Nepal's First Video FM

धनकुटामा सुन्तला उत्पादन ३५ प्रतिशतले घट्यो

807

१८ माघ, धनकुटा जिल्लामा यस वर्ष ३५ प्रतिशतले सुन्तला उत्पादनमा कमी आउने देखिएको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार जिल्लामा अघिल्लो वर्ष जिल्लामा ५ सय ५५ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएकामा चार हजार ४ सय ४ मेट्रिक टन उत्पादन भएको थियो ।

सुन्तलाका बोटमा सिट्रस ग्रिनिड र चाइनिज फ्रुटफ्लाइको प्रकोप बढेसँगै बगैँचा नष्ट हुन थालेपछि उत्पादनमा कमी आएको हो । रोग किराको संक्रमण, जलवायु परिवर्तन एवं मूल्य बढ्ने आशामा किसानले नयाँ फूल खेल्ने समयसम्म बोटमा फल राख्ने गरेका कारण सुन्तला उत्पादन कमी आउने देखिएको जिल्ला कृषि विकास कार्यालयका प्राविधिक सूर्य सापकोटाले बताए ।

सुन्तला बगैँचामा रोग किराको संक्रमण नियन्त्रण गर्ने प्रविधि, माटोको उत्पादन शक्ति विकास गर्ने प्रविधि र पुराना बगान मासेर नयाँ बिरुवा लगाउन किसानलाई सल्लाह दिन थालिएको छ । जिल्लाको सुन्तला उत्पादन पकेट क्षेत्रमा समस्या विकराल बन्दै गएको भन्दै रोग नियन्त्रणका लागि सम्बन्धित निकायले अनुसन्धान शुरु गरेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख भरत बिडारीले बताए ।

रोगकिराको संक्रमण तथा फल लाग्ने समयमा खडेरी पर्नु र असिना परेका कारण सुन्तला उत्पादनमा कमी आएको हो । उत्पादन घटेसँगै स्थानीय बजारमा ७० प्रतिकिलोमा पाइने सुन्तलाको मूल्य बढेर १ सय ४० पुगेको छ । जिल्लाबाट गत वर्ष १५ करोड बराबरको सुन्तला अन्य जिल्लामा बिक्री गरिएको कार्यालयले जनाएको छ ।

शहीद भूमि र चौबिसे गाउँपालिका, धनकुटा, पाख्रिबास, महलक्ष्मी नगरपालिका, छथर जोरपाटी र साँगुरी गाउँपालिकाका विभिन्न क्षेत्रमा व्यावसायिक रुपमा सुन्तलाको खेती गरिँदै आएको छ । सातवटै स्थानीय तहमा कृषि सडक विस्तार भएसँगै उत्पादित सुन्तला सहज रुपमा बजारसम्म पुग्न सकेको छ ।

You might also like

Comments are closed.