वैशाख ४, रौतहट । यहाँ एक महिलाको गए राति शंकास्पद मृत्युु भएको छ । कटहरिया नगरपालिका–१ हर्षाहाटोलका मुुकेश चौरसियाकी श्रीमती २५ वर्षिया सीमादेवीको शव घरभन्दा करीब २ सय मिटर उत्तरतर्फको खेत आली छेउमा मंगलबार बिहान बरामद भएको प्रहरीले जनाएको छ ।
उनको मृत्युुको कारण खुल्न नसके पनि घटना अति नै शंकास्पद रहेको भनी स्थानीयवासीले दिएको सूचनाका आधारमा घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक गोविन्द थापाले जानकारी दिए ।
थप अनुसन्धान तथा सोधपुुछका लागि सीमाकी सासू रम्भादेवीलाई नियन्त्रणमा लिइएको छ । शव परीक्षणका लागि जिल्ला अस्पताल गौर पठाइएको प्रहरीले जनाएको छ ।
मुुकेश पछिलो चार महिनाअघि वैदेशिक रोजगारीका लागि मलेसिया गएको पीडित परिवारले जनाएको छ । सीमाका घरमा सासू र एक दृष्टिविहीन ससुुरा छन् । बिहान एक छिमेकीले आएर सीमा घर छेउका खेतमा मृतावस्थामा रहेको बताएपछि जानकारी भएको मृतककी सासू रम्भादेवीले बताए ।
जिल्ला प्रहरी कार्यालय रौतहटका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक रामकुुमार दानीले शव परीक्षणको प्रतिवेदन नआएसम्म केही बताउन नसकिने बताए । सीमाको तीन वर्षअघि बिहे भएको थियो । रासस
Comments are closed.