Nepal's First Video FM

चारदेशीय सीधा बस सञ्चालन, ढाकाबाट छुटेका २ यात्रुबाहक बस नेपाल प्रवेश

544

वैशाख १२, नेपाल, भारत, बंगलादेश र भुटानबीच चारदेशीय सीधा बस यातायात सेवा सञ्चालनका लागि बंगलादेशको राजधानी ढाकाबाट छुटेका दुई यात्रुबाहक बस बुधबार नेपाल प्रवेश गरेको छ ।

बंगलादेशको श्यामोली परिवहनका दुईवटा बस बुधबार मध्यान्ह काँकरभिट्टा नाकाबाट नेपाल प्रवेश गरेका हुन् । ढाकाबाट वैशाख १० गते छुटेका ती बस बुधबार बिहान बंगलाबन्ध–फूलवारी मार्ग हुँदै भारतको सिलगढी आइपुगेका थिए ।

सिलगढीबाट भारतको पानीट्यांकी सीमा हुँदै बस नेपाल प्रवेश गरेका हुन् । मेचीनगरका नगरप्रमुख विमल आचार्य, मेची भन्सार कार्यालयका प्रमुख टेकबहादुर अर्याल, नेपाल बंगलादेश च्याम्बर अफ कमर्सका अध्यक्ष पन्नालाल जैन लगायतले मेची पुलमै पुगेर बसमा आएका बंगलादेश र भारतका उच्च अधिकारीलाई स्वागत गरेको छ ।

चार देशबीच सीधा यातायात सेवा सञ्चालन गर्ने सम्बन्धी ती देशबीच हालै सम्झौता भएपछि पहिलोपल्ट यसरी ढाकाबाट यात्रु बोकेर परीक्षण सेवाका लागि बस आएका हुन् ।

बसमा बंगलादेश रोड ट्रान्सपोर्ट कर्पोरेसनका अध्यक्ष फरिद अहमद भूइयनको नेतृत्वमा ८० जनाको टोली रहेको छ । टोलीमा नेपाली सदस्यको नेतृत्व भौतिक योजना तथा यातायात मन्त्रालयका वरिष्ठ डिभिजनल इञ्जिनियर गोविन्दप्रसाद खरेलले गरेको छ ।

यसैगरी भारतीय टोलीको नेतृत्व भारतीय यातायात मन्त्रालयका उच्च अधिकारी अमित मञ्जलले गरेको छ । ढाकाबाट बस चढेर आउनुभएका सम्पूर्ण पाहुनालाई काँकडभिट्टास्थित मेची भन्सार कार्यालयको हलमा स्वागत गरिएको थियो ।

काँकडभिट्टामा केहीबेर अध्यागमन सम्बन्धी प्रक्रिया पूरा गरी टोली ती बससँगै काठमाडौँतर्फ प्रस्थान गरेको छ । बुधबार साँझ चितवनको सौराहामा टोलीले बास बस्ने र त्यहाँ नेपाल सरकारको तर्फबाट विशेष कार्यक्रमको आयोजना गरिने बताइएको छ । रासस

You might also like

Comments are closed.