Nepal's First Video FM

काँग्रेस हार्ने सबैलाई थाहा थियो, काँग्रेस आफैलाई थाहा भएन

298

ratopati पूर्वराजदूत डा. शम्भुराम सिम्खडाजनआन्दोलन–२ ताका नेपाली काँग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाका परराष्ट्र सल्लाहकार थिए । शान्ति प्रक्रियापछि सेना समायोजन विशेष समितिमा काँग्रेसको तर्फबाट सदस्य भएका सिम्खडाले त्रिविमा द्वन्द्व व्यवस्थापन विषयमा प्राध्यापन पनि गर्छन् । पूर्वपरराष्ट्र मन्त्री डा. प्रकाशशरण महतको कार्यकालमा गठन गरिएको परराष्ट्र नीति पुनरावलोकन कार्यदलका सदस्य समेत बनेका सिम्खडासँग नेपाली काँग्रेसको वर्तमान अवस्था, वामसरकार र विदेश नीतिका विषयमा लिलु डुम्रेले गरेको वार्तामा आधारित लेख ।

काँग्रेसको आन्तरिक व्यवस्थापन शून्य अवस्थामा छ

अहिलेसम्मका परिवर्तनको अगुवाइ गरेको नेपाली काँग्रेसले हो । परिर्वतनको अगुवाइ गर्ने दल यस्तो हालतमा पुगेको अवस्थालाई विभिन्न सन्दर्भमा मैले प्रष्ट रूपमा व्याख्या गर्दै आएको छु । त्यसलाई मैले अङ्ग्रेजीमा म्याप डिफिसियट भन्ने गरेको छु । म्याप छोटकरी रूप हो । ‘एम’ भन्नाले म्यानेजमेन्ट अर्थात् आन्तरिक पार्टी व्यवस्थापनलाई ‘एम’ भन्ने गरेको छु । काँग्रेसको आन्तरिक व्यवस्थापन शून्य अवस्थामा छ । यत्रो ठूलो दल यसरी पनि चल्छ, कहीँ ?

प्रधानमन्त्री ओलीको भारत भ्रमणबारे काँग्रेसका दुई नेताको फरक फरक धारणा आएका छन् । एकले भ्रमण सफल भएको भनेका छन्, अर्कोले भ्रमण केही काम लागेन भनेका छन् । एउटै दलमा पनि भ्रमणलाई लिएर फरक फरक दृष्टिकोण आएको छ । तर मैले काँग्रेसमा यसलाई नयाँ रूपमा लिएको छैन । किनकि आन्तरिक व्यवस्थापन नै छैन । जनताले इतिहासको आधारमा सहयोग गरेको पार्टी हो । सबै परिवर्तन काँग्रेसले ल्याएको भनेर जनसमर्थन पाउँदै आएको हो तर इतिहासले सधैंलाई काँग्रेस चल्दैन । इतिहासलाई वर्तमानसँग जोड्नुपर्छ । अनि मात्रै भविष्य उज्ज्वल हुन्छ ।

इतिहासलाई भँजाएर मात्रै सधैं सम्भव त हुन्न । इतिहास अनुसारको काम हुन प¥यो नि । समय अनुसार दलको व्यवस्थापन हुनुप¥यो नि । अन्य दलसँग प्रतिस्पर्धा गर्न सक्नुप¥यो नि । पार्टी कार्यालयको व्यवस्थापन चुस्त छैन । मुख्य सचिवलाई अधिकार दिएर व्यवस्थापन मजबुत बनाउन सकिन्छ । पार्टी व्यवस्थित भयो भने नेताहरू भाषण गरेर हिँड्न समयको व्यवस्थापन हुन्छ । अव्यवस्थाको नमुना काँग्रेसमा छ ।

