Nepal's First Video FM

विस्थापित नुवाकोटका ६५ परिवारलाई घर बनाउन जग्गा

438

माघ २०, भूकम्पसँगै गएको सुक्खा पहिराले विस्थापित परिवारलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जग्गा उपलब्ध गराएर पुनःस्थापनाका लागि एकीकृत बस्ती निर्माणको काम शुरु गरेको छ ।

भौगर्भिक तथ्यांकअनुसार विभिन्न बस्तीबाट विस्थापितमध्ये दुई स्थानका ६५ परिवारलाई प्राधिकरणले जग्गा खरिद गरी एकीकृत बस्तीको निर्माण प्रक्रिया अघि बढाएको छ ।

तादी गाउँपालिका–१ उर्लेनीबाट विस्थापित ७२ परिवारमध्ये ५१ र सूर्यगढी गाउँपालिका–१ लच्याङका १४ परिवारका लागि सुरक्षित स्थानमा जग्गा खरिद गरी हस्तान्तरण गरिएको छ ।

उर्लेनीबाट विस्थापितलाई तादी–३ खरानीटारमा जग्गा गरिद गरी एकीकृत बस्ती निर्माण शुरु गरिएको प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालयका निमित्त प्रमुख वेदप्रसाद गौडेलले जानकारी दिए । उनका अनुसार लच्याङबाट विस्थापितलाई सूर्यगढी–४ हल्देकालिकामा जग्गा खरिद गरी तिनका नाममा जग्गाधनी प्रमाणपत्र पुर्जा (लालपुर्जा) प्रदान गरिएको छ ।

वितरण गरिएको प्रमाणपत्र संयुक्त (श्रीमान्–श्रीमती दुवैका नाममा) छ । ‘खरानीटारमा पुनःस्थापना गरिएको परिवारका लागि एकीकृत बस्ती निर्माणका लागि अक्सफामसँग सम्झौता गरी जग्गा सम्याउने काम अघि बढाउन लगाएका छौं’, गौडेलले भने, ‘हल्देकालिकामा पुनःस्थापना गर्न लागिएका परिवारलाई प्राधिकरण आफैँले सहयोग पुर्याउने निर्णय भएको छ ।’

‘राष्ट्रिय पुनर्निर्माण कार्यविधि २०७२’ मा १० भन्दा बढी लाभग्राही घर परिवारले एकै स्थानमा आवास निर्माण गर्न चाहेमा प्रतिपरिवार रु चार लाखसम्म लगानी गरिने प्रावधान छ । एकीकृत बस्तीका लागि सडक, विद्युत्, खानेपानी, विद्यालय, खेल मैदानलगायत पूर्वाधार विकास सरकारी पहलमा हुने व्यवस्था छ । पुनर्निर्माण प्राधिकरणको तथ्यांकअनुसार भूकम्प र त्यसपछिको पहिराले बस्ती जोखिममा पुर्याएकाले जिल्लाका उर्लेनी, घ्याङ्फेदी, लच्याङ, महाकाली, किम्ताङ र साल्मेका ३२१ परिवार पुनःस्थापना गर्नुपर्ने देखिएको छ ।

साभार रासस

You might also like

Comments are closed.