Nepal's First Video FM

झोले क्याम्पस खारेज गर्दै त्रिवि

613

बैशाख १४, त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले सम्बन्धन लिएका तर सञ्चालनमा नरहेका ‘झोले’ क्याम्पस खारेज गर्ने भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रमार्फत् आएका उजुरीमाथि त्रिविले कारबाही प्रक्रिया अघि बढाएको हो ।

त्रिवि अनुगमन निर्देशनालयले अनुगमन तथा नियमन प्रक्रिया थालेको कार्यकारी निर्देशक विष्णुप्रसाद खनालले बताए । अनुगमन गर्दा त्रिविको रेकर्डमा क्याम्पसको नाम, सञ्चालन गर्ने ठाउँ र सञ्चालक फेला नपरेका तथा कतिपय किनबेच भइरहेको फेला परेपछि खारेज प्रक्रिया अघि बढाइएको त्रिवि पदाधिकारीले जनाएका छन् ।

कतिपय क्याम्पसले त्रिविबाट सम्बन्धन तथा सञ्चालन अनुमति लिएका विषय तथा कार्यक्रम नपढाई रद्द गराएका विषय पढाइरहेका समेत भेटिएको छ ।त्यसैगरी सम्बन्धन मात्र लिएका केही क्याम्पसको भने कार्यालय, साइनबोर्ड र सञ्चालकसमेत फेला परेका छैनन् ।

त्रिविको सम्बन्धनप्राप्त २ सय ८७ क्याम्पसमध्ये १ सय २० वटाको अनुगमन प्रतिवेदन प्राप्त भएको छ । बाँकी रिपोर्ट आएलगत्तै कारबाही अघि बढ्ने खनालले जनाएका छन् । त्रिविको तथ्यांकमा देशभर ६० आंगिक र सम्बन्धनसहित १ हजार ८५ क्याम्पस छन् । तर, परीक्षा नियन्त्रण कार्यालयको रेकर्डमा १ हजार १ सय ८५ क्याम्पसले हरेक वर्ष परीक्षा दिलाउने गरेको देखिन्छ । त्रिवि पदाधिकारी भने यो तथ्यांक स्विकार्न तयार छैनन् ।

उच्च माध्यमिक शिक्षा परिषद्अन्तर्गत कक्षा ११ र १२ को पठनपाठन सुरु भइसक्दा पनि त्रिविले २०६५ सालसम्म प्रवीणता प्रमाणपत्र तह सुचारु राखेको थियो । त्रिविबाट सम्बन्धनप्राप्त सामुदायिक र निजी क्याम्पसले प्रमाणपत्र तह सञ्चालन अनुमति लिएका थिए भने उच्चमाविसमेत एकै ठाउँ सञ्चालन गरेका थिए । शिक्षा ऐन आठौं संशोधनले कक्षा १२ सम्म विद्यालय तह कायम गरे पनि निजी क्याम्पसले एउटै संरचनामा ‘प्लस टु’ सुचारु राखेको अनुगमन निर्देशनालयले फेला पारेको छ ।

‘त्रिविबाट सम्बन्धन लिएका क्याम्पस अस्तित्वमा छन्रछैनन्, सञ्चालन अनुमति लिएकै ठाउँमा छन्रछैनन्, नवीकरण भएका छन्रछैनन् भनेर अनुगमन भइरहेको छ,’ निर्देशनालयका कार्यकारी निर्देशक खनालले भने, ‘सम्बन्धन लिएर ठाउँ सारेका, सेवा शुल्क नबुझाएका, सुचारु नरहेका झोले क्याम्पस अबदेखि रहनेछैनन् ।’ त्यस्ता निजी कलेज स्थलगत अनुमगमन क्रममा रहेकाले ती कलेजको नाम सार्वजनिक गर्न नमिल्ने उनले जनाए ।

कान्तिपुर दैनिकबाट

You might also like

Comments are closed.