२१औं शताब्दीको राजनीतिक दल पनि यसरी चल्न सक्छ ? प्रख्यात विद्वान बेन्जमिन डेजरे के भनेका छन् भने राजनीतिक पार्टी भनेको व्यवस्थित विचारको प्रस्तुतकर्ता हो । व्यवस्थित विचारका लागि दलभित्र छलफल हुनुपर्छ । प्रधानमन्त्रीको भारत भ्रमण भएको छ, त्यसले देश र काँग्रेसलाई कसरी असर गर्छ भन्ने विषयमा पार्टीभित्र छलफल हुनुपर्दैन ? भ्रमणमा जानु अघि काँग्रेसको मिडियामा प्रस्तुत हुने गरी दलले व्यवस्थापन नै गरेन । व्यवस्थापन नभएकै कारण भ्रमणपछि उपल्लो तहका नेताका फरक फरक धारणा आए । आन्तरिक व्यवस्थापन नभएपछि आम जनमानसले ‘काम नलाग्ने’ पार्टी भन्छन् ।

१३औं महाधिवेशन सकिएको दुई वर्ष कटिसक्यो । विभागहरूले पूर्णता पाएका छैनन् । केन्द्रीय समितिका पदाधिकारी चयन गरिएको छैन । कस्तो सभापति ? कस्तो पार्टी ? एक जनाले चलाउने त होइन नि । राजनीति भनेको सामूहिक खेल हो । एक्लो वा गुटको खेल होइन राजनीति । काँग्रेसको व्यवस्थापन कारण नै देउवाको सरकारमा हुँदाहुँदै माओवादीले काँग्रेसलाई छोड्यो । एमालेसँग मिलेको पार्टी नेतृत्वलाई थाहा पनि भएन । आफ्नै सरकारमा सहभागी दल अर्को दलसँग मिल्न गएको अत्तोपत्तो नहुने कस्तो नेतृत्व ?

दोस्रो विषय– एरिथम्याटिक । दोस्रो र तेस्रो दल मिलेपछि काँग्रेस हार्ने सबैलाई थाहा थियो । हामी किन हार्यो ? बाहिरी वा भित्री कारणले के कारणले पराजय भोगियो । त्यसलाई जवाफ दिनुपर्ने हो । अहिलेको काँग्रेस विचारविहीन छ । काँग्रेस हार्ने सबैलाई थाहा थियो । तर, नेपाली काँग्रेसलाई थाहा भएन ।

तेस्रो विषय– पोलिसी । प्रधानमन्त्रीय प्रणालीमा सरकारको जसअपजस अन्ततः प्रधानमन्त्रीमा आएको हुन्छ । चुनावी मुखमा प्रधानमन्त्रीले लिएका नीतिहरूले काँग्रेसको दुरावस्था भयो ।

नेपाली काँग्रेस वर्तमानमा प्रतिपक्ष मात्रै होइन, कमजोर प्रतिपक्षका रूपमा छ । पराजित भएको समयमा दल अरू विभाजित र विभक्त हुनु हुँदैन । दलको पराजय हुन्छ भन्ने जान्दाजान्दै पार्टीभन्दा देश ठूलो भनेर काँग्रेसले निर्वाचन गरायो । सफलतापूर्वक निर्वाचन सम्पन्न भयो । राजनीतिमा दुईमा दुई जोड्दा तीन वा पाँच पनि हुन सक्छ । पाँच वा तीन भएको बुझाउनु कति सशक्त रूपमा प्रस्तुत सकिन्छ, त्यसमा भर पर्छ । काँग्रेसको कमजोरी नै सशक्त प्रस्तुत गर्न नसक्नु हो । सभापतिले देश र जनताका लागि भनेर चुनाव गराएँ भन्न पनि सक्नुभएन । आफ्नो कुरा राख्न नसक्ने पनि नेतृत्व हुन्छ ?

