चैत २६, पूर्वी पहाडी जिल्ला भोजपुर एक कार्यक्रमका बीच साक्षर जिल्ला घोषित भएको छ । ४७ औं जिल्लाका रूपमा भोजपुरलाई साक्षर जिल्ला घोषणा गरिएको हो ।
जिल्ला शिक्षा कार्यालय भोजपुरको तथ्याङ्क अनुसार १५ देखि ६० वर्षसम्म उमेरका नागरिक ९६.४३ प्रतिशत साक्षर रहेको पाइएकाले आइतबार जिल्लालाई प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले साक्षर जिल्ला घोषणा गरेका हुन् ।
मुख्यमन्त्री भएपछि पहिलोपटक गृह जिल्ला पुगेका मुख्यमन्त्री राईले प्रदेश नं १ लाई नमूना प्रदेश बनाउने भन्दै यातायात, स्वास्थ्य र शिक्षा पहिलो प्राथमिकतामा रहने बताए ।
उनले भने ‘प्रदेश नम्बर १मा धेरै कुराको सम्भावना छ, यसलाई नमुना प्रदेश बनाउने गरि नीति तथा कार्यक्रमहरू तयार गरिरहेको छु ।’ साथै जिल्लाको विगत देखिको सडक समस्या अब लामो समय सम्म नरहने उनको भनाई थियो ।
‘भोजपुरमा रहँदै आएको सडकको समस्या अब धेरै समय रहँदैन त्यसको काम तिव्र गतिमा भइरहेको छ, उनले भने । साथै उनले भोजपुर एयरपोर्ट देखि बजार सम्मका सडक निर्माण तत्काल शुरु हुने बताए । स्थानयि तहमा २५ शैया सम्मको अस्पताल निर्माण गर्नुपर्ने राईको भनाई थियो ।
जिल्लामा स्थानीय तह अनुसार साक्षरता प्रतिशत हतुवागढी गाउँपालिकामा ९५ दशमलव ७८, रामप्रसाद राई गाउँपालिकामा ९७ दशमलव ०८, ट्याम्केमैयुङ्ग गाउँपालिकामा ९६ दशमलव ७२, पौवादुम्मा गाउँपालिकामा ९५ दशमलव ९०, अरुण गाउँपालिकामा ९६ दशमलव ३२ र साल्पा सिलिछो गाउँपालिकामा ९५ दशमलव ६६ प्रतिशत रहेको जानकारी दिइएको छ । त्यस्तै भोजपुर नगरपालिकामा ९७ दशमलव ५८ र षडानन्द नगरपालिकामा ९६ दशमलव ३७ प्रतिशत रहेको छ ।
Comments are closed.