२८ चैत, बुटवल । रुपन्देहीमा विद्यालय समायोजन हुने क्रम बढ्न थालेको छ । उत्कृष्ट सामुदायिक विद्यालय कालिका मावि र मानव ज्ञान मावि एक आपसमा समायोजना भएर मुलुककै ठूलो विद्यालय बनेको दुई हप्ता नबित्दै तिलोत्तमा नगरपालिकामा चार वटा सामुदायिक विद्यालयहरु समायोजन भएका छन् ।
नगर शिक्षा समितिको सिफारिसलाई अनुमोदन गर्दै नगरकार्यपालिकाको १८ औं बैठकले नयाँ शैक्षिक सत्रबाट कार्यान्वयनमा आउने गरी चार वटा विद्यालय समायोजन गर्ने निर्णय गरेको हो ।
यसरी समायोजन हुने विद्यालयहरुमा वडा नं. १ को प्रगति, वडा नं. ८ को भद्रकाली, वडा नं. १४ को नर्मदेश्वर खैरिया र वडा नं. १६ को बोहिया आधारभूत विद्यालय छन् ।
विद्यालयहरुलाई नजिकका क्रमशः शंकरनगर दुर्गादत्त मावि, ज्योती आधारभूत विद्यालय, टिकुलिगढ मावि र पशुपति नमूना माविमा समायोजन गरिएको नगर प्रमुख बासुदेव घिमिरेले जानकारी दिए ।
वर्षौंदेखि न्यून विद्यार्थी भएका विद्यालयहरु तिलोत्तमामा पहिलो पटक समायोजनमा परेका हुन् । विद्यालयहरुलाई अघिल्ला वर्षहरुमै समायोजन गर्ने तयारी भए पनि त्यो पूरा हुन सकेको थिएन ।
कार्यपालिकाको बैठकले समायोजनमा परेका विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको विद्यालय पहुँचलाई थप सुनिश्चित प्रदान गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्ने निर्णय समेत गरेको छ ।
कार्यपालिका बैठकले विद्यार्थी संख्या, शैक्षिक उपलब्धि र गुणस्तर बढाउन विभिन्न विद्यालयहरुलाई सचेत गराउँदै सामुदायिक विद्यालय सुधार योजना अघि बढाउने निर्णय गरेको छ ।
सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि भौतिक पूर्वाधारलगायतका क्षेत्रमा नगरपालिकाले तत्काल केही सुधारका काम अघि बढाउन थालेको नगर शिक्षा समिति सदस्य समेत रहेका प्रवक्ता सुरेन्द्र श्रीले जानकारी दिए ।
कार्यपालिका बैठकले निजी तथा संस्थागत विद्यालयहरुले प्रदान गर्नुपर्ने छात्रवृत्तिलाई पारदर्शी र प्रभावकारी बनाउन छात्रवृत्ति मापदण्ड तयार गर्ने निर्णय गरेको छ ।
निजी विद्यालयहरुले तोकिएको छात्रवृत्ति जेहेन्दार, गरीब, विपन्न, सीमान्तकृत, अल्पसंख्यक समुदायका बालबालिकालाई प्रदान नगरेको गुनासो बढिरहँदा तिलोत्तमा नगरपालिकामा निजी विद्यालयले प्रदान गर्ने छात्रवृत्तिमा कडाई गर्न मापदण्ड बनाउन थालिएको हो ।
र्यपालिका बैठकले शिक्षा नियमावलीमा भएको छात्रवृत्तिको व्यवस्थालाई यथावत् राख्दै ८६ जना गरिब, विपन्न एवं जेहेन्दार विद्यार्थीलाई नगरभित्रका निजी विद्यालयमा पूर्ण छात्रवृत्तिका लागि तत्काल सिफारिस गर्ने निर्णय गरेको छ ।
कार्यपालिका बैठकले शिक्षा नियमावली २०७४ को नियम ५ को उपनियम १९ मा भएको व्यवस्थाअनुसार एक सामुदायिक विद्यालयसहित आठ विद्यालयलाई तह तथा कक्षा थप गर्न शिक्षा समितिले गरेको सिफारिसलाई अनुमोदन गरेको छ ।
यस्तै नयाँ शैक्षिक सत्रमा अनिवार्य आधारभूत शिक्षाका लागि विद्यार्थी भर्ना, विद्यालय स्वागत तथा विद्यार्थी टिकाउ र सिकाइ उपलब्धिमा सुधार कार्यक्रम सबै विद्यालयहरुमा लागु गर्ने भएको छ ।
तिलोत्तमाको शिक्षा नियमावलीमा विद्यालय उमेर पुगेका बालबालिकालाई विद्यालय नपठाउने अभिभावकलाई स्थानीय तहबाट उपलब्ध गराउने सेवा सुविधाबाट वञ्चित गराउन सक्ने व्यवस्था छ ।onlinekhabar
Comments are closed.