अहिलेसम्मको नेपाली काँग्रेसको संस्कृति भनेकै यसै चल्छ भन्ने छ । नेपालको इतिहासको गौरवशाली पार्टी वा मैले ‘ध्वजावाहक पार्टी’ भन्ने गरेको छु । जनताले वारम्बार पत्याएको दल पनि नेपाली काँग्रेस हो । अत्यन्तै सक्रिय कार्यकर्ता पनि छन् । दरिलो अन्तराष्ट्रिय समर्थन पनि छ । सबैतिरबाट साथ र समर्थन रहेको दल वर्तमान अवस्थामा कसरी आयो ?, उच्च नेतृत्वले सोच्ने बेला आएको छ । आचरण र व्यवहार नेतृत्वमा सुधार आएन । सशक्त भूमिका अध्ययन, दलमा ब्रिफिङ र होमवर्क शून्य सरह छ । व्यवस्थित विचारको सङ्गठित रूपलाई पार्टी भनिन्छ । अव्यवस्थित कार्यप्रणाली नेपाली काँग्रेसमा छ । जसको कारण दलको वर्तमान अवस्था देखिएको छ ।

सभापतिले निर्वाचन गराएको जस लिन सक्नुपर्छ । साथै पार्टी पराजय भएको नैतिक जिम्मेवारी पनि सभापतिले लिनुपर्छ । अब काँग्रेसको पुनर्जीवनका लागि आफ्ना एजेन्डा जनतासामु राख्नुपर्छ । जबरजस्ती कुर्सीमा टाँसिएर बस्ने सभापतिको प्रवृत्ति गलत छ । पार्टीको वर्तमान हालको जिम्मेवार म नै हुँ भन्न सक्नुपर्छ देउवाले । देउवाले सदासयता देखाउन सकेको भए उहाँलाई नै शङ्काको लाभ प्राप्त हुने थियो । देउवाको बोली विकाउने साहस नै छैन । विचार भएर नै बोली विकाउने हो । नेतृत्वमा आदर्शको उदारता छैन । राजनीति आदर्शले टिकेको हुन्छ ।

युवा पुस्तालाई नेतृत्व दिनुप¥यो भनेर बजारमा जुन हल्ला पिटिएको छ, त्यसको समर्थन गर्दिनँ । पुरानो अनुभव चाहिन्छ । इतिहास चाहिन्छ । नेतृत्वका लागि त प्रक्रिया हुन्छ नि । नेतृत्वले सबैलाई समान व्यवहार नगरेपछि गुट जन्मिने हो । सभापति तटस्थ हुनुपर्छ । हरेकमा महत्वकाङ्क्षा भएकाले तटस्थताको सम्भावना देख्दिनँ । देशमा परिवर्तन भयो तर नेपाली काँग्रेसमा प्रजातान्त्रिक संस्कार र संस्कृति विकास हुन सकेन ।

भनिन्छ– राजनीतिमा एक साताको समय पनि धेरै हुन्छ । नेपाली काँग्रेस पुनर्ताजगी हुन समय लाग्छ । यसै अनुरूप काँग्रेस सञ्चालन भइरहने हो भने अझ ओरालो लाग्छ । पहिले विचार चाहियो । विचारलाई सशक्त रूपमा प्रस्तुत गर्ने नेतृत्व आवश्यक पर्छ । विचारलाई कार्यकर्ता कहाँ पु¥याउनुपर्छ । १४औं महाधिवेशनमा पनि देउवा नै सभापतिको प्रत्यासी बन्ने सम्भावना छ । देउवाले नै फेरि इच्छा देखाए भने काँग्रेसका लागि शुभ हुँदैन । गुटको राजनीति माथिदेखि तलसम्म छ । पुरानो नेतृत्वले सल्लाहकार परिषद् बनाई बस्ने हिम्मत गर्नुपर्छ । सभापतिले छाडे हुने हो । छाड्नुहुन्न । उहाँको नेतृत्वमा काँग्रेस अगाडि जानसक्दैन । विगतका नेताहरूले सत्ता र शक्तिका लागि मरिहत्ते गरेका थिएनन् । पछिल्लो समयमा काँग्रेस नेतृत्वले त्याग देखाउन सकेको छैन । शक्ति प्राप्त भएपछि त्याग गरेर पनि देखाउनुपर्छ । व्यक्तिभन्दा पार्टी महत्वपूर्ण भएकाले पार्टीको लागि पछाडि बसेर सहयोग गर्छु भन्ने विचार सभापतिमा पलाउनुपर्छ । गुटको नेतृत्व फरक फरक समूहले गर्दै आएका छन् । एकले गुटलाई संरक्षण गर्छ भने अर्कोले पनि त्यस्तै विधि अपनाउँछ ।

