वैशाख ५, एमाले र माओवादी केन्द्रबीच वैशाख ९ गतेलाई तय भएको पार्टी एकता घोषणा कार्यक्रम नहुने भएको छ । चाँडै बैठक बसेर विवादित विषय टुंगो लगाई एकता घोषणाको नयाँ मिति सार्वजनिक गर्ने कार्यक्रम छ ।
एमाले र माओवादी केन्द्रबीच वैशाख ९ गतेलाई तय भएको एकता घोषणा मिति किन पछि सर्याे भन्ने विषयले राजनीति तातिरहेको छ । स्रोतका अनुसार माओवादी केन्द्रले ५०–५० प्रतिशतका आधारमा पार्टी एकता गर्नुपर्छ भन्न खोज्नुको मुख्य कारण विभाजन गर्न सक्ने आधार तय गर्नु हो ।
त्यसका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी समितिमा ५०–५० प्रतिशतको भागबन्डा खोजेका छन् । अहिलेका आधारमा पार्टी एकता भए ३३ सदस्यीय स्थायी समितिमा एमालेबाट २२ र माओवादीबाट ११ जना मात्र सदस्य बन्न पाउनेछन् ।
यो भनेको माओवादी केन्द्रको एमालेमा विलय मात्र हुन जाने विश्लेषण गरिएको छ । यही कारण एमाले र माओवादी केन्द्रबीच तत्काललाई एकता टरेको बुझिएको छ । अब केन्द्रीय समितिको संख्या बढाएर सहमति जुटाउने प्रयास गरिने भएको छ ।
यस्तै दुई पार्टीबीच चुनाव चिन्ह र एकिकृत पार्टीको विधानमा ‘जनयुद्ध’ राख्ने नराख्ने भन्ने विषयमा समेत विवाद छ । माओवादीले सूर्यभित्र हँसिया हथौडा राख्नुपर्ने र पार्टीको विधानमा जनयुद्ध शव्द राख्नुपर्ने बताइरहेको छ । जुन, एमाले मान्न तयार छैन ।
यद्यपी माओवादीले सूर्य चिन्ह स्विकार गर्दा एमालेले विधानमा जनयुद्ध शव्द राख्न तयार हुने देखिएको छ । यही मध्यमार्गी बाटोमा सहमति जुट्ने सम्भावना रहेको बताइएको छ ।
Comments are closed.