Nepal's First Video FM

अब हेर्दै जानोस्, अब शेरबहादुरजीकाे कुनै चान्स छैन

548

onlinekhabar आगामी महाधिवेशनमा शेरबहादुर देउवा समूह पराजित हुने पक्कापक्की भएको नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले दाबी गरेका छन् ।
शुक्रबार अनलाइनखबरसँग कुराकानी गर्दै डा. कोइरालाले भने- ‘अहिले रामचन्द्रजी, अर्जुननरसिंह केसी, कृष्णप्रसाद सिटौलाजी, प्रकाशमान सिंह, रामशरण महत र हामी बसेर छलफल गरिराखेका छौं । शिक्षक संघदेखि लिएर सबैमा देखियो, अब विस्तारै हेर्दै जानोस् । हिजै काठमाडौंमा ट्रेड युनियनको चुनाव भो । उहाँहरुले जित्नुभएन ।’

कांग्रेस सभापति देउवाले आफ्नै अगाडिको भित्तामा लेखिएको समेत देख्न नसकेको डा कोइरालाले आरोप लगाए । ‘त्यो भन्छ नि, राइटिङ अन द वाल । हेर्न सक्नुपर्‍यो शेरबहादुरजीले,’ कोइरालाले भने, ‘अब पुरानो ढर्राबाट कांग्रेस चल्नेवाला छैन । कुनै चान्स छैन यसचोटि ।’

अन्तरवार्ताका क्रममा हामीले डा. कोइरालालाई प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणदेखि लिएर चुनावका प्रतिद्वन्द्वी लालबाबु पण्डितका बारेमा समेत प्रश्नहरु गर्‍यौं ।

तपाईले प्रतिनिधिसभामा जित्नुभएन । अब संसदमा भूमिका खेल्ने कुरा पनि भएन । अबको पाँच वर्ष तपाईको राजनीतिक भूमिका के हुन्छ ?

अहिले नेपाली कांग्रेस सांगठानिकरुपमा अत्यन्त कमजोर छ । त्यो संगठनलाई कसरी मजबुत गर्ने भन्नेमा म गइरहेको छु ।
अहिले हामी नेपाली कांग्रेस एकात्मक संरचनामै छौं, संघात्मक संरचनामा गएका छैनौं । म जिल्ला जिल्लामा घुम्दैछु । अहिले केन्द्रदेखि प्रदेशहरुमा नेपाली कांग्रेसको प्रतिनिधित्व नै छैन भने पनि हुन्छ, ज्यादै न्यून प्रतिनिधित्व छ । कार्यकर्ताहरु अत्यन्त निराश छन् । हतोत्साही छन् । तिनीहरुलाई उत्साह प्रदान गर्ने र निरुत्साही नहुन् भन्नका निम्ति मेरोतर्फबाट म जति सक्छु गरिराखेको छु ।

यसका लागि छिटोभन्दा छिटो चौधौं महाधिवेशन भएर अगाडि जाओस् भन्ने मेरो चाहना हो । यसका लागि म दौडिइराखेको छु । क्षेत्रहरुमा गइराखेको छु । आफ्नै चुनाव क्षेत्रमा पनि दुईवटै प्रदेश सांसदहरुसँग कुरा भइराखेको छ । मैले चुनावका बेला जनतामा गरेका प्रतिवद्धता आगामी बजेटमा राखिदिनोस् भनेर अर्थमन्त्रीलाई भन्ने तयारीमा छु ।

बजारमा त प्रतिपक्षको भूमिकामा कांग्रेस कमजोर भो भन्ने चर्चा चलिरहेको छ नि ? किन यस्तो भएको ?

