Nepal's First Video FM

पूर्वी पहाडी जिल्ला संखुवासभामा ब्लड बैंक नहुँदा बिरामीको ज्यान जोखिममा

380

वैशाख ७, पूर्वी पहाडी जिल्ला संखुवासभामा एक सरकारीसहित आधा दर्जन अस्पताल सञ्चालनमा रहेका भए पनि रक्त सञ्चार केन्द्र (ब्लड बैंक) नहुँदा बिरामीले समस्या भोग्नुपरेको छ ।

जटिल प्रकारका बिरामीको उपचार तत्कालै गर्नैपर्ने भएपनि जिल्लामा ब्लड बैंक नभएपछि अन्यत्रै लैजानु पर्ने बाध्यता छ । आवश्यक रगत बिरामीका आफन्तले खोजेर ल्याएपछि मात्र अस्पतालले जटिल उपचार गर्ने गरेको छ ।

बिरामीले तत्काल रगत नपाउने र समूह नमिल्नाले बिरामीको उपचारमा समस्या हुने गरेको छ । जिल्लामा नेपाल रेडक्रस सोसाइटीले २०५३ सालमा आकस्मिक रक्त सञ्चार सेवा भनेर स्थापना गरेको भएपनि यहाँ ब्लड गु्रप छुट्याउने काम मात्र हुने गरेको छ ।

गाउँबाट उपचारमा आएका कतिपय बिरामीको तत्कालै शल्यक्रिया गर्नुपर्ने भए पनि समयमा रगत उपलब्ध नहुँदा ज्यान जोखिममा पर्ने गरेको छ । गर्भवती, गम्भीर दुर्घटनाका घाइते रगत अभावले बढी जोखिममा पर्दै आइरहेका छन् ।

बिरामीको जटिल उपचारमा रगत अनिवार्य चाहिने भएकाले रक्तसञ्चार भवन र आधुनिक उपकरणका लागि तीन वर्षअघि नेपाल रेडक्रस सोसाइटीले केन्द्रीय कार्यालयमार्फत अनुरोधपत्र पठाए पनि अहिलेसम्म कुनै प्रतिक्रिया नआएको रेडक्रस सोसाइटी संखुवासभाका अध्यक्ष सरोजकुमार बज्राचार्यले बताए ।

शिविर सम्पन्न

यसैबीच, पाँचखपन नगरपालिकाको आयोजनामा वाना मावि वानामा बृहत् स्वास्थ्य शिविर सम्पन्न भएको छ । नोबेल अस्पताल विराटनगरका विषेशज्ञ डाक्टरको प्राविधिक सहयोगमा गत बुधबार दुई दिने स्वास्थ्य शिविर सम्पन्न भएको हो ।

शिविरबाट जनरल मेडिसिन, आँखा, नाक, कान घाँटी, स्त्रीरोग, बालरोग, छाला, हाँड जोड्नी, दन्त सेवा, नशासम्बन्धी स्वास्थ्य सेवा दिइएको थियो । त्यस्तै, एक्सरे, भिडियो एक्सरे र ल्याब सेवा पनि सिविरबाट उपलब्ध गराइएको थियो ।

शिविरबाट एक हजार १८९ जनाले स्वास्थ्य परीक्षण गराएका छन् । स्वास्थ्य परीक्षणपछि निःशुल्क रुपमा औषधि वितरण र शिविरबाट १५ जना बिरामीलाई थप उपचारका लागि अन्यत्र सिफारिस गरिएको पाँचखपन नगरपालिकाका स्वास्थ्य कार्यक्रम संयोजक घनेन्द्र पौडेलीले जानकारी दिए । रासस

You might also like

Comments are closed.