वैशाख ७, नारायणगढ–मुग्लिन सडकखण्डको स्तरोन्नति भएर सहज बन्दै जाँदा दुर्घटना पनि बढेर गएका छन् । विगतका केही वर्ष यात्रुले हैरानी व्यहोर्दै आएको सो सडकको नारायणगढबाट १६ किलोमिटरसम्म ११ मिटर चौँडा र त्यस उता मुग्लिनसम्म नौ मिटर चौँडा सडक बनेको छ ।
खाल्डाखुल्डी हुँदा सवारीको गति कम हुने भए पनि अहिले तीव्रगतिमा सवारी गुडेपछि दुर्घटना बढ्दै गएका हुन् । नारायणगढ मुग्लिन सडकखण्डमा यस आर्थिक वर्षको साउन महिनामा एक सवारी दुर्घटना हुँदा एकजनाको ज्यान गएको थियो ।
भदौ महिनामा दुर्घटना भएको थिएन भने असोजमा एक दुर्घटनामा एकको मृत्यु भएको थियो । कात्तिक महिनामा ६ दुर्घटना हुँदा एकको मृत्यु र एकजना घाइते भएका थिए । मंसिरमा दुई दुर्घटनामा परी एकको मृत्यु र एकजना घाइते भएका थिए । पुसमा दुई दुर्घटनामा एकको मृत्यु र एक घाइते भएका थिए ।
पछिल्लो समय सडक सहज बनेसँगै दुर्घटनाको संख्या र मृत्यु हुनेको संख्या बढ्दै गएको छ । माघ महिनामा सो सडक खण्डमा चार वटा दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको थियो भने, एकजना घाइते भएका थिए । फागुन महिनामा ६ वटा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको थियो भने ३० जना घाइते भएका थिए ।
चैत महिनामा आठवटा दुर्घटनामा परी चार जनाको मृत्यु भएको थियो भने छ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सन्तोष पन्तकाअनुसार जब सडकयात्रा सहज हुँदै गयो तब दुर्घटना बढेको देखिन्छ ।
सो सडक खण्डमा कालोपत्रे गर्ने काम माघ महिनाबाट तीव्र गतिमा अगाडि बढेको थियो । त्यही महिनाबाट सवारी दुर्घटनाको संख्या बढ्दै गएको छ । सडक निर्माणको क्रममा सडकमा संकेत कम भएको र सवारी चालकले तीव्र गतिमा सवारी चलाएका कारण दुर्घटना बढेको ट्राफिक प्रमुख पन्तले बताए ।
बाटो सहज बन्दै जाँदा दुर्घटना बढेको देखिन्छ, नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालले भने, “बाटो सहज छ भन्दैमा हतारमा सवारी चलाइदिने गर्नाले दुर्घटना बढेको हो ।”
पछिल्ला दुई महिनामा सडक दुर्घटना बढेपछि आयोजनाले जिल्ला ट्राफिक प्रहरी कार्यालयसँग समन्वय गरेर सचेतनाको कार्यक्रम सञ्चालन गर्न लागेको खनालले जानकारी दिए ।
“पहिला सडकमा खाल्डाखुल्डी हुँदा कम दुर्घटना भएको थियो, अहिले ३३ दशमलव २ किलोमिटरमध्ये ३० किलोमिटर कालोपत्रे भएकाले सडकमा सवारी चालकले अनियन्त्रित रुपमा सवारी चलाई दिँदा दुर्घटना बढेको पाईन्छ,” खनालले भने । सडक बने पनि पुल नबन्दा सवारी जाम हुने र दुर्घटना बढ्ने समस्या उस्तै देखिएको छ । रासस
Comments are closed.