म पनि त्यस्तै देखिराखेको छु । संसदमा गर्नुपर्ने कामहरु र अडान लिनुपर्ने कुराहरुमा हामी कता कता अलिकति चुकेका हौं कि जस्तो देखिन्छ ।

जस्तो- संविधानतः उपसभामुख र सभामुख एउटै पार्टीको हुनुहुँदैन भनिएको छ । उहाँहरु अहिले दुईवटा पार्टी भए पनि एउटै घोषणापत्रबाट आउनुभएको छ । भोलि पार्टी एकता हुनेवाला छ । उहाँहरुले उपसभामुख कांग्रेसलाई दिनुपर्छ मैले भनिराखेको छैन, तर यसलाई उहाँहरुले अर्को पार्टीलाई सदासयता देखाएको भए पनि हुन्थ्यो । उहाँहरुले यसमा नैतिकता देखाउन सक्नुपर्दथ्यो । यस विषयमा नेपाली कांग्रेस पनि संसदमा चुक्यो ।

अब पार्टी एकतापछि वामपन्थी दलले सभामुख वा उपसभामुखबाट राजीनामा दिनैपर्छ भन्ने तपाईको भनाइ हो ?

राजीनामा गर्नैपर्छ । यसमा कांग्रेसले अडान लिनुपर्छ ।

प्रतिपक्षको भूमिका कमजोर हुनुमा सरकारको हनिमुन अर्थात् सय दिनलाई पर्खिएर यस्तो भएको हो कि ?

पर्खिनुहुँदैन । यस्ता ईस्युहरुमा हामीले पर्खिनुहुँदैन ।

निर्वाचनको पराजयपछि नेपाली कांग्रेसभित्र नेतृत्व परिवर्तन हुनुपर्छ भन्ने मुद्दा पनि उठ्यो । यसमा तपाईको लाइनचाहिँ के हो ?

सबै राजनीतिक दल र नेतृत्वहरुमा नैतिकता हराएको देख्तैछु म । नैतिकता भनेको त व्यक्तिमा निर्भर गर्छ, संस्थामा निर्भर गर्दैन । हामी चुनावमा पराजित भयौं, नेतृत्वले छाड्नुभएन । ठिकै छ, छाड्नुभएन, तर स्वीकार्नु त पर्‍यो । हामी चुनाव हार्‍यौं भनेर स्वीकार्नुपर्‍यो नि । हामी अब यसरी अगाडि जान्छौं भन्नुपर्‍यो । सभापतिजीले व्यक्ति हारेको भनेर अभिव्यक्ति दिनुभो ।

त्यस्तो व्यक्ति हो भने त हामी स्वतन्त्र उम्मेदवार भएर उठिहाल्थ्यौं नि, रुखको चिह्न त नेपाली कांग्रेसको हो नि । त्यसैले पार्टी हारेको हो भन्ने रियलाइएजेसन नेतृत्वलाई हुँदैन, सुधारको क्रम सुरु हुँदैन । पार्टी हारेको भन्ने जुन दिन उहाँले रियलाइज्ड गर्नुहुन्छ, त्यो दिनदेखि सुधार पनि सुरु हुन्छ ।

भनेपछि तपाईको लाइन भनेको चुनावमा पार्टीको हार भएको कुरा पार्टी नेतृत्वले महसुस गर्नुपर्‍यो, अनि सुधारको बाटोमा अघि बढ्नुपर्‍यो भन्ने हो ?

हो । तर, यो कुरा उहाँहरुले बुझिरहनुभएको छैन । उहाँका वरिपरिका साथीहरुले पनि बुझेको मैले देखिरहेको छैन । सबैभन्दा सिरियस कुरा यही हो । सबैभन्दा पहिले हामीबाट मिस्टेक भो, हामीले चुनाव हार्‍यौं, हाम्रो संगठन कमजोर छ भन्ने महसुस गर्नुपर्‍यो । त्यसपछिमात्र सुधारको प्रक्रिया सुरु हुन्छ । तर, उहाँहरु यसैमा रमाउनुहुन्छ कि हाम्रो पपुलर भोट ३५ प्रतिसत छ, ३२ पर्सेन्ट समानुपातिक भोट छ भनेर रमाउनुभयो भने त कमजोर भइहालियो नि ।

नेपाली कांग्रेसमा नेतृत्व परिवर्तनको मागजस्तै चाँडै विशेष महाधिवेशन गर्नुपर्ने अर्को माग पनि छ हैन ? यसमा तपाईको धारणा के छ ?

