Nepal's First Video FM

अमेरिकामा बिक्री भयो नेपाली चलचित्र ‘रङ्गेली’ – भिआइपी रेड कार्पेट प्रिमियर हुने

24

काठमाडौँ,  धमाधम छायाङ्कन भैरहेको रहेको नेपाली चलचित्र ‘रङ्गेली’को संयुक्त राज्य अमेरिकाको वितरण अधिकार बिक्री भएको छ । अमेरिकाको लागि यो चलचित्रको वितरण अधिकार ‘एक्का बास्सा इन्टरटेन्मेन्ट एन्ड लाइभ एट प्रिजेन्ट’ले खरिद गरेको हो ।

वितरण अधिकार बिक्री सँगै क्यालिफोर्नियाको सान फ्रान्सिस्को र टेक्ससको ड्यालसमा भिआइपी रेड कार्पेट प्रिमियर पनि हुने भएको निर्देशक अर्जुन सुवेदीले बताए । ती प्रिमियरमा चलचित्रका प्रमुख कलाकारहरूको उपस्थिति रहने सुवेदीले बताए ।

यसअघि नै यस चलचित्रको जापान, कोरिया र हङकङको लागि वितरण अधिकार उज्ज्वल गुरागाईँ र यूएनए इन्टरटेन्मेन्टले खरिद गरिसकेको छ । साथै, अस्ट्रेलियामा पनि ‘रङ्गेली’ बिक्री भइसकेको छ । अस्ट्रेलियाको मेलबर्नमा माघको अन्तिम हप्ता ‘ग्रान्ड प्रिमियर’को समेत तयारी भएको छ ।

महाशिवरात्रिको दिन फागुन २५ गते  यो चलचित्र नेपालसँगै नेपालीहरूको बसोबास रहेका विश्वका विभिन्न मुलुकहरूमा एकसाथ रिलिज हुने पक्का भइसकेको छ ।

अर्जुन सुवेदीको लेखन तथा निर्देशन रहेको ‘रङ्गेली’मा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी लगायतको प्रमुख भूमिका रहेको छ ।

You might also like

Comments are closed.