काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणअघि नै चिनियाँ राष्ट्रपति सि जिङ पिङसँग भेटवार्ता गर्ने भएका छन् । चिनियाँ विदेश मन्त्रालयका अनुसार सि र मोदीबीच २७–२८ अप्रिलमा बुहान सिटीमा अनौपचारिक भेट हुने भएको छ । संघाई कर्पोरेसन अर्गनाइजेसनको बैठकमा सहभागी हुन चीन पुगेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजले आइतबार मोदी र सिबीच हुने भेटवार्ताको विषयमा खुलासा गरिन् । मोदीको नेपाल भ्रमणको तयारी आगामी महिनाका लागि भइरहेको छ ।
चिनियाँ विदेशमन्त्री वाङ यिसँगको दुई पक्षीय वार्तापछि भएको संयुक्त प्रेस वक्तव्यमा स्वराजले मोदी–सिको अनौपचारिक बैठकको मिति सार्वजनिक गरेकी हुन् । सो भेटमा दुई देशको सम्बन्ध विस्तार र आपसी हितका क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्दामा चर्चा हुने बताइएको छ ।
सो बैठकमा बदलिँदो परिस्थितिमा भारत र चीनको सम्बन्ध र विश्व शान्ति स्थापनाका लागि आआफ्नो दायित्व पूरा गर्ने विषयमा छलफल हुने बताइएको छ । स्वराजले नाथुला हुँदै कैलाश मानसरोवर यात्रा गर्ने विषयमा चीनसँग सहमति भएको बताइन् । ‘विदेशमन्त्री वाङ यिसँगको भेटमा हाम्रा उच्च नेतृत्वबीच अनौपचारिक बैठकको तयारीको विषयमा छलफल भयो ।
यो समिट दुई पक्षीय र अन्तर्राष्ट्रिय विषयमा धारणा आदानप्रदान गर्ने महवपूर्ण अवसरका रूपमा रहनेछ,’ स्वराजले भनिन् । मोदी सत्तामा आएपछिको चौथो पटक चीन भ्रमण गर्न लागेका हुन् । उनी सन् २०१४ मा प्रधानमन्त्री भएका थिए ।सांघाई कर्पोरेसन अर्गनाइजेसन समिट ९ र १० जुनमा हुनेछ ।
वाङले भारतलाई संघाई सहयोग संगठनको सदस्य बनेकोमा बधाई दिए । समिटका क्रममा सन् २०१८ मा चीनले सतलज र ब्रह्मपुत्र नदीको डाटा भारतलाई उपलब्ध गराउने स्वराजले बताइन् । भारत र चीनबीच आतंकवाद, क्लाइमेन्ट चेन्ज र ग्लोबल हेल्थे केयर जस्ता महत्वपूर्ण मुद्दामा वार्ता हुने र केही महत्वपूर्ण विषयमा सम्झौता हुने बताइएको छ ।
अघिल्लो वर्ष दोक्लाम विवादका कारण दुई देशबीच तनाव सिर्जना भएको थियो । सम्बन्ध सुर्धान विभिन्न स्तरमा वार्ताका प्रयास भएका थिए । सुष्मा र वाङ यिको भेटवार्ताअघि मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र चीनका सीपीसीका शीर्ष अधिकारी याङ जि सीबीच संघाईमा भेटवार्ता भएको राजधानी दैनिकले लेखेको छ ।
Comments are closed.