कुरा के हो हाम्रो पार्टीको एकात्मक संरचना छ, संघीय संरचनामा देश गइसक्यो । मेरै क्षेत्रमा अहिले ३/३ वटा क्षेत्रीय सभापतिहरु छन् । अहिले हाम्रो केन्द्रीय समिति चलिरहेको छ । यो केन्द्रीय समितिले छिटो भन्दा छिटो विधान संशोधन समिति बनाओस् । जसलाई बनाओस्, त्यसमा मलाई आपत्ति छैन । महासमिति बैठकको मिति पनि चाडै तोकियोस् । म त बैसाखको सुरुमै गरौं भन्ने पक्षमा थिएँ, तर, उहाँहरुले मान्नुभएन । जब जेठ असारमा जहिले गर्नुहोला, दुई तिहाईले विधान संशोधन गर्नुपर्ने हुन्छ । र, विधान संशोधन भइसकेपछि चौधौं महाधिवशेनको तयारी त्यही महासमितिले गरोस् भन्ने मेरो चाहना हो ।

तर, शेरबहादुरजी र वहाँका वरिपरिका मानिसहरुको चाहनाचाहिँ के छ भने विधान संशोधन गरिसकेपछि त्यो विधान अहिले नै लागु गर्दिने अनि समय लम्ब्याएर चौधौं महाधिवेशन गर्ने भन्ने उहाँहरुको सोच छ । यस्तो सोचले नेपाली कांग्रेसलाई हित गर्दैन, कमजोर बनाउँछ । जुन विधान संशोधन हुन्छ, त्यो चौधौं महाधिवेशनदेखि लागू हुनुपर्‍यो भन्ने हाम्रो भनाइ हो ।

आगामी महाधिवेशनमा देउवापक्ष, रामचन्द्र पौडेल पक्ष वा कोइरालापक्ष मध्ये को अगाडि आउला ? यसमा तपाईको दाबी के छ ?

दाबी भन्दा पनि म अहिले जिल्लाजिल्ला घुम्दैछु । साथीभाइहरुसित भेट्दैछु । साथीभाइहरुको के सुझाव आउँछ, अहिल्यै यसबारे बोल्नु हतारो हुन्छ जस्तो लाग्छ मलाई । साथीभाइहरुको सुझाव र नेताहरुको सुझाव अनुसार म अगाडि बढ्छु ।

तपाईहरुवीच धेरै गुट-उपगुट भएकाले पनि देउवा पक्ष बलियो भएको हो जस्तो लाग्दैन ?

अहिले रामचन्द्रजी, अर्जुननरसिंह केसी, कृष्णप्रसाद सिटौलाजी (मैले यी तीनजनाको नाम किन भनेको भने उहाँहरु बेग्लाबेग्लै गुटमा हुनुहुन्थ्यो), प्रकाशमान सिंह, रामशरण महत हामी बसेर छलफलहरु गरिराखेका छौं । यसमा को लिडरसिप कुन ठाउँमा जाने भन्ने छैन, हामी जो जहाँ जाऔं, तर हाम्रो अहिलेको मेन फोकस भनेको विधान संशोधन समितिमा कसरी प्रस्तुत हुने र सँगसँगै छिटोभन्दा छिटो अधिवेशन गरौं भन्ने हाम्रो चाहना छ । हामी यसरी अगाडि बढिराखेको छौं । यो कुरा हामीले नेपाली कांग्रेसका कार्यकर्ताहरुलाई जिल्ला-जिल्लामा पनि सम्झाउँदैछौं ।

यसको अर्थ, आगामी महाधिवेशनमा तपाईले लिनुभएका यी नामहरुको एउटै भ्वाइस हुने सम्भावना बढेको हो ?

पक्कै । यसमा शंकै नगर्नोस् । हामी एउटै आवाज लिएर अगाडि जान्छौं । कुनै चान्स छैन यसचोटि ।

भनेपछि आगामी महाधिवेशनमा देउवा पक्षले नेतृत्व लिने सम्भावना अब सकियो ?

