्नो पुराना मित्र हुन् भनेर । प्रमाणित गर्न सफलता पाएको देखिन्छ । प्रधानमन्त्री ओलीले भारतको मुक्तकण्ठले प्रशंसा गर्न थालिसकेका छन् ।
अनलाइन खबरबाट

You might also like

Comments are closed.