Nepal's First Video FM

के भयो सीआइए प्रमुख र किमबीचको गोप्य भेटमा, बाहिरियो यस्तो खबर !

798

वैशाख ५, अमेरिकी गुप्तचर निकाय सीआइएका निर्देशक माइक पेम्पेओले उत्तर कोरियाली नेता किम जङ-अनसँग एउटा गोप्य भेटवार्ताका लागि प्योङयाङको भ्रमण गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

नाम नखुलाएका अधिकारीहरूले वाशिङटन पोस्ट पत्रिका र समाचार संस्था रोयटर्सलाई बताए अनुसार ट्रम्प र किमबीच हुने प्रत्यक्ष वार्ताको तयारीका लागि इष्टर सप्ताहन्ततिर पोम्पेओ प्योङयाङ गएका थिए ।

यसअघि ट्रम्पले अमेरिका र उत्तर कोरियाबीच उच्चस्तरमा प्रत्यक्ष वार्ताहरू भएको स्वीकारेका थिए । फ्लोरिडामा जापानी प्रधानमन्त्री शिन्जो आबेसँगको दुईदिने बैठकको शुरूवातमा बोल्दै ट्रम्पले वार्ताहरूबारे खुलासा गरेका हुन् ।

उनले भने, “हामीले एकदमै उच्चस्तरीय वार्ताहरू गरेका छौँ ।” किमसँग हुने बैठकका लागि पाँचवटा स्थानबारे विचार-विमर्श भइरहेको समेत ट्रम्पले बताए ।

उनले सन् १९५० देखि ५३ सम्म चलेको कोरियाली युद्ध औपचारिक रूपमा समाप्त भएको घोषणा गर्ने शान्ति सन्धिबारेको दुई कोरियाबीचको छलफलका लागि आफूले शुभकामना पठाएको पनि बताएका छन् ।

विदेशमन्त्रीका लागि ट्रम्पले अघि सारेका पोम्पेओले किमसँग गोप्य भेटवार्ताका लागि उत्तर कोरियाको यात्रा गरेकोबारे सबैभन्दा पहिला वाशिङटन पोस्ट पत्रिकाले समाचार लेखेको हो ।

ट्रम्प र किमबीच हुने शिखर बैठकको लागि उक्त भ्रमण गरिएको बाहेक भेटवार्ताबारे खासै केही थाहा हुन सकेको छैन । उक्त पत्रिका अनुसार विदेशमन्त्रीका लागि नाम प्रस्ताव गरिए लगत्तै भेटवार्ता भएको हो ।

बीबीसीबाट साभार

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.