Nepal's First Video FM

चुनाव चिह्नको विषय टु‌ंगिएको छैन : प्रचण्ड

401

वैशाख ५, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेकपा एमाले र माओवादी केन्द्रको एकतापछि चुनाव चिन्ह के हुने भन्ने विषय टुंगिन बाँकी नै रहेको जनाएका छन् । प्रेस सेन्टर चितवनले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचण्डले चुनाव चिन्हका विषयमा छलफल जारी रहेको जानकारी दिए ।

उनले भने, ‘दुई पार्टीबीच कुरो नमिलेको भन्ने विषय नरहेको तर छलफल बाँकी नै छ ।’ उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफूले बिहीबार थप छलफल गरी पार्टी एकता घोषणाको मिति तय गर्ने दाबी गरे ।

उनले भने, ‘यकिन मिति दुई अध्यक्षले टु‌ंग्याउने भए पनि पार्टी एकताका लागि धेरै दिन कुर्नु पर्दैन । वैशाख ९ गते भ्याइँदैन कि भन्ने हो, तर, वैशाख महिनाभर भने लाग्दैन ।’

दुईवटा कार्यदलले प्रस्तुत गरेका प्रतिवेदनमाथि बुधबारबाट गम्भीर ढंगले छलफल सुरु भएको जनाउँदै उनले कतिपय विषय टुंगो लगाउने जिम्मा कार्यदलले दुई अध्यक्षलाई दिएको बताए ।

अध्यक्ष दाहालले भने, ‘कतिपय विषयमा कार्यदलले रिपोर्ट बुझाउँदैमा यो विषय माथिबाट टुंग्याउने भन्दै आफ्नो तहबाट अध्यक्षको तहमा ल्याएका छन्। त्यस्ता विषय छलफल गरेर टुंग्याउने भनिएको छ।’

गृहमन्त्री रामबहादुर थापाको नेतृत्वको कार्यदलले बुझाएको प्रतिवेदनमा विधानमा जनयुद्धलाई कसरी प्रस्तुत गर्ने, जनआन्दोलनलाई के भन्ने, चुनाव चिह्नलाई कसरी मिलाउने, एकताको मोडालिटीमा केन्द्रीय समिति, प्रादेशिक समिति, जिल्ला समिति कसरी के आधारमा मिलाउने आदि कुरामाथि छलफल भइरहेको दाहालले जनाए ।

एकता घोषणामा ढिलाइ हुनुमा शक्ति बाँडफाँटमा समस्या देखिएको हो ? भन्ने प्रश्नमा दाहालले भने, ‘शक्ति बाँडफाँटका विषयमा कुरा नमिलेको होइन । तपाईहरु भ्रममा नपर्नुहोस् ।

दुई अध्यक्षले नाम लिएर जाने, राम्रा मान्छेको राम्रो समिति बनाउने। त्यसो गर्दा सकेसम्म सम्मानजनक र बराबरीको सिद्धान्तमा गर्ने भन्ने कुरामा कुनै विमति छैन ।’

उनले प्रधानमन्त्रीको कार्यशैलीका विषयमा भने पार्टीभित्र छलफल भएको स्वीकार्दै सरकार सञ्चालनको अधिकार प्रधानमन्त्रीलाई भए पनि सचिव सरुवा लगायतका विषयमा विधि प्रक्रियामा समन्वय नभएको हो कि भनेर आफूले छलफल गरेको बताए । रासस

You might also like

Comments are closed.