उहाँले चुनाव लडेर जित्नुभयो भने त हामी स्वीकारिहाल्छौं नि । तर, मैले त्यस्तो देखिराखेको छैन ।

अहिले इञ्जिनियर्स एसोसिएसनलगायत कतिपय भातृ संगठनहरुमा देउवा समूहको हारको कारण रामचन्द्र-अर्जुननरसिंह- कृष्ण सिटौला समूहको एकता नै हो त ?

शिक्षक संघदेखि लिएर सबैमा देखियो नि त । देखिँदैछ । अब विस्तारै विस्तारै हेर्दै जानोस् न । हिजै काठमाडौंमा टे्रड युनियनको चुनाव भो । उहाँहरुले जित्नुभएन । त्यो भन्छ नि, राइटिङ अन द वाल । ग्रुपको हिसाबले हेर्ने हो भने हामी कमजोर हुँदैछौं भनेर हेर्न सक्नुपर्‍यो शेरबहादुरजीले ।

तर, शेरबहादुरजी अहिले पनि बलियो हुनुहुन्छ । आदरणीय हुनुहुन्छ । प्रजातन्त्र लोकतन्त्रका लागि लडेको व्यक्ति हुनुहुन्छ । यसमा कुनै शंका छैनत । तर, जसरी पार्टी संगठन गरिरहनुभएको छ, त्यो चाहिँ राम्रो भएन । यसलाई करेक्सन गर्न जरुरी छ । दुई महिनामा गर्नेकाम दुई वर्षसम्म गर्न सक्नुभएको छैन, अब म गर्छु भनेर त बहादुरी देखिँदैन नि । किन सक्नुभएन भनेर हामीले प्रश्न गर्नुपर्‍यो नि त ।

देउवाजीसँग अझै एउटा विकल्प रहेछ, कांग्रेसलाई रिर्फम गर्नुभो, पार्टीलाई सुधार्नु भो र देशैभरिका कार्यकर्ताको विश्वास जित्नुभो भने आगामी महाधिवशेनपछि पनि उहाँ पार्टी सभापति बन्न सक्नुहुन्छ ?

मैले त यथास्थितिमा यो सम्भावना देखिराखेको छैन । विश्व एक्काइशौं शताब्दिमा हिँडिराखेको छ । अहिले मोबाइलमै सबै कुरा आइराखेका छन्, देशैभरिका कार्यकर्ताले त मूल्यांकन गरिराखेका छन् नि । त्यसैले अब पुरानो ढर्राबाट अब नेपाली कांग्रेस चल्नेवाला छैन ।

अब अलिकति राजनीतिक परिस्थितिबारे कुरा गरौं । तपाई माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने नेतासमेत हो । अहिले माओवादी र एमालेवीच पार्टी एकता हुनै लागेको छ । कांग्रेसले यो एकतालाई रोक्ने भूमिका खेल्छ कि ?

वाम एकतामा कांग्रेसको भूमिका के हुने हो र ?

हैन, यो एकताबारे कांग्रेसको दृष्टिकोण के हो ?

मेरो भनाइ के हो भने एमाले र माओवादीले एकता गरेर अगाडि जान खोज्नुभएको छ भने त्यसलाई म नराम्रो भन्दिनँ । तर, भोलिको दिन नेपालमा गठबन्धन कल्चर नै आउँछ । हाम्रो निर्वाचन प्रणाली नै यस्तो छ कि गठबन्धनबाटै अगाडि जानुपर्ने हुन्छ । यसपटकको चुनावमा एमाले र माओवादी एउटै घोषणापत्र लिएर अगाडि आएका छन् ।

