Nepal's First Video FM

दाहाल प्रधानमन्त्री ओलीसँग हच्किए, एकिकरण भयो भने अध्यक्ष को हुने ? पढ्नुहोस

614

वैशाख ५, पार्टी एकता घोषणाको मिति नजिकिँदै आउँदा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको संवाद पातलिन थालेको छ ।

सरकारले गरेका महत्वपूर्ण निर्णयहरुबारे सल्लाह नगरी एकलौटी शैलीमा काम गरेको भन्दै दाहाल प्रधानमन्त्री ओलीसँग हच्किएका छन् । एकता हुनुअघि नै आफूलाई पन्छाएर काम गरेको गुनासो दाहालले गरेका बुझिएको छ।

पार्टी एक हुन नै बाँकी छ । एकिकरण भयो भने को अध्यक्ष हुने भन्ने विषयलाई दाहालले बढी चासो दिएर विश्लेषण गरिरहेको उनी निकट सूत्रले बताएको छ ।

प्रधानमन्त्री ओलीले एकिकृत बामपन्थी दलको नेतृत्व सके आफैंले गर्ने त्यसो हुन कुनै कारणले सम्भव नभएमा एमालेकै वरिष्ठतम नेतामध्ये एकलाई साँचो सुम्पने संभावना रहेको सुँईको दाहालको कानमा परेको बताईएको छ । यसपछि दाहाल निकै सतर्क भएर ओलीसँग वार्ता गरिरहेका बताईएको छ।

एमाले निकट एक सूत्रका अनुसार,ओलीले पछिल्ला दिनमा आफूसँग निकट रहेर सहयोग गरिरहेका वरिष्ठ नेता माधवकुमार नेपाललाई एकिकरण पछिको पहिलो महाधिवेशनमा अध्यक्ष पदको तयारी गर्न आश्वासन दिएका छन् ।

ओलीको यही आश्वासनपछि नै नेता नेपाल सबैजसो महत्वपूर्ण कार्यक्रमहरुमा प्रधानमन्त्रीसँगै सहभागी हुनेगरेको समाचार सूत्रको दावी छ । मंगलबार बालुवाटारमा बसेको संयोजन समितिको बैठकमा दाहालले सरकारको एकलौटी निर्णयप्रति प्रधानमन्त्री ओलीसँग असन्तुष्टि पोखेका थिए ।

उनले पार्टी एकतापछि दुवैजना अध्यक्ष हुनेभनिए पनि आफूलाई ‘सेरेमोनियल’ बनाउन ओलीले दाउपेच खेल्नसक्नेप्रति आशंका समेत गरेका थिए ।
किन टर्यो वैशाख ९ संयोजन समितिको मंगलबारको बैठकले विवादका विषय टुंग्याउने जिम्मा दुई अध्यक्ष केपी ओली र प्रचण्डलाई दिए पनि अर्को बैठक कहिले बस्ने भन्ने मितिको टुंगो गरेन ।

यसअघि २२ चैतमा बसेको एकता संयोजन समिति बैठकले ९ वैशाखमा पार्टी एकता घोषणासभा गर्ने निर्णय गरेको थियो । दुई अध्यक्ष बसेर सहमति गरेपछि समितिको अर्को बैठक बसेर एकता घोषणा मिति सार्वजनिक गरिने बैठकपछि नेताहरूले बताए ।

प्रधानमन्त्री ओली भारत भ्रमणबाट फर्किएपछि बैठक बसेर विवादित विषय टुंग्याउने भने पनि पटक–पटक बैठक स्थगित हुँदै आए । दुवै अध्यक्ष कार्य व्यस्तता देखाउँदै अन्य कार्यक्रमहरूमा सक्रिय हुँदा बैठक बस्न सकेको थिएन । २२ चैतपछि पहिलोपटक मंगलबार बैठक बसेको हो ।

एमाले माओवादी सम्मिलित दुवै कार्यदलले सहमति जुट्न बाँकी तीन विषयलाई थाँती राखेर प्रतिवेदन एकता संयोजन समितिलाई बुझाएका थिए । तर, समितिले पनि एकीकृत पार्टीको दस्तावेजमा ‘जनयुद्ध’ लेख्ने वा नलेख्ने, नयाँ पार्टीको चुनाव चिह्न के राख्ने र सांगठनिक संरचनामा कुन पार्टीको सहभागिता कति रहने भन्ने विषय टुंग्याउन सकेको छैन ।

चुनाव चिह्न र प्रस्तावनामा जनयुद्ध शब्द लेख्ने वा नलेख्ने विषयमा खासै विवाद नभएको बैठकमा सहभागी एक नेताले बताए । तर, सांगठनिक रूपमा कुन पार्टीको कति प्रतिनिधित्व हुने विषयमा दुवै पार्टीले मुख्य मुद्दा बनाएको ती नेताले बताए । माओवादीले ५०–५० प्रतिशतलाई आधार मान्नुपर्ने बताउँदै आएको छ भने एमालेले निर्वाचनमा पाएको जनमतका आधारमा एकता गर्नुपर्ने तर्क गरेको छ ।

साभार सरलपत्रिका

You might also like

Comments are closed.