वैशाख ७, नायिका करिश्मा मानन्धर कक्षा ९ उत्तिर्ण भएर १० मा पुगेकी छिन् । मैतिदेवीस्थित त्रिवेणी स्कुल करिश्माले आफूले सोचेभन्दा राम्रो रिजल्ट आएको बताइन् ।
‘पास हुन्छु भन्नेमा त शंका थिएन, तर माक्र्स कस्तो आउँछ भन्ने खुल्दुली थियो, जे होस सोचेभन्दा राम्रो आएको छ,’ उनले भनिन् । उनले आफ्नो डिभिजन भने खुलाउन चाहिनन् । भन्छिन्-‘मार्कसिट त हेरेकै छैन’, करिश्माले भनिन्, ‘खै राम्रै मार्कस् आयो होला ।’
समग्रमा कक्षा ९ को पढाई रमाइलोसँग सकिएको करिश्मा बताउँछिन् । ‘मेरो लागि धेरै च्यालेञ्जिङ थियो, जे होस एक कक्षा माथि उक्लेकोमा खुशी छु,’ उनले भनिन्, ‘अब अर्को वर्ष एसईई दिनुछ, त्यसैले झनै मिहिनेत गरेर पढ्नेछु ।’
उनले १० कक्षामा एक्स्ट्रा क्लास लिने बिचार गरेकी छिन् । करिश्मा १४ वर्षको उमेरमा ८ कक्षा पढ्दापढ्दै पढाई छाडेर अभिनयमा होमिएकी थिइन् । त्यतिबेला टुटेको पढाईलाई ३० वर्षपछि जोड्दै उनी ४४ वर्षको उमेरमा विद्यालय भर्ना भइन् । र, मन लगाएर पढिन् ।
फिल्म र राजनीतिमा समेत संलग्न उनले पछिल्लो समय पढाईलाई पहिलो प्राथमिकता दिएकी छिन् । सकभर नियमित स्कुल जाने उनी आफूले नजानेको कुरा छोरीभन्दा कम उमेरका बालबालिकासँग सोध्न लजाउँदिनन् ।
‘नजानेको कुरा प्राय कक्षाको प्रथम व्वाईसँग सिक्छु,’ उनी भन्छिन् । करिश्मा अनौपचारिक पोशाक लगाएर स्कुल जान्छिन् । अरु विद्यार्थीले उनलाई ‘करिश्मा म्याम’ भनेर बोलाउँछन् । करिश्माले गत वर्ष आठ कक्षाको जिल्लास्तरीय परिक्षा उत्तिर्ण गरेकी थिइन् ।
उनको सेन्टर ग्यालेक्सी स्कुलमा थियो । परिक्षाको पहिलो दिन त्रिवेणी स्कुलका प्रिन्सीपल आफैं ग्यालेक्सी स्कुलसम्म उनलाई पुर्याउन गएको करिश्माले बताइन् । आफ्नो स्कुलमा राम्ररी घुलमिल भइसकेकी करिश्मालाई ग्यालेक्सीमा परिक्षा दिन जाँदा भने सकस भएको थियो ।
Comments are closed.