र, माओवादीसित मेरो सम्बन्ध १२ बुँदे समझदारी बनाउनुभन्दा पहिलेदेखिकै हो । त्यो प्रचण्डजीसित पनि छ र अरु साथीहरुसित पनि छ । र, प्रचण्डजीको जुन आइडेन्टिटी छ, त्यो आइडेन्टिटी नगुमोस् भन्नेमात्रै मेरो चाहना हो । हुन त नेपाली कांग्रेसमा दुईवटा धार छ । एउटा माओवादीसित जानै हुँदैन, कुरा पनि गर्नुहुँदैन भन्ने ठूलो ग्रुप छ । एउटा मजस्तो छ, राष्ट्रका लागि सँगै लिएर जानुपर्छ भन्ने ग्रुप पनि छ । गिरिजाबाबुकै पालादेखि रहेको यो ग्रुपमा म सम्वद्ध छु ।

तपाईले यसो भनिराख्दा यो ५ वर्ष सरकारले वाम गठबन्धन भत्काउने र सरकार आफूले लिने पहल कांग्रेसले गर्छ या गर्दैन ?

गर्नुहुँदैन भन्ने म मान्यता राख्छु । अहिले यो चल्न दिऔं, सरकार कसरी चलाउनुहुन्छ । भर्खर भारत पुगेर आउनुभयो । अब चीन जानुहोला । त्यसपछि अमेरिका जानुहोला । उहाँले कसरी चलाउनुहुन्छ । किनभने देश अत्यन्त अप्ठ्यारो परिस्थितिमा छ ।

यसमा पनि दुईवटा कुराहरु छन् । प्रथमतः प्रधानमन्त्रीले धेरै अधिकारहरु आफूमा ल्याइसक्नुभएको छ । त्यसलाई म राम्रो हो भन्दिनँ । नराम्रो पक्ष हो त्यो । दोस्रो- देशमा जातीय र धार्मिक द्वन्द्व कतै हुन थालेको हो कि भन्ने आशंका पनि केही घटनाक्रमहरुबाट देखिइराखेको छ । यो कुरालाई सरकारले कसरी लिन्छ, तर मलानई सोध्नुहुन्छ भने नेपाली कांग्रेस प्रतिपक्षमा बसेर गुण र दोषमात्रै होइन, संविधानलाई उहाँहरुले तोडमतोड गर्न खोज्नुभो भने त्यसमा चाहिँ हामी सजग भएर अगाडि जानुपर्छ ।

कांग्रेस त अब ५ वर्षसम्म प्रतिपक्षमै बस्ला । तर, मधेसकेन्द्रित दलहरु वाम सरकारमा सहभागी हुन खोजिरहेका छन् । यो स्थितिले मधेसको राजनीतिमा कस्तो प्रभाव पार्ला ?

यसमा मेरो अलिकति भिन्नै छ । प्रादेशिकमा मधेसका दलहरुलाई हामीले छाडिदिनुपर्छ । केन्द्रमा उनीहरु हामीसित नजिक हुनुपर्ने हो । हामीले गल्ती गर्‍यौं भनेर मधेसी नेताहरुले टेलिभिजनमा भनेको म सुन्दैछु । गल्ती गर्नुभो, गर्नुभएन, त्यो आफ्नो ठाउँमा छ, तर नेचुरल साथी त डेमोक्रेटिक मानसिकता भएको पार्टी राजपा र संघीय समाजवादी केन्द्रमा नेपाली कांग्रेससितै नजिक हुनुपर्ने हो । प्रदेशमा हामी उहाँहरुको सहयोगी हुनुपर्ने हो । हामी यसरी जानुपर्ने हो ।

निर्वाचनका बेलामा हामीले सकेनौं । यसमा म हाम्रो गल्ती भो भन्छु । प्रदेशमा हामीले उहाँहरुलाई छाडिदिनुपर्थ्यो, केन्द्रमा उहाँहरुले हामीलाई छाडिदिनुपर्थ्यो, यो कुरा हाम्रो नेतृत्वले स्वीकारेको देखिएन ।

हामीले सोध्न खोजेको के हो भने तपाईहरु आगामी पाँच वर्ष प्रतिपक्षको भूमिकामा रहन मानसिकरुपमा तयार हुनुहुन्छ । मधेसकेन्दि्रत दलहरु कुनै पनि बेला सरकारमा जाने प्रयासमा देखिन्छन् । उहाँहरु सरकारमा जानुभयो भने मधेसको ग्राउण्डमा आगामी राजनीति कांग्रेसका लागि सजिलो हुन्छ या मधेसकेन्द्रित दलहरुलाई ?

