Nepal's First Video FM

नहुने भयो बैसाख ९ गते पार्टी एकता -यी हुन् मुख्य कारणहरु

525

काठमाण्डौ । नेकपा एमाले र माओवादी केन्द्रबिच वैशाख ९ मा एकता नहुने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान बसेको समिति बैठकले ९ गतेको मितिमा पार्टी एकता नहुने निष्कर्ष निकालेको हो ।

वाम गठबन्धनको एकता संयोजन समितिले पार्टी एकताका लागि थप छलफल आवश्यक रहेको निश्कर्ष निकालेको छ । बैठकले राजनीतिक तथा विधान र संगठनात्मक कार्यदलले तयार पारेको प्रतिवेदनलाई अन्तिम रुप दिने जिम्मेवारी २ शीर्ष नेतालाई दिएको छ ।

यसअघि दुवै कार्यदलले नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको दिन वैशाख ९ मा एकता गर्नु उपयुक्त हुने सुझाव दिएका थिए । गत फागुन ७ मा पार्टीको नाम ‘नेकपा कम्युनिष्ट पार्टी’ र निर्देशक सिद्धान्त ‘माक्र्सवाद लेनिनवाद’ राख्नेलगायत एकताका सातबुँदे प्रारम्भिक आधारमा दुई दलले कार्यदलमार्फत एकता प्रक्रिया थालेका हुन् ।

प्रतिवेदनका विवादित विषयमा फाइनल टच हुन बाँकी रहेकोले पार्टी एकता रोकिएको बताइएको छ ।

पार्टी एकता संयोजन समितिको बैठकले एकताका लागि मिल्न बाँकी विषयको अन्तिम टुङ्गो लगाउने जिम्मा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई दिएको छ ।

प्रतिवेदनहरुले यही वैशाख ९ गते एकता घोषणा गर्न दिएको सुझावलाई सकारात्मक रूपमा लिँदै त्यसको तयारी गर्ने भनी गत चैत २२ को संयोजन समितिको बैठकमा निर्णय भएको थियो ।

दुई दलबीचका वैचारिक र अन्तरिम विधान मस्यौदा कार्यदलले एकता घोषणाको मिति, निर्वाचन चिह्न, सांगठनिक अनुपात, जनयुद्धको विश्लेषणजस्ता विषयमा निर्णय गर्न बाँकी राखेर संयोजन समितिलाई गत चैत तेस्रो साता प्रतिवेदनहरु बुझाएको थियो ।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीको गत चैत २३–२५ को भारत भ्रमणका कारण प्रतिवेदनमाथिको छलफलमा ढिलाइ भएकामा मंगलबार बसेको बैठकमा गम्भीर छलफल भएको दुवै दलका नेताले प्रतिक्रिया दिएका छन् ।

आजको बैठकमा विवाद देखिएका बिषयमा छलफल भएपनि ठोस सहमति भने बन्न सकेन । एकीकृत पार्टीमा रहने केन्द्रीय समितिको संख्या, निर्वाचन चिन्ह तथा पार्टीको विधानमा जनयुद्ध शब्द राख्ने नराख्ने भन्ने बिषयमा पछिल्लो समय दुई दलबीच विवाद देखिदै आएको छ ।

आजको बैठकमा मुख्य रुपमा कार्यदलले तयार पारेको प्रतिवेदनमै केन्द्रित रहेर छलफल भएकाले विवादित बिषयमा छलफल नै हुन नसकेको नेताहरुले बताएका छन् ।

You might also like

Comments are closed.