के तपाई फेसबुक चलाउनुहुन्छ ? फेसबुक प्रोफाइल बनाएको भए त तपाईको जानकारी फेसबुकलाई थाहा हुनु अनौठो भएन तर फेसबुकमा तपाईको प्रोफाइल नभए पनि तपाईको जानकारी फेसबुककहाँ पुग्ने गरेको एक तथ्य बाहिर आएको छ ।
हालै क्याम्ब्रिज एनालिटिकाले ८ करोड ७० लाखभन्दा बढी फेसबुक प्रयोगकर्ताको व्यक्तिगत विवरण चोरी गरेको र त्यो जानकारी राजनीतिक उद्देश्य पूर्तिका लागि प्रयोग भएको कुरा सार्वजनिक भएको भन्ने समाचार आएसँगै फेसबुकमा गोपनीयता र सुरक्षासम्बन्धी बहसले ठाउँ पाएको छ ।
पछिल्लो समय फेसबुकले आफूलाई प्रयोगकर्तामाझ पारदर्शी बनाउन खोजेको बताउँदै अाएकाे छ । यसै क्रममा फेसबुकले सोमबार कम्पनीको व्यक्तिगत विवरण संकलनसम्बन्धी प्रक्रियाका बारेमा एउटा ब्लग प्रकाशित गरेको छ ।
फेसबुकका प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गले अमेरिकी सिनेट समक्ष पछिल्लो आरोपका बारेमा सुनुवाई गरेको हप्तादिन नबित्दै प्रयोगकर्ताको विवरण संकलनसम्बन्धी प्रक्रियाबारे जानकारी दिएको हो ।
फेसबुकका प्रोडक्स म्यानेजमेन्ट डाइरेक्टर डेविड बासरले लेखेको ब्लगमा आफ्ना प्रयोगकर्ताको मात्र नभई तेस्रो पक्षसँग उनीहरुका प्रयोगकर्ताको जानकारी कसरी फेसबुकले लिने गरेको छ भन्ने खुलाइएको छ ।
फेसबुकले आफ्नो वेब साइट वा एप्लिकेशन प्रयोग नगर्नेहरुको जानकारी पनि तेस्रो पक्षबाट लिएर उनीहरुको फेसबुक प्रोफाइल छ कि छैन भन्ने हेर्ने गरेको ब्लगमा उल्लेख छ ।
फेसबुक प्लगिङ्स वा फेसबुक एकाउन्ट मार्फत लग इन गर्न सकिने वेब साइट वा एप्लिकेशन तथा आफ्ना उत्पादनको प्रचार प्रसारका लागि फेसबुकको प्रयोग गर्ने वा एनालिटिका टुल्सको प्रयोग गर्ने वेब साइटबाट फेसबुकले यस्तो जानकारी लिने गरेको छ ।
यसरी संकलित जानकारी फेसबुकले आफ्नो वेब साइटको बिस्तार तथा विज्ञापनका लागि प्रयोग गर्ने उक्त ब्लगमा खुलाइएको छ । हुन त मार्क जुकरबर्ग स्वयंले अमेरिकी सिनेटसामु सुनुवाईका क्रममा फेसबुकमा एकाउन्ट नभएका व्यक्तिको जानकारी पनि आफूहरुले संकलन गर्ने गरेको बताएका थिए ।
उनकाे याे भनाइपछि फेसबुकमा एकाउन्ट नभएकाहरुको जानकारी लिएर फेक आइडी बनाइएको पो छ कि भन्ने चासो बढेको थियो । तर फेसबुकले त्यस्तो जानकारीबाट आफूहरुले कुनै पनि फेक वा स्याडो प्रोफाइल नबनाएको दाबी गरेको छ । news24
Comments are closed.