मैले भनें, अहिलेको हाम्रो नेतृत्वले अलिकति बिगारिराखेको छ । किनभने प्रदेश प्रमुख बनाउँदाखेरि शेरबहादुरजीले दुईजना मधेसीलाई लिनुभयो । संघीय समाजवादी फोरमको एकजना र राजपाको एकजनालाई बनाउनुभयो । तर के नेपाली कांग्रेसमा आवद्ध भएका मधेसी समुदायका वौद्धिक मानिसहरु थिएनन् ? तिनीहरुलाई बनाउनुपर्ने जरुरत थिएन । उहाँहरु दुबै बेस हुनुहुन्छ, तर हामीले गल्ती कहाँ गर्‍यौं भने नेपाली कांग्रेससित आवद्ध भएका मधेसी समुदायका वौद्धिक व्यक्तिलाई अगाडि बढाउन सक्नुपथ्र्यो । यो हाम्रो नेतृत्वबाट चुकेको छ । अब यस्तो गल्ती गर्नुहुँदैन ।

उसोभए मधेसकेन्द्रित दलले आगामी पँच वर्ष जे भूमिका खेल्छन्, त्यो उनीहरुको कुरा हो, यसबाट कांग्रेसलाई फरक पर्दैन भन्ने तपाईको भनाइ हो ?

त्यो उनीहरुको कुरा हो । सरकारमा जानुहुन्छ भने जानुहुन्छ, उहाँहरु नै खत्तम हुनुहुन्छ । किनभने कम्युनिष्टसँग मिलेको मधेसका डोमोक्रेटिक जनताले मनपराउँदैनन् ।

एमाले र माओवादी मिलेपछि आगामी चुनावमा पनि कांग्रेसलाई गाह्रो पर्छ होला हैन ?

मलाई गाह्रो पर्छ भनेर लाग्दैन । यो मानसिकता हामीले हटाउन सक्नुपर्‍यो । यो सरकार त मैले हेर्दाखेरि प्रधानमन्त्री कार्यालयमा सबै अवशिष्ट अधिकार आइसक्यो । राष्ट्रिय अनुसन्धान विभाग गृहमन्त्रालयमा हुनुपर्ने हो । राजस्व अनुसन्धान, सम्पत्ति शुद्धीकरण, एनजीओ आइएनजीओको अनुगमन र मापदण्ड बनाउने काम, हुँदा हुँदा महान्यायाधिवक्ता कार्यालय र सचिवहरु पनि प्रधानमन्त्री कार्यालयको मातहत आउने ।

यसले गर्दा के हुन्छ भने कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको शक्ति सन्तुलन खल्बलिन्छ । संसदीय प्रणालीमा प्रधानमन्त्री त्यसै पनि पावरफूल नै हुन्छ । वहाँले त्यो शक्ति लिइरहनुपर्ने आवश्यकतै थिएन । त्यसैले योचाहिँ अधिनायकवादको पहिलो खुटकिलो हो भन्ने मलाई लाग्छ ।

न्यायपालिकामा अब न्यायाधीशहरुले अब विदेश जाँदा कार्यपालिकाको अनुमति लिनुपर्ने भन्ने कुरा आइराखेको छ । यो भयो भने न्यायापालिका पनि कार्यपालिकाको अण्डरमा आउँछ । सचिवले प्रधानन्यायाधीलाई पदमुक्त गरेको चिठी एउटा नमूना हो । यो त महान्ययाधिवक्तता र प्रधानमन्त्रीको मिलेमतोमा गरिएको हो, सचिवलाई म दोष्तिनँ ।

अर्को कुरा, मलाई कहाँनेर डर लागिराखेको छ भने मिडियालाई नै उहाँहरुले नजानिँदो किसिमले सेन्सरसीप पो लाग्छ कि ? मलाई यो डर छ ।

प्रधानमन्त्री केपी ओलीले भारतसँग सम्वन्ध सुधार गरेर आएको चर्चा भइरहेको छ, यसलाई कांग्रेसले सकारात्मकरुपमा लिन्छ कि ?

