चैत २८, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले उद्योग व्यवसाय क्षेत्रमा अत्याधुनिक मोडल प्रयोग गरेर देशलाई अघि बढाउनु पर्ने बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघको ५२ औं वार्षिक साधारण सभा एवं उद्योग वाणिज्य दिवसको बुधबार उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री ओलीले नेपालले दुई वर्षभित्र औद्योगिक क्षेत्रमा उल्लेख्य प्रगति गर्ने बताउनुभएको हो ।
‘अब हामीले अन्यत्र काम नलाग्ने भइसकेका सीप, प्रविधि भित्र्याएर होइन बिल्कुलै नयाँ प्रविधि प्रयोग गरेर देशलाई अघि बढाउनु पर्दछ’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘यस्तो प्रविधि हरेक क्षेत्रमा उपयोग गर्नुपर्दछ ।’ प्रधानमन्त्री ओलीले सबै क्षेत्रले आफ्ना प्रयासहरुलाई विकास र समृद्धितर्फ केन्द्रित गर्नुपर्ने बताउनुभएको छ ।
प्रधानमन्त्री ओलीले नेपालमा चाँडै रेल सेवा सञ्चालन हुने भएकोले त्यसबाट फाइदा लिने गरी तयारी गर्न व्यवसायीहरुलाई आग्रह गर्नुभएको छ । ‘अब चाँडै रक्सौल–काठमाडौं रेल सेवा सञ्चालन हुन्छ । रक्सौलबाट आउँदा रेल भरिएर आउने जाँदा रित्तै जाने स्थिति हुनु हुँदैन’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘काठमाडौंबाट फर्कँदा पनि रेल भर्नका लागि निर्यातजन्य उत्पादनमा लाग्नुहोस् ।
उज्यालाे बाट
Comments are closed.