राजनीति सञ्चालन सामूहिक अभियान हो । राजनीति त रिले रेसजस्तै हो । पहिलोले दोस्रोलाई हस्तान्तरण गर्दै अगाडि बढ्ने हो । नेपाली काँग्रेसमा दोस्रोलाई छोड्ने परम्परामा समस्या छ । काँग्रेसले धेरै संस्कृति परिवर्तन गर्नुपर्छ । नेतृत्वले गलत बाटो देखाएको परिणति यस्तै हुन्छ । सिद्धान्तमा काँग्रेसमा समस्या छैन । मुख्य समस्या उच्च आचारण र व्यवस्थापन नहुनु हो ।

इतिहासलाई सबै कालो देखाउने प्रयत्न गरे वाम सरकार दलदलमा फस्छ
०४६ सालपछिको नेपाली काँग्रेस र गिरिजाप्रसाद कोइराला, ०६२/०६३ पछिको माओवादी र प्रचण्डको राजनीतिक धरातलजस्तै अहिले एमाले र ओलीको छ । सुखी नेपाली, समृद्ध नेपाल हुनका लागि जनतामुखी कार्यक्रम हुनुपर्छ । नेपालमा शक्तिमा हुनेहरूको सुखलाई नै लक्ष्य बनिरहेको छ । राजनीतिक माहोल वाम सरकारका पक्षमा छ । दुई दलको एकीकरण प्रक्रियाले पनि सरकार सञ्चालनमा प्रभाव पर्नसक्छ । सत्ताको दुरूपयोग गरियो भने वाम सरकार पनि दिगो हुँदैन । लक्ष्य हासिल गर्नका लागि प्रतिपक्षलाई पनि साथमा लिनुपर्छ । राष्ट्र हितका लागि सुशासनको अनुभूति दिलाउन सक्नुपर्छ । वाम सरकारको परीक्षा बाँकी छ ।

निर्वाचनमा जित निकाल्नु पहिलो पाइला हो । पहिलो पाइलामा उत्कृष्टता देखिएको छ । पहिलो पाइला राम्रो हुने वित्तिकै भोलि सबै राम्रो हुन्छ भन्ने छैन । परीक्षामा उत्तीर्ण हुने कि नहुने अबका गतिविधिले निर्धारण गर्छ । एक पक्ष इतिहासलाई छोड्नै नसक्ने छ भने अर्को पक्ष इतिहाससँग कुस्ती मात्रै खेल्ने छ । इतिहास भनेको कालो मात्रै थियो जस्तो गरिरहनुभएको छ । इतिहास सबै कालो थियो, सबै हामीले गरेको भन्दै जस लिन खोजे वाम सरकार दलदलमा फस्छ ।

आगामी सरकारहरूले लिनुपर्ने परराष्ट्र नीतिका विषयमा १२ सदस्य कार्यदलले पुनरावलोकन प्रतिवेदन बुझाइसकिएको छ । उच्च स्तरीय कार्यदलको सदस्यका रूपमा मैले पनि कार्य गरेको थिएँ । विस्तृत अध्ययन गरेर सरकारलाई रिपोर्ट बुझाइएको थियो । दुइटा छिमेकीसँग हाम्रो परराष्ट्र नीतिको मुख्य चुनौती नै अत्यन्तै समधुर सम्बन्ध कायम गर्नु हो । अर्को विषय दुई छिमेकीको बीचमा एउटा वा अर्कोको साइड नलिई दुईटैसँग नजिकको सम्बन्ध राख्नु हो ।

