वैशाख १२, तीन वर्षअघि वैशाख १२ गते गएको भूकम्पबाट नेपालले हजारौं मानवीय र अर्बौंको धनसम्पत्ति गुमाउन पुग्यो । भूकम्पबाट करिब ९ हजारको मृत्यु भएको थियो भने हजारौं मानिस घाइते हुन पुगे । बेपत्ता हुने सयौं मानिस अझै भेटिएका छैनन् ।
भूकम्पपछि धेरै ठाउँबाट केही मानिसको भत्केका संरचना र पुरिएको भग्नावशेषबाट उद्धार गरिएको थियो । सोही क्रममा २२ घन्टापछि भग्नावशेषबाट उद्धार गरिएका भक्तपुरका सोनिस अवाल चर्चित रहे ।
भक्तपुर मूलढोका छेउमा रहेको श्याम अवालको घर भत्कँदा उनका छोराछोरी घरकै भग्नावशेषमा पुरिएका थिए । अरुको दुई घन्टामा उद्धार भयो, तर सोनिसको २२ घन्टापछि जीवितै उद्धार भएको थियो । भूकम्प जाँदा उनी ६ महिनाका थिए । अहिले उनी साढे तीन वर्षका छन् । अहिले स्कुल जाने भएका छन् ।
सोनिसलाई नेपाली सेनाका जवानले उद्धार गरेका थिए भने सो तस्बिर नयाँ पत्रिकाका फोटो जर्नालिस्ट अमुल थापाले क्यामेरामा कैद गरेपछि विश्वप्रसिद्ध भएको थियो । बुधबार बिहानै फोटो जर्नालिस्ट थापा सोनिसको घर पुगेर उनीसँगै तस्बिर खिचाएका छन् ।
साभार मिडिया एनपी
Comments are closed.