वैशाख ५, इण्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली डेयर डेभिल्स कोलकाता नाइट नाइडर्ससँग ७१ रनले पराजित भयो । खेलपछि प्रतिक्रिया दिँदै दिल्लीका ग्लेन म्याक्सवेलले आफूहरुको बलिङ कमजोर रहेको बताए ।
‘हाम्रो बलिङ लाइन मिसमास भयो, हामीले एउटै लयमा मिलाएर बलिङ गर्नै सकेनौँ’ म्याक्सवेलले भने, ‘उनीहरुले बिचको ओभरमा धेरै रन बनाए । हामीले सोचेर बलिङ गर्न सकेनौँ ।’
सोमबार राति कोलकाताकै घरेलु मैदानमा टस जितेर बलिङ गरेको दिल्लीले पहिलो ओभर मेडन गरेको थियो । अन्तिम ओभरमा तीन विकेट लिएर १ रन मात्र दिएको दिल्लीको मध्य क्रममा बलिङ खराब रहृयो । उनीहरुले बिचको १८ ओभरमा १ सय ९९ रन खाए ।
२ सय १ रनको लक्ष्य पछ्याएको दिल्लीका लागि म्याक्सवेलले २२ बलमा ४७ रन बनाएका थिए । यस्तै रिसब पन्तले २६ बलमा ४३ रन बनाए । अन्यले खुलेर खेल्न सकेनन् । कोलकाताका स्पिन बलरहरु चलेको खेलमा दिल्लीले मध्यक्रममा तीब्र गतिका बलर लगातार खेलायो ।
कोलकाताका आक्रामक ब्याटिङ गरिरहेका एन्द्रे रसेलले तीब्र गतिको बलमा रन बनाइरहेका थिए । उनले १२ बलमै ६ छक्कासहित ४१ रन बनाए । उनको धेरै रन तीब्र गतिका बलर मोहम्मद सामीविरुद्ध आयो ।
दिल्लीले आफ्ना लेगब्रेक स्पिनर राहुल तेवाटियालाई ३ ओभर मात्रै बलिङ गरायो । पहिलो दुई ओभरमा कम रन खाएका उनले अन्तिम ओभरमा तीन विकेट लिएर एक रन मात्र दिए ।
यस्तोमा मध्यक्रममा उनलाई ल्याउँदा पिचले साथ दिने देखिन्थ्यो । तर, सहाब नदिमको ‘स्लो लेफ्ट आम’ बलिङ भने चल्न सकेन । उनले ४ ओभरमा ४३ रन खर्चिए ।
कोलकाताले १४ ओभर २ बलमा दिल्लीलाई १२९ रनमा अल आउट गर्दा स्पिनरहरु चलेका थिए । ‘हामीले हाम्रो बलिङमा छिटै बिचार गर्नुपर्ने देखिएको छ’ दिल्लीका सहायक प्रशिक्षक श्रीधरन श्रीरामले भने, ‘पञ्जावका राहुलले धुरन्धर हाने, राजस्थानसँग हामी ठीकै थियौँ ।
तर, कोलकातासँग त धेरै नै कमजोर देखियो ।’ उनले आफ्ना तीव्र गतिका बलरले केही भिन्न सोचेर आउनुपर्ने बताएका छन् । दिल्ली टिममा नेपाली युवा लेगस्पिनर सन्दीप लामिछाने पनि आवद्ध छन् । तर उनले गएको ४ खेलमा एक खेल पनि खेल्न पाएका छैनन् ।
आईपीएलमा एउटा टिमले एक पटकमा चार जना मात्र विदेशी खेलाडी खेलाउन पाउँछ । ज्यासन रोय, ग्लेन म्याक्सवेल, क्रिस मोरिस, टे्रन्ट बोल्ट, कोलिन मुन्रो, ड्यानियस क्रिष्टियन, एल्बी मोर्केल, कागिसो रबाडाजस्ता विदेशी खेलाडी भएको टिममा विदेशी खेलाडी भएकैले प्लेइङ ११ मा पर्न सन्दिपलाई कठीन छ ।
यसको अर्को कारण दिल्ली टिममा अमित मिश्रा, साहब नदिम, राहुल तेवाटिया, अभिषेक शर्मा, अखिल हेरवाडकर, महिपाल लोमरर घरेलु स्पिनर छन् ।
Comments are closed.