Nepal's First Video FM

राजधानीमै बैंकको भरपर्दो सेवा नहदा सेवाग्राही समस्यामा

553

बैशाख १४, वीरेन्द्रनगर २ का कमल खड्का चेक साट्न बुधबार बिहान साढे ९ बजे राष्ट्रिय वाणिज्य बैंक सुर्खेत शाखा पुगे । त्यहाँ उनीजस्तै सेवाग्राहीको लाइन बढ्न थालिसकेको थियो । कमल मंगलबार पनि बैंक पुगेका थिए । राष्ट्रिय वाणिज्य बैंकको सुर्खेत शाखा कार्यालयमा बुधबार बिहान लागेको सेवाग्राहीको लाइन ।

लामो लाइन र चेक साट्ने समय सकिन थालेपछि उनी त्यत्तिकै फर्किए । ‘जसरी पनि चेक साट्नैपर्ने भएकाले बैंक खोल्नुअघि नै हतार–हतार आएँ,’ उनले भने, ‘यहाँ आइपुग्दा त २०–२५ जना सेवाग्राही लाइन लागिसकेका रहेछन्, धन्न समयमा नआएको भए बुधबार पनि चेक साट्न नपाइने रहेछ ।’ जुम्लारोडस्थित राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालय चेक साट्न दैलेख आठबीस नगरपालिका डाबका चन्द्रबहादुर शाही पनि पुगेका थिए । लाइनको पुछारमा रहेका उनी भन्दै थिए, ‘१० नबज्दै त यस्तो चाप छ अलि ढिला आएको भए त बर्बादै हुने रहेछ ।’ उनी ११ बजेतिर आफ्नो पालो आउन सक्ने अनुमान सुनाउँदै थिए ।

वाणिज्य बैंकमा एक/दुई घण्टा लाइन लाग्नु त स्वभाविक भएको सेवाग्राहीको अनुभव छ । कार्यालय समयअगावै आएर लाइन नलाग्ने हो भने कामै बन्दैन । थोरै ढिला गर्नेहरू खाली हात फर्कनुपर्ने बाध्यता छ । ‘दुई बजेअघि आएर लामो लाइन लागेपनि गेट बन्द भइहाल्छ, भीडभाड छिचोलेर लाइन लाग्यो अन्तमा पैसा झिक्नै सकिन्न,’ अर्का एक सेवाग्राहीले भने ।

सटही काउन्टरमात्र होइन, वाणिज्य बैंकको एटीएमबाट रकम झिक्नसमेत सेवाग्राहीले उस्तै सास्ती भोग्नुपरेको छ । वीरेन्द्रनगरमा वाणिज्य बैंक, कृषि विकास बैंक, नेपाल बैंक लिमिटेडका अतिरिक्त दर्जन बढी निजी बैंकहरू छन् । बैंकिङ कारोबार गर्ने दर्जनौं सहकारी, लघुवित्त संस्थाहरू छन् । तैपनि, वाणिज्य बैंकमा सेवाग्राहीको चाप घटेको छैन । वाणिज्यमा सरकारी, संस्थागतसंगै व्यक्तिगत कारोबार पनि उत्तिकै हुने गरेको छ । संघीय संरचना निर्माण भएसंगै स्थानीय तहमा निजी बैंकहरू स्थापना हुने क्रममा छन् । जिल्लाका ९ वटै तहमध्ये अधिकांशमा बैंक सञ्चालनमा छन् ।

प्रदेश उद्योग वाणिज्य महासंघका अध्यक्ष पदमबहादुर शाहीले वीरेन्द्रनगरमा प्रादेशिक संरचना निर्माण, बढ्दो जनघनत्वलाई मध्यनजर गरी तत्काल वाणिज्य बैंकले शाखा विस्तार गर्नुपर्ने बताए । ‘वीरेन्द्रनगर प्रदेशकै राजधानी हो, यहाँ सेवाग्राहीको चाप थेगिनसक्नु छ’ उनले भने, ‘सेवाग्राहीलाई सास्ती नभई सुविधा दिलाउनतर्फ बैंकको ध्यान पुग्नुपर्छ ।’ निजी क्षेत्रले वीरेन्द्रनगरमा वाणिज्य बैंकको शाखा विस्तार गर्न थुपै्रपटक आग्रह गरेको बताए ।

वाणिज्य बैंकमा संस्थागत/व्यक्तिगत गरी ५० हजार बढी ग्राहक छन् । राष्ट्रिय वाणिज्य बैंकका शाखा प्रबन्धक होतराम योगीले कर्मचारी जनशक्ति न्यून र ग्राहकको चाप बढी हुँदा दैनिक कार्य सञ्चालनमा असर परेको बताए । ‘केन्द्रलाई वीरेन्द्रनगरमा शाखा चाहियो भनेको भन्यै छौं, हाम्रो माग सुनुवाइ नै हुँदैन,’ प्रबन्धक योगीले भने, ‘अब प्रदेश सरकार बनेको छ, सरकारले पहल गर्छ की ?’ उनले प्रदेश सरकार, उद्योगी/व्यवसायीले आग्रह गरे राजधानीमा थप शाखा विस्तार हुन सक्ने बताए ।

कान्तिपुर बाट

You might also like

Comments are closed.