नाकाबन्दीपछि हाम्रो सम्बन्ध बिगि्रएकै हो । त्यो तिक्ततामा भारतले सुशीलदालाई बोलाउँदै बोलाएन । उहाँ भारत जाँदै जानुभएन । त्यसपछि ओलीजी जानुभो, तिक्तता जहीँको त्यहीँ भो । प्रचण्डजी जानुभो, इम्प्रुभ भो । शेरबहादुरजी जानु भो इम्प्रुभ भो । अहिले ओलीजी जानु भो, इम्प्रुभ भएको छ । विस्तारै विस्तारै इम्प्रुभ हुने क्रममा हामी छौं । यसलाई म यतिमात्रै भन्छु । म जसरी मिडियाहरुमा ओलीजीको देवत्वकरण भइरहेको देख्छु, मलाईचाहिँ त्यस्तो लाग्दैन ।

उहाँको भ्रमणबारे पोजेटिभ कुरामात्रै आइराखेको छ । तर, एउटा कुरा मैले के देखें भने मोदीजीको सगरमाथादेखि सागरसम्म जोड्ने र ओलीजीको पानीजहाज, यो एउटै कुरा हो, भाषामात्रै फरक हो । इण्डियामा रिभर लिंकिङ प्रोजेक्ट छ । सगरमाथादेखि सागरसम्म पानीजहाज चलाउनका निम्ति नेपालमा उच्च कोशीबाँध चाहिन्छ । २६९ मीटरको उच्च कोशीबाँध बनाउने भनेर भारतले आफ्नो प्रक्रिया अगाडि बढाइ नै राखेको छ । त्यस्तै गण्डकमा, कर्णालीमा र पञ्चेश्वरमा पनि ।

तर, यसका लागि नेपालले कति तयारी गरेको छ ? तयारी नै भएको छैन । म त विज्ञहरुले बोलेको पनि देख्दिनँ । कोशी उच्च बाँधमा हजारौं घर परिवार विस्थापित हुन्छन् भन्ने छ । त्यसैले यसबाट नेपाललाई फाइदा छ कि छैन भन्ने क्याल्कुलेसन गरेर मात्रै हामीले गर्नुपथ्र्यो । पञ्चेश्वरमा त ओलीजीले कतै बोलेकै देखिएन ।

अर्को कुरा, तराई मधेसमा जुन हरेक वर्ष बाढी आउँछ, सीमामा जुन भारतीय बाँधहरु बाँधिएका छन्, यसबारेमा ओलीजीले छिटै उपाय आउँछ भन्नुभो, अब हेर्दै जाऔं, कस्तो उपाय आउँदोरहेछ, मलाई चाहिँ विश्वास छैन । भएको भए त संयुक्त वक्तव्यमा आउनुपर्ने हो । यसमा हामी कतै चुक्यौं कि जस्तो लाग्छ ।

सबैभन्दा सिरियस कुरा त के भने ओलीजीले चाइनालाई पनि सशंकित पारिदिनुभयो । देशको प्रधानमन्त्री अर्को देशमा जानुभएको छ, तिब्बतियन धर्मगुरुलाई नेपाल दिूताबासको रिसेप्सनमा बोलाएर ओलीजीलाई खादा ओढाइदिनु चीनका लागि चिन्ताको विषय भैहाल्छ । हामीले एक चीन नीतिमा प्रतिवद्धता जनाएका छौं । हामीले चीनलाई सशंकित हुने काम गर्नुहुँदैन भन्ने मेरो मान्यता हो । यो कुरालाई ओलीजीजस्तो राष्ट्रवादको कुरा उठाउने व्यक्तिले नेपालमै भेटेको भए भइहाल्थ्यो नि । भारतमा गएर तिब्बतियन धर्मगुरुलाई भेटिरहनुपर्ने आवश्यकता थिएन ।

यसैसाता मोरङमा हिन्दु धर्मगुरुमाथि गोली प्रहार भयो । यो सामान्य घटना हो कि यसका पछाडि केही खेल पनि छ ?

