Nepal's First Video FM

नेपाल-चीन रेलमार्गः प्रारम्भिक प्रतिवेदन तयार, कहिले आउला चिनियाँ रेल ? पढ्नुहोस

554

चैत २६, चीनसँग जोडिने रेलमार्ग निर्माणको सम्भावनाबारे प्रारम्भिक अध्ययन गरी त्यसले ओगट्ने क्षेत्रफल तथा सम्भावित लागतसहितको प्रतिवेदन तयार पारिएको रेल विभागका अधिकारीहरूले बताएका छन् ।

प्रधानमन्त्री केपी ओलीको हालै भएको भारत भ्रमणमा दक्षिणी छिमेकीबाट काठमाडौंसम्म रेल ल्याउने सम्झौता भएपछि करिब दुई वर्षअघि चीनसँग भएको यस्तै समझदारीको प्रगतिबारे पनि चासो बढेको पाइन्छ ।

अघिल्लो पटक ओली प्रधानमन्त्री हुँदा चीनसँग पारवहन सम्झौताका साथै अन्तरदेशीय रेल्वेबारे अध्ययन गर्ने समझदारी भएको थियो । त्यसै अनुरूप केही महिनाअघि एउटा उच्चस्तरीय चिनियाँ टोलीले नेपाल आएर अन्तरदेशीय रेलमार्गको सम्भाव्यताबारे प्रारम्भिक अध्ययन समेत गरेको थियो ।

यस विषयमा नेपालले पनि हालै एक प्रारम्भिक अध्ययन गरेको रेल विभागका वरिष्ठ डिभिजनल इञ्जिनियर प्रकाशभक्त उपाध्यायले बताए । उनले भने, “हामीले दुई हप्ताअघि एउटा प्रतिवेदन बनाएर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पेश गरेका छौँ ।”

केरुङबाट काठमाडौंसम्म करिब ७५ किलोमिटरको रेलमार्ग बनाउनु पर्ने उक्त प्रतिवेदनमा उल्लेख गरिएको छ । रेल विभागका अनुसार काठमाडौंबाट पोखराको दूरी झण्डै १ सय ८७ किलोमिटर लामो हुने र मुग्लिनबाट लुम्बिनीसम्म करिब १ सय ४० किलोमिटरको रेलमार्ग निर्माण गर्नुपर्ने देखिएको छ ।

कहिले आउला चिनियाँ रेल ?

जटिल भौगोलिक अवस्था भएका कतिपय स्थानदेखि केही समथर भूभाग समेत ओगट्ने सो महत्त्वाकांक्षी रेलमार्गको लागत स्थान हेरी फरक हुने उपाध्यायले बताए ।

उनले भने-“केरूङबाट काठमाडौं प्रतिकिलोमिटर करिब ४ अर्ब ५० करोड रूपैयाँ, काठमाण्डूबाट पोखरा करिब ३ अर्ब रुपैयाँ प्रतिकिलोमिटर लाग्ने देखिएको छ ।

मुग्लिनबाट चितवन हुँदै लुम्बिनी जाने हो । मुग्लिनबाट चितवनसम्म करिब ३ अर्ब रुपैयाँ प्रतिकिलोमिटर र त्यहाँबाट अगाडि करिब एक अर्ब २५ करोड रुपैयाँ लाग्ने देखिएको छ । ”

‘पाँच/छ वर्षमै नेपालमा चिनियाँ रेल’

यो खर्च प्रारम्भिक भएकाले परियोजनाले ठोस आकार लिएपछि त्यसमा निर्माण गर्नुपर्ने सुरूङ जस्ता पक्षले लागतमा फेरबदल आउन सक्ने बताइएको छ ।नेपालसँग रेलमार्गबाट जोडिन दुवै छिमेकी देशले तत्परता देखाएको विषयलाई कतिपयले ती दुई आर्थिक शक्तिबीचको प्रतिस्पर्धाका रुपमा चित्रण गरेका छन् ।
बीबीसीबाट साभार

You might also like

Comments are closed.