Nepal's First Video FM

जनताको समृद्धिको चाहना पूरा गर्न सत्तापक्ष र प्रतिपक्ष मिल्नुपर्छ : नेता सिंह

508

वैशाख ६, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताको समृद्धिको चाहना पूरा गर्नका लागि सत्तापक्ष र प्रतिपक्ष मिलेर अगाडि बढ्नुपर्ने बताएका छन् ।

‘देशलाई आर्थिक रुपमा समृद्ध बनाउने सबैभन्दा ठूलो जिम्मेवारी सरकारमा रहेको दलको हुने भए पनि प्रतिपक्षको पनि भूमिका हुन्छ,’ बानेश्वर बहुमुखी क्याम्पसले बिहीबार आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गर्दै नेता सिंहले भने-‘आर्थिक समृद्धिको चाहना चाँडोभन्दा चाँडो सफलतामा परिणत गर्नका लागि कांग्रेस पछि हट्दैन ।’

पूर्व-उपप्रधानमन्त्री समेत रहेका कांग्रेस नेता सिंहले राजनीतिक परिवर्तनबाट प्राप्त उपलब्धीलाई संस्थागत गर्नका लागि सत्ता पक्ष र विपक्षी दल मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

राजनीतिक दलहरु मिलेर संघर्ष गर्दा ठूला ठूला राजनीतिक परिवर्तन भएको तर, त्यसलाई संस्थागत गर्न नसक्दा फेरि अर्को आन्दोलन हुने गरेको चर्चा गर्दै उनले सबै मिलेर उपलब्धी संस्थागत गर्नुपर्नेमा जोड दिए ।

‘कुनै दल कुनै चुनावपछि सरकारमा जाला, कुनै प्रतिपक्षमा बस्नुपर्ला, यो ठूलो कुरा होइन,’ उनले भने, ‘यो राजनीतिक परिवर्तनबाट प्राप्त उपलब्धीलाई संस्थागत गर्नको लागि सत्ता पक्ष र विपक्षी दल मिलेर अगाडि बढ्नुपर्छ ।’

‘पोलिटिकल मुभमेन्ट सफल पनि हुन्छ । तर, सफल भएको केही वर्षमा अर्को परिवर्तनको लागि फेरि बेग्लै किसिमको आन्दोलन हुने गर्दछ,’ उनले भने, ‘हामी दलहरुमा पनि आन्दोलन गर्न सबै मिल्ने र संस्थागत गर्ने क्रममा केही कमीकमजोरी देखिएको छ ।’

संविधान कार्यान्वयन भइसकेको र संघीयता कार्यान्वयन भइसकेकाले अब त्यसलाई सशक्त रुपमा अघि बढाउनुको विकल्प नभएको उनले बताए ।

‘संविधानसभाबाट संविधान जारी भएको छ, हामी संघीयतामा छौं । यसलाई प्रभावकारी कार्यान्वयनको विकल्पै छैन,’ उनले भने, ‘बाधा अड्चनलाई पन्छाएर विधिसम्मत तवरले यो सिस्टमलाई सशक्तरुपमा र संस्थागत रुपमा अघि बढाउनु बाहेक अर्को विकल्प छैन ।’

साभार अनलाइनखबर

You might also like

Comments are closed.