वाम सरकारले कूटनीतिलाई समृद्धिसँग जोड्ुनुपर्छ
सुझाव प्रतिवेदनलाई पहिलो प्राथमिकता भनेर किटान गरिएको छ । नेपालको अन्तर्राष्ट्रिय छवि सुधार्नुपर्नेछ । कूटनीतिलाई विकाससँग जोड्नुपर्छ । कूटनीतिलाई समृद्धसँग जोड्ने अर्को महत्वपूर्ण पाटो हो । थप विषय के भने नेपालीहरू रोजगारीका लागि विदेशमा छन् । रोजगारीका लागि विदेशिएकाहरूको स्थिति पनि राम्रो बनाउनुपर्ने छ । छिमेकी दुई देशका विषयमा कहिलेकाहीँ समभाव र समदुरीको शब्दावलीहरू पनि प्रकट हुने गरेका छन् । तर शब्दावलीमा अल्झनु उपयुक्त हुँदैन भन्ने लाग्छ । समदुरी र समभाव भन्ने हुँदैहुँदैन । हरेक राष्ट्रको अर्को देशसँग बेग्लै किसिमको सम्बन्ध हुन्छ । छिमेकीसँग प्राकृतिक सम्बन्ध भन्ने गरेको छु । भारत र चीनसँग प्राकृतिक सम्बन्ध पनि जोडिएको छ । समभाव, समदरी र सन्तुलन मेरो शब्दावलीमा छैनन् ।

नेपालको समस्या भनेकै सरकार अनुसार विदेश नीति परिवर्तन हुने गरेको छ । यो हाम्रो ०४६ पछिकै समस्या हो । पञ्चायतमा सत्ता र शक्तिका लागि प्रतिस्पर्धा थिएन । व्यक्तिगत रूपमा पञ्चहरू चुनाव लड्ने गर्थे । बहुदल आएपछि आन्तरिक सत्ता र शक्तिका लागि पार्टी पार्टी बीचका रूपमा संस्थागत प्रतिस्पर्धा हुन लाग्यो । बहुदलीय प्रतिस्पर्धा स्वभाविक पनि हो । आन्तरिक राजनीति जब विदेश नीतिमा गएर ठोकिन्छ, त्यतिबेला प्रमुख राजनीतिक शक्तिहरूको बीचमा न्यूनतम सहमतिको वातावरण हुनैपर्छ । सरकार अनुसार विदेश नीति परिर्वतन भएमा नेपालको विश्वसनीयता गुम्दै जान्छ । राष्ट्रिय स्वार्थका लागि सबै दल एक ठाउँमा हुनैपर्छ ।

पछिल्लो पटक प्रधानमन्त्रीको भ्रमणलाई सर्सती हेर्दा सफल भएको जस्तो देखिन्छ । तर दुई कुरामा भ्रमण सफल भए नभएको भर पर्दछ । पहिलो– अहिलेका प्रधानमन्त्रीको भारतसँगको सम्बन्ध वास्तवमै सुधारिएको हो÷होइन । आगामी दिनका कार्यसञ्चालनले देखाउँछ । ओली र मोदीका आगामी दिनका भाव र परिणामले देखाउँछ । दोस्रो– अहिले जति पनि सम्झौता भएको छ । तिनको कार्यान्वयन कति प्रभावकारी रूपमा हुन्छ । तात्विक रूपमा सम्बन्धमा परिवर्तन भए÷नभएको आगामी समयले निक्र्यौल गर्छ । तदारुकताका साथ सम्झौताहरूको कार्यान्वयनमा भएमा सम्बन्ध नयाँ उचाइमा पुगेको मान्न सकिन्छ ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.