Nepal's First Video FM

गाडीको ठक्करबाट बेलायती सांसदको मृत्यु, घटनामा भूतपूर्व गोर्खा सैनिक दोषी ठहर

828

चैत २७, बेलायत स्थित एक अदालतले लापरवाही पूर्वक गाडी चलाउँदा एक वृद्ध तथा अपांग बेलायती सांसदको ज्यान गएको भन्दै भूतपूर्व गोर्खा सैनिकलाई दोषी ठहर गरेको छ ।

ओल्ड बेली अदालतले अपांग व्यक्तिहरुले चलाउने मोबिलिटी स्कुटरमा सवार ८७ वर्षीय लर्ड टेलर अफ ब्ल्याकबर्नलाई ठक्कर दिएको घटनामा भूतपूर्व गोर्खा सैनिक कुल पाण्डेलाई दोषी ठहराएको हो । फेल्थाम वेष्ट लन्डन बस्ने ५६ वर्षीय पाण्डेलाई २४ साता लामो निलम्बित जेल सजाय पनि सुनाइएको छ ।

गत १६ नोभेम्बर २०१६ का दिन बेलुका ६ बजे लण्डनस्थित हाउस अफ लर्डसको कार्यालयबाहिर जेब्रा क्रस पार गर्न खोजीरहेका बेला पाण्डेले चलाएको लरीले लेबर पार्टीका सांसदले चलाएको मोबिलिटी स्कुटरलाई ठक्कर दिएको थियो। उनको पछि अस्पतालमा उपचार हुँदै गर्दा निधन भएको थियो ।

अदालतमा बयान दिंदै पाण्डेले त्यसबेला पानी परिरहेको र अंध्यारो भएकाले आफूले स्पष्टसँग बाटो नदेखेको बताएका थिए । अरु मानिसहरुले सडक पार गरिसकेपछि आफू अघि बढेको पनि उनले बताएका थिए ।

न्यायाधीश अनुजा धीर क्यूसीले दोषी ठहर गर्दै भनिन्, ‘तपाईंले चलाइरहेको मोटरको आकार र त्यसदिनको मौसमलाई हेरेर तपाईं अरु बढी सावधान हुनुपथ्र्यो । तर, तपाईंले त्यसो गर्नुभएन।’ यद्यपी पाण्डेले साँच्चिकै पश्चाताप गरेकाले उनलाई निलम्बित सजाय दिइएको न्यायाधीशले बताइन् ।

पाण्डेको सवारी चालक अनुमतिपत्र तीन वर्षकालागि खारेज गरिएको छ र उनलाई २ सय घन्टा अवैतनिक सामाजिक सेवा गर्न भनिएको छ । रोयल गोर्खा राइफल्समा दश वर्षसम्म सेवा गरेका पाण्डे सामान पुराएर फर्कंदा सो दुर्घटना भएको थियो । चालक पाण्डेले प्रहरीसंग त्यतिबेला अंध्यारो र अत्यधिक पानी दर्किरहेकाले आफूले बाटो नदेखेको बयान दिएका थिए । kantipurdaily

You might also like

Comments are closed.