युरोपियन युनियनले जुन प्रतिवेदन पेश गर्‍यो, त्यो. संविधानमाथि उहाँहरुले आक्रमण गर्नुभएको हो । त्यो गर्न पाइँदैन । संविधान बनाएर हामी कार्यान्वयनको प्रक्रियामा छौं । त्यसपछि लगत्तै यो गोलीकाण्डको घटना भएको छ ।

हामी ८० प्रतिशत हिन्दुहरु छौं । देश धर्म निरपेक्ष छ । धर्मनिरपेक्षको परिभाषा संविधानले गरेको छ । जबरजस्ती धर्म परिवर्तनलाई हामीले रोकेका छौं । गाईलाई हामीले राष्ट्रिय जनावर भनेका छौं । यो कुरालाई धेरै गहिरो तरिकाले हेर्नुभयो भने देशमा जातीय र धार्मिक द्वन्द्व निम्त्याउने एउटा ग्रुप छ । देशीविदेशी शक्तिहरु छन् । तिनीहरु परिचालित फेरि हुन थालेका छन् । एकचोटि सामसुम हुन थालेका थिए, फेरि परिचालित हुन थालेका छन् । त्यसैको परिणति हो धर्मगुरुमाथिको गोली प्रहार । यसमा सरकार एकदमै गम्भीर भएर अगाडि बढ्नुपर्छ ।

तपाईका चुनावी प्रतिद्वन्दी लालबाबु पण्डित यतिबेला मन्त्री बन्नुभएको छ र कर्मचारीबारे कडा कुरा गरिरहनुभएको छ, यसमा तपाईलाई कस्तो लाग्छ ?

उहाँले कर्मचारीको स्वेच्छिक अवकाशबारे जुन कुरा बोल्नुभएको छ, त्यो ऐन नै संशोधन गर्नुपर्छ जस्तो लाग्छ मलाई । अवकाशवाला कर्मचारीको कुरा ऐन मै आएको छ । मन्त्रीजस्तो व्यक्तिले त्यस्तो कुरा नकोल्नुभएको भए हुन्थ्यो । पपुलर त मन्त्रीजस्तो मान्छे, चुनाव जित्नुभएको छ, पपुलरै हुनुहन्छ उहाँ ।

चुनावमा तपाईले लालबाबुलाई चिन्दिनँ भन्नु भो रे, उहाँले जितेपछि लड्डु खुवाउँछु भन्नुभएको थियो । चुनावपछि भेट भो त ?
उहाँसँग मेरो राम्रो सम्बन्ध छ । पहिले पनि राम्रो हो, अहिले पनि राम्रो छ । मैले चुनावका बेलामा के भने भनें भने मैले प्रतिद्वन्दीलाई चिन्दिनँ । मेरो अर्जुनदृष्टि रुख चिह्नमा छ । मलाई लाग्छ आज पनि म त्यो भन्दैछु । त्यो लालबाबुजीलाई मात्रै भनेको हैन, चुनावको बेलामा कांग्रेसको उम्मदेवारले रुख चिह्नलाई मात्रै चिन्छु भन्नु गलत होइनजस्तो लाग्छ मलाई । तर, यो कुरालाई उहाँले उछाल्नु त ठीक हो, तर त्यसलाई नेपाली कांग्रेसकै साथीहरुले पनि अलिकति उछाल्दिए । तर, त्यो चुनावको बेलाको कुरा हो अब सकियो ।

चुनावपछि लालबाबुसँग भेट भएको छैन ?

चुनाव जितेपछि एउटा विवाह पार्टीमा यसो हेल्लो भो । अरु कुराकानी त्यति भएको छैन । दुई तीनपल्ट फोन गरें, उठेन । मन्त्री भइसकेपछि बीजी हुनुभो होला ।

You